जनता टाइम्स

२७ जेष्ठ २०७८, बिहीबार १६:०४

खगराजलाई पाँचौं बरियतासहित गृहको जिम्मेवारी



काठमाडौं, जेठ २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले चर्चित नेता खगराज अधिकारीलाई पाँचौं बरियतासहित गृहजस्तो हाइ प्रोफाइल मन्त्रालयको जिम्मेवारी दिनुभएको छ । प्रधानमन्त्री ओलीले आज मन्त्रिपरिषद बिस्तार गर्दै आफ्ना सदाबहार सहयोगी खगराजलाई गृहमन्त्री नियुक्त गर्नुभएको हो ।

एमालेको राजनीतिमा पुरानो अनुहार अधिकारी काममा अब्बल मानिनु हुन्छ । खरो स्वभावका अधिकारीले यसअघि स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हालीसक्नु भएको छ । २०७१ सालमा सुशील कोइरालाको मन्त्रिपरिषदमा उहाँ स्वास्थ्यमन्त्री हुनुहुन्थ्यो । २०५१ सालमै एमालेको संसदीय दलको सचेतक बन्नुभएका अधिकारी २०७४ मा केही समय प्रमुख सचेतकको भूमिकामा रहनुभयो ।

एमालेका केन्द्रीय सदस्य अधिकारी यसअघि एमालेको वैकल्पिक पोलिटव्यूरोसम्म पुग्नुभएको थियो । २०३६ सालको विद्यार्थी आन्दोलनका एक अगुवा अधिकारी अनेरास्ववियूको उपाध्यक्षसम्म हुनुभएको छ । उहाँ पृथ्वीनारायण क्याम्पस पोखराको दुई पटक स्वतन्त्र विद्यार्थी युनियनको सभापति निर्वाचित हुनुभएको थियो । पञ्चायत शासन ढलेपछि खगराज पार्टीको राजनीतिमा कास्की जिल्लाको नेतृत्व गर्नुभयो । २०४८ सालमै संसदीय चुनाव लडनुभएका अधिकारी कांग्रेसका नेता तारानाथ रानाभाटसँग पराजित हुनुभएको थियो ।

२०५१ सालमा भने उहाँले कांग्रेसका तात्कालीन महामन्त्रीसमेत रहनुभएका रानाभाटलाई नै पराजित गरेर संसदमा आउनु भएको थियो । २०५६ र २०६४ सालको चुनावमा पराजीत हुनुभएका अधिकारी २०७४ सालमा पुनः निर्वाचित हुनुभयो । नेकपा एकीकरण हुनुपूर्व उहाँ एमालेको प्रमुख सचेतक हुनुहुन्थ्यो । काममा अब्बल रहेकै कारण प्रधानमन्त्री ओलीले अधिकारीलाई गृह जस्तो महत्वपुर्ण मन्त्रालयको जिम्मा दिनुभएको हो ।