जनता टाइम्स

२७ असार २०७६, शुक्रबार १६:२६

देशभर बाढी पहिरोको बितण्डा : उपत्यकाकै दर्जनौं स्थान डुवानमा


काठमाडौं, असार २७

केही दिनदेखि लगातार आएको बर्षाका कारण देशभर बाढी पहिरोको समस्या आएको छ । सप्तकोशी नदीमा पानीको बहाव सवैभन्दा बढी भएको छ भने उपत्यकाका बागमति र हनुमन्ते नदी आसपासका क्षेत्र डुवान र बाढीको खतरामा परेका छन । कलंकीको खसी बजार, टेकु पुलमुनीको क्षेत्र र भक्तपुरको चार दोवाटो डुवानमा परेका हुन ।

लगातारको अबिरल बर्षासँगै उपत्यकाको खोलाहरुमा पानीको सतह बढदा अधिकांश स्थान डुवानमा परेका छन । सार्वजनिक जग्गा अतिक्रमण गरी खोलाको जग्गा हडप्ने लामो समयदेखिको चलखेल र करिडोर निर्माणमा अवरोध गर्दा भक्तपुरको हनुमन्ते खोलाले फेरि बितण्डा मच्चाउने देखिएको छ । हनुमन्तेको बितण्डा रोक्न पूर्वमन्त्री तथा सांसद महेश बस्नेतले अघि बढाउनु भएको हनुमन्ते करिडोरको दायाँबायाँ रिटेनिङ्ग वाल निर्माण कार्यमा अवरोध गर्दा अहिले भक्तपुरको चार दोवाटो आसपासका क्षेत्र डुवानमा परेको छ ।

अघिल्लो बर्ष राधेराधे, नयाँ ठीमीलगायत जुनजुन ठाउँमा डुवान भएको थियो, हाल हनुमन्ते करिडोरको दायाँबायाँ रिटेनिङ्ग वाल निर्माण भएका त्यस ठाउँहरुमा खोला छिरेको छैन । ठिमीको चारदोवाटो जहाँ विवाद निकालेर हनुमन्ते करिडोरको काम रोकिएको थियो । त्यस ठाउँमा अहिले पुरै डुबान भएको छ । हनुमन्ते खोलामा बाढी आएपछि भक्तपुरको चारदोवाटोस्थित तरकारी तथा फलफूल बजारसमेत डुवानमा परेको छ । डुवानबाट लाखौं मुल्यको तरकारी क्षती पुगेको बताइएको छ ।

जनकपुर जलमग्न

धनुषा । अविरल वर्षाका जनकपुरधाम उपमहानगरपालिकाका अधिकांश क्षेत्र जलमग्न भएका छन् । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण उपमहानगरपालिकाका विभिन्न बस्ती डुबानमा परेका हुन् ।

जनकपुरका प्रायःजसो सडक र सरकारी कार्यालयमा पानी जमेको छ भने गहिरो स्थानको घरभित्र पानी पसेको छ । जनकपुरको ऐतिहासिक बाह्रबिघा मैदान, जनकपुर विमानस्थल, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जनकपुर अञ्चल अस्पताल, जिल्ला प्रहरी कार्यालय धनुषा, जिल्ला हुलाक कार्यालय, प्रदेश २ स्वास्थ्य निर्देशनालय, उद्योग वाणिज्य सङ्घ, भानु चोक, मिल्स एरिया, मुरली चोकदेखि विश्वकर्मा चोक, कदम चोक, सरकारी कार्यालय क्षेत्रका सडक र परिसर जलमग्न भएको छ ।

यद्यपि अविरल वर्षाले कुनै अप्रिय घटना अहिलेसम्म नभएको र वर्षाले भएको क्षतिको तथ्याङ्क सङ्कलन काम भइरहेको धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो । एशियाली विकास बैंकको एकीकृत शहरी विकास परियोजनाद्वारा नगरमा भइरहेको सडक स्तरोन्नति कार्यक्रममा ढल व्यवस्थापन राम्रोसँग नगरेका कारण पानीको निकास हुन नसकेर नगरका अधिकांश क्षेत्र जलमग्न भएका हुन् । बस्तीहरू समेत डुबानमा परेर स्थानीयवासी मर्कामा छन् ।

विगतमा नगरको पानीको निकास जलाद र दूधमती नदीमा हुने गरेकामा हाल आएर नाला सफा नगरेका कारण सो समस्या उत्पन्न भएको बताइन्छ । वर्षाले अधिकांश सरकारी कार्यालय पनि डुबानमा परेका छन् । धनुषा र सिरहा जिल्ला जोड्ने कमला नदीमा निरन्तर रुपमा पानीको सतह बढ्दै गएपछि सर्वसाधारणलाई सचेत गराइएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीप कनेलका अनुसार धनुषा र सिरहा जिल्लाको सीमाका रुपमा रहेको कमला नदीमा अविरल वर्षाका कारण जलस्तर बढ्दै गएकाले कमला छेउछाउका सर्वसाधारणहरुलाई सचेत गराउँदै सतर्क रहन आग्रह गरिएको छ ।

निरन्तर वर्षाका कारण जलस्तर बढ्दै गएकाले हुन सक्ने सम्भावित घटनाको न्यूनीकरणका लागि कमला छेउछाउका ग्रामीण भेगमा सुरक्षाकर्मीलाई सचेत गराई तयारी अवस्थामा राखिएको धनुषाका प्रजिअ कनेलले जानकारी दिनुभयो ।समग्र जिल्लाको अवस्था अहिलेसम्म सामान्य रहेको छ तर जनकपुरको नालामा पानीको बहाव रोकिएकाले ठाउँठाउँमा पानी जमेको बताउँदै प्रजिअ कनेलले कर्मचारी र प्रहरीको सहयोगमा त्यसलाई निराकरण गर्ने प्रयास भइरहेको जानकारी दिनुभयो । (तस्वीर उपलब्ध छ ।)

सतर्कता अपनाउन स्थानीय प्रशासनद्वारा अपिल

नेपालगञ्ज । निरन्तरको वर्षाका कारण बाँकेको राप्ती नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले अपिल गरेको छ । नदी किनारका बस्तीमा उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले सूचना जारी गरेको प्रजिअ मदन भुजेलले बताउनुभयो । बाँकेमा नदीय तटीय क्षेत्रका झण्डै २४ हजार बासिन्दा प्रत्येक वर्ष बाढीको जोखिममा पर्ने गरेका छन् । बाँकेको नेपाल –भारत सीमा क्षेत्र नजीक भारतले अन्तर्राष्ट्रिय नियम विपरीत लक्ष्मणपुर बाँध र तटबन्ध बनाएपछि नदी तटीय क्षेत्रका बासिन्दा बाढी र डुबानको जोखिम मोल्न बाध्य भएका हुन् ।

तटबन्ध र बाँधका कारण जिल्लाको होलिया, बेतहनी, फत्तेपुर, टेपरी, घोडियनपुर गाउँका झण्डै पाँच हजार घरधुरीका घरखेत डुबानमा पर्ने गरेको प्रजिअ भुजेलले बताउनुभयो । गत वर्ष बाढी र डुबानमा परी बाँकेमा आठ जनाको मृत्यु भएको थियो भने ठूलो जनधनको क्षति भएको जिल्ला विपद् व्यवस्थापन समितिको तथ्याङ्कमा उल्लेख छ ।

यो वर्ष बाँकेमा बाढी र डुबानको जोखिम कम गर्न तथा तत्काल उद्धार र राहतका लागि जिल्ला विपद् व्यवस्थापन समितिले स्थानीय तहमा विपद् व्यवस्थापन समिति गठन गर्न लगाएको छ । बाढी र डुबानको विपद् आएको समयमा नागरिकको उद्धारका लागि आवश्यक उपकरणको व्यवस्था, नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरीलाई पनि तयारी अवस्थामा राखेको छ । नदीमा जल प्रवाहको स्तर खतराको चिह्नभन्दा माथि आएमा सायरन बजाउने व्यवस्था पनि मिलाएको प्रजिअ भुजेले बताउनुभयो ।

आउँदो २४ घण्टासम्म पनि मनसुनी न्यूनचापीय रेखा नेपालको पूर्वदेखि पश्चिम तराईका क्षेत्रमा रहिरहने मौसमविद्हरुको भनाइ छ । हाल देशभरको मौसम पूर्ण बदली रहेको र पश्चिमका धेरै स्थानमा मनसुनी वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाको भनाइ छ । पश्चिमका केही स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको छ ।

सिस्नेरी सडक अवरुद्ध

हेटौँडा । हिजो रातिदेखि परेको अविरल वर्षाको कारण हेटौँडा कुलेखानी सिस्नेरी दक्षिणकाली हँुदै काठमाडौँ जाने सडक अवरुद्ध भएको छ । इन्द्रसरोवर गाउँपालिकाको वडा नं २ र ३ को विभिन्न ठाउँमा पहिरो गएको छ भने वडा नं ३ को ज्यामिरेमा २०० मिटरसम्म सडक पहिरोले पुरिएको र सो सडकको पहिरो पन्छाउन केही दिन लाग्ने सिस्नेरी प्रहरी चौकीले जानकारी दिएको छ ।

यसैगरी फाखेल फर्पिङ भएर काठमाडौँ जाने सडकखण्डमा इन्द्रसरोवर गाउँपालिका–५ महालक्ष्मी खोलामा आएको पहिरोले सडक अवरुद्ध भएको छ । सो सडक खुलाउने प्रयास भइरहेकोे फाखेल प्रहरी चौकीले जानकारी दिएको छ । त्रिभुवन राजपथको हेटौँडा काठमाडौँ सडक यातायात भने सञ्चालनमा रहेकोे जिल्ला ट्राफिक कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

सिद्धिचरण राजमार्ग दुई दिनदेखि अवरुद्ध

ओखलढुंगा । लगातारको वर्षाका कारण सिद्धिचरण राजमार्ग दुई दिनदेखि अवरुद्ध छ । ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिकामा पर्ने भँडारे खोलामा आएको बाढीका कारण आजदेखि सिद्धिचरण राजमार्गमा सवारी आवागमन ठप्प भएको हो ।

सगरमाथा क्षेत्रको प्रवेशद्वारमा पर्ने भँडारेको भलका कारण सडक अवरुद्ध भएपछि ओखलढुङ्गा, खोटाङ र सोलुखुम्बु भएर राजधानी र तराईका जिल्ला जाने÷आउने यात्रु अलपत्र परेका छन् । ठाडो खोलामा आएको बाढीले सडक अवरुद्ध पारेपछि सयौँ सवारीमा सवार हजारौँ यात्रु अलपत्र परेको सवारी चालक प्रशान्त केसीले बताउनुभयो । “हिजोदेखि बाटैमा बस्नुपरेको छ । होटल पनि भरिभराउ छन् । यात्रुलाई कहाँ के खुवाउने कहाँ राख्ने भन्ने समस्या भइसक्यो”, चालक केसीले भन्नुभयो, “उहाँका अनुसार खोलामा लेदोसहितको भल बढेको छ ।”

भँडारेमा सडक अवरुद्ध भएपछि मितेरी भञ्ज्याङ र टोक्सेलसम्म दुईतर्फ सयौँ सवारी रोकिएका छन् । त्यस्तै उदयपुर र सिन्धुलीको सिमानामा पर्ने बादुरा खोलाको बाढीका कारण काठमाडाँैका लागि छुटेका सवारी घुर्मी र टोक्सेलमै रोकिएका छन् । सवारी र यात्रुको चापका कारण त्यस क्षेत्रका होटलहरुमा खाना खाजासमेत नपाउने अवस्था आएको स्थानीयवासी बालेन्द्र अधिकारीले बताउनुभयो ।

थोरै खर्च बोकेर यात्रामा निस्किएका यात्रु अभावमा गुज्रिएका छन् । “बेलुका घर पुगिएला भनेर पैसा धेरै नबोकी हिँड्यो”, यात्रु सुस्मिता राईले भन्नुभयो, “अब त चाउचाउ खाने पैसा पनि सकियो । साह्रै बिजोग भो यात्रा ।” सडक अवरुद्ध भएपछि ओखलढुङ्गा, खोटाङ र सोलुखुम्बुबाट राजधानीका लागि छुट्ने सवारी शुक्रबार कम मात्रै छुटेका छन् ।

जिल्ला प्रहरी प्रमुख पुष्पराज मल्लको नेतृत्वमा सरोकारवालाहरुको टोली सडक सञ्चालन गराउन त्यसतर्फ लागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । निरन्तरको वर्षाका कारण ओखलढुङ्गाका अन्य कच्ची सडकसमेत अवरुद्ध भएका छन् ।

अवरुद्ध राजमार्ग खुल्यो

अछाम । लगातारको दुई दिनको अविरल वर्षासँगै अवरुद्ध बनेको साफे–मार्तडी राजमार्ग शुक्रबारबाट खुलेको छ । लगातार वर्षा भएपछि बार्जुगाड खोला हँुदै मार्तडीसम्म पुग्ने सडकको ठाउँठाउँमा पहिरो जाँदा सडक अवरुद्ध बनेसँगै यातायातका साधनसमेत आवतजावत गर्न समस्या भएको हो ।

बार्जुगाड हँुदै गुईगाड खोलाको पुल नजिकै, बल्दे, अम्कोट, तिपाडालगायतका ठाउँमा माथिबाट पहिरो आएपछि यातायात सडक अवरुद्ध भएको हो । बिहीबार बिहानैबाट ठाउँठाउँमा पहिरो आएपछि लामो दूरीका बस बाम्का बजारभन्दा माथि आउन सकेका थिएनन् । सडक सञ्चालनमा आए पनि राजमार्ग सडकका विभिन्न ठाउँमा पहिरो जाने क्रम भने रोकिएको छैन, प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानले बताउनुभएको छ ।

अवरुद्ध बनेको राजमार्ग सडक सञ्चालन गर्नका लागि सडक डिभिजन कार्यालय साँफेलाई खबर गरी कार्यालयबाट जेसिजी पठाएपछि अवरुद्ध बनेको सडक सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी न्यौपानेले जानकारी दिनुभएको छ । साँफे–मार्तडी राजमार्ग सडक अछामका जिल्लाका बुढाबगरलगायतका ठाउँमा पनि पहिरो गएकाले पहिरो पन्छ्याउँदै आएपछि सडक खुलेको हो ।

मार्तडी–कोल्टी सडक भने खुलेन

जिल्लाको पूर्वी उत्तरी भेग जोड्ने मार्तडी–कोल्टी सडक एक सातादेखि वर्षात्ले अवरुद्ध भएको छ । लगातारको वर्षका कारण उक्त सडकसहित विभिन्न ग्रामीण सडक अवरुद्ध बनेका छन् । पानी आएपछि माथिबाट पहिरो खस्ने भएकाले मार्तडी–घटमुना सडकसमेत अवरुद्ध बनेको हो । यस्तै ग्रामीण भेगमा काटिएका सडक पनि अवरुद्ध बन्दै गएका छन् ।

मार्तडी–कोल्टी सडक अवरुद्ध हुँदा उत्तरी भेगका स्थानीयले सास्ती भोग्दै आएका छन् । बाटो अप्ठ्यारो भएकाले आवतजावत गर्न निकै कठिन हुने गरेको यात्रुको गुनासो रहेको छ ।

सडक समयमै निर्माण नहुँदा यहाँका स्थानीयले वर्षायाममा पैदलयात्रा गर्न बाध्य हुने गरेका छन् । जथाभावीरुपमा खनिएका सडकले जिल्लामा पहिरोको उच्च जोखिम रहेको जिल्ला दैवी प्रकोप उद्धार समितिले जनाएको छ ।

प्राविधिक रुपमा चेकजाँच नै नगरी काटिएका सडकले पहिरो निम्त्याउने भएपछि जिल्लावासी त्रसित बन्दै गएका छन् । सडक भएपछि लामो तथा छोटो दूरीका सवारीका साधन बन्द भएका छन् ।

खोलाले बगाएर बालक बेपत्ता

पाँचथर । खोला तर्ने क्रममा पाँचथरको मिक्लाजुङ गाउँपालिका–४ स्थित नुँवा खोलाले बगाएर आज बिहान एक विद्यार्थी बेपत्ता भएका छन् । बेपत्ता हुनेमा स्थानीय खेसेङखोपाका होलीचायल्डमा अध्ययनरत आठ वर्षीय जीवन राई छन् ।अहिले प्रहरीचौकी रवि र स्थानीयवासीले उनको खोजी तीव्र पारेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिल पौड्यालले बताउनुभयो ।

वर्षाले सडक अवरुद्ध

चितवन । निरन्तरको वर्षाले खोला बढेपछि माडी–ठोरी हुलाकी सडकखण्ड अवरुद्ध बनेको छ । माडी नगरपालिका–३ र ४ को सिमानामा रहेको मगई खोला र घाङ्गर खोलामा आएको बाढीले सडक अवरुद्ध बनेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार बिहान ८ः३० बजेदेखि बाढी बढेसँगै सडक अवरुद्ध भएको हो । यससँगै माडीका अन्य खोलाहरुमा पनि बाढी आएको छ । जसका कारण आवतजावत गर्न कठिन भएको स्थानीयवासीले बताएका छन् । खोला बढेर आवागमन अवरुद्ध भएसँगै स्थानीय प्रभावित भएका छन् । खोलाहरु बढेपछि पानी खेतमा पस्न थालेको छ । जसले लगाइएको धानबाली प्रभावित बनाउने त्रास माडीवासीमा रहेको छ । निरन्तर वर्षासँगै यहाँका ठूला दुई नदी नारायणी र राप्तीको बहाव समेत बढेको छ ।