जनता टाइम्स

२३ श्रावण २०७६, बिहीबार १७:५२

दुई वर्ष अघिको काठमाडौँ र अहिलेको काठमाडौँलाई तुलना गर्न मेयर शाक्यको चुनौती


काठमाडौं, साउन २३ । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आर्थिक वर्ष २०७६–०७७ को बजेट सर्वसहमतिले पारित गरेको भन्दै अबको ध्यान सम्पदा पुर्ननिर्माणमा केन्द्रित गर्ने बताउनु भएको छ । राजधानीमा आज मातृभूमि महिला समाजले आयोजना गरेको ‘काठमाडौँ महानगरपालिका जनप्रतिनिधिहरु त्था संघीय राज्य व्यवस्था’ नामक पुस्तक विमचोन कार्यक्रममा यस्तो बताउनु भएको हो ।

अहिले वर्षात्का कारण काम गर्न केही समस्या भएको छ,’ उहाँले भन्नुभयो, ‘वर्षा सकिने वित्तिकै कामले गति लिनेछ ।’ उहाँले महानगरवासीको अपेक्षा अनुसार नै कामको गति अघि बढाउने प्रष्ट पार्नुभयो । ‘हामी जनप्रतिनिधि हौँ, त्यसैले हाम्रो ध्यान महानगरवासीको अपेक्षा अनुसार अघि बढ्नुपर्छ । हामी त्यहि अनुसार खटिरहेका छौँ,’ उहाँले भन्नुभयो, ‘म अहिले जति खटिरहेको छ, मेरो वडाध्यक्ष र समेरो सम्पूर्ण टीम पनि महानगरपालिकाको विकास कसरी गर्न सकिन्छ भनेर योजनासहित खटिरहेको छ ।’

उहाँले आफ्नो कार्यकालमा काठमाडौँ महानगरवासीले कल्पना गरेको सहरका रुपमा विकास गर्ने प्रयासमा निरन्तर लाग्ने पनि प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले आफ्नो सम्पूर्ण टीम नै त्यसैमा केन्द्रित भएर लागेको पनि प्रष्ट पार्नुभयो । उहाँले आफू कुनै एक दलको प्रतिनिधि बनेर निर्वाचित भए पनि मेयर बनेपछि सबै जनताको साझा हुने भएकाले निर्वाचनमा विजयी हुन नसकेका उम्मेदवारले समेत व्यक्त गरेका प्रतिवद्धतालाई समेत जनताको बीचमा लिएर जाने प्रतिवद्धता व्यक्त समेत गर्नुभयो ।

‘निर्वाचनका बेलामा हामी सबै पार्टीका उम्मेदवारले आ–आफ्ना प्रतिवद्धता व्यक्त गरेका थियौँ,’ उहाँले भन्नुभयो, ‘म मेयर निर्वाचित भएर आएँ । अब मेरो मात्र होइन, अरु उम्मेदवारले पनि व्यक्त गर्नुभएका सकारात्मक प्रतिवद्धतालाई आफ्नो पनि प्रतिवद्धता हो भनेर हामी जनताको बीचमा गइरहेका छौँ ।’ उहाँले सम्पदा संरक्षण आफ्नो पहिलो प्राथमिकतामा रहेको भन्दै सबै भन्दा बढी ध्यान सम्पदा पूर्ननिर्माणमा केन्द्रित गरेको जानकारी दिनुभयो । ‘सम्पदाको पुर्ननिर्माण गर्ने, हरियाली प्रर्वद्धन गर्ने कुरालाई पनि प्राथमिकतामा राखेका छौँ,’ उहाँले भन्नुभयो ।

उहाँले यो पटकको बजेटमा करको दरमा बृद्धि नगरेको पनि प्रष्ट पार्नुभयो । ‘करको दर बढाउँदा जनतालाई मार पर्छ भनेर हामीले यसो गरेका हौँ,’ उहाँले भन्नुभयो, ‘कर ‘कहर’ले होइन रहरले तिर्ने अवस्था बनोस् भनेर नै हामीले यसो गरेका हौँ ।’ उहाँले काठमाडौँ महानगरपालिका अन्य स्थानीय सरकार भन्दा फरक रहेको भन्दै यहाँको जनप्रतिनिधिबाट अलिक बढी नै अपेक्षा गर्ने कुरालाई आफूले पनि आत्मसाथ गरेको प्रष्ट पार्नुभयो ।

‘काठमाडौँ देशको राजधानी पनि हो,’ उहाँले भन्नुभयो, ‘पछिल्ला तथ्याङ्क अनुसार काठमाडौँका मतदाताको जनसंख्या २ लाख ७५ हजारको हाराहारीमा छ । तर, अहिले काठमाडौँ महानगरपालिकाको सेवाग्राहीको सङ्ख्या हेर्ने हो भने ४० लाखको हाराहारीमा छ । त्यति मानिसलाई हामीले सेवा दिनु पर्ने बाध्यता छ । त्यसकारण पनि हामीले सोचे अनुसारको सेवा दिन सकेका छैनौँ ।’

उहाँले यद्यपि कामलाई गति दिने कुरा हिजो भन्दा आज र आज भन्दा भोलि बढी हुँदै गएको पनि दाबी गर्नुभयो । ‘हाम्रो टीमले गौरव गर्ने गरी काम गरिहेको छ । दुई वर्ष अघिको काठमाडौँ र अहिलेको काठमाडौँमा तुलना गर्नुहोस् । धेरै कुरामा अघि बढेका छौँ,’ शाक्यले भन्नुभयो, ‘यद्यपि हामीले कल्पना गरेको महानगरपालिका अझै बन्न सकेको छैन । यो बनाउन अझै समय लाग्छ । त्यसका लागि हामी मात्र खटेर हुँदैन । कर्मचारी र जनताको पनि उत्तिकै सहयोग आवश्यक छ । सहकार्य र समन्वयबाट मात्रै हामी हाम्रो लक्ष्यमा पुग्न सक्छौँ । हामी सबै समृद्ध महानगरपालिका बनाउन लाग्नुको अर्को विकल्प छैन ।’

उहाँले तीन तहकै सरकार संघीयतालाई बलियो बनाउन लाग्नु पर्नेमा पनि जोड दिनुभयो । उहाँले आफू मात्र समृद्ध भएर हुँदैन भनेर काठमाडौँ महानगरपालिकाले छिमेकी नगरपालिकासँग पनि सहकार्य गरेर अघि बढेको प्रष्ट पार्नुभयो ।कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सेनालगायतले पनि बोल्नु भएको थियो भने सस्कृतिविद् सत्यमोहन जोशी, मोदनाथ प्रश्रितलगायतलाई सम्मान गरिएको थियो ।