५ भाद्र २०७६, बिहीबार ००:००

दरवार हत्याकाण्डको प्रत्यक्षदर्सी थिए सिंहदरवारमा आत्महत्या गर्ने नासु केसी, यस्तो थियो बयान


काठमाडौं, भदौं ५ । राजा बीरेन्द्रको बंश बिनाश हुने गरी १९ जेठ ०५८ मा भएको राजदरबार हत्याकाण्डका प्रत्यक्षदर्शीमध्येका एक बच्चुराम केसीले मंगलवार विष सेवन गरी सिंहदरबारमा आत्महत्या गरे । राजप्रसाद सेवा अन्तर्गत दरवारमा रहेका उनी गणतन्त्रपछि परराष्ट्र मन्त्रालय हुँदै राष्ट्रिय योजना आयोगमा सुब्बा तहमा कार्यरत थिए । राजदरबार हत्याकाण्डका वेला केसी युवराज दीपेन्द्रको बासस्थानका रूपमा रहेको त्रिभुवन सदनमा ब्वाइज (सुब्बा) पदमा कार्यरत थिए । उनको जिम्मेवारी भान्सेका रूपमा रहेको थियो ।

दरबार हत्याकाण्डका दिन त्रिभुवन सदनको बिलियार्ड हलमा लगिएको खाना उनीलगायतको टोलीले तयार पारेको थियो । तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको अध्यक्षतामा गठित उच्चस्तरीय छानविन समितिका सदस्य तत्कालीन सभामुख तारानाथ रानाभाटले दरबार हत्याकाण्डसम्बन्धी प्रतिवेदन तयार पार्ने क्रममा केसीसँग पनि बयान लिनुभएको थियो ।

दरबार हत्याकाण्डलगत्तै तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र शाहले गद्दी सम्हालेपछि केसीको सरुवा निर्मलनिवासमा भयो, जहाँ उनी अक्सर पारस शाहसँग रहन्थे । गणतन्त्र स्थापनापछि राजप्रासाद सेवा (दरबार) का कर्मचारीलाई निजामती सेवामा समायोजन गरियो, त्यसक्रममा केसीको सरुवा परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागमा भएको थियो । सो बिभागमा रहँदा उनीमाथि बिदेसीलाई राहदानी दिएको आरोप लाग्यो । मुद्दा पनि हारे । त्यही कारण उनले आफ्नो जीवनलीला नै समाप्त पारे । सुसाइड नोटमा कसैलाई दोष नदिनु, पत्रकारले अन्यथा नलेखुन भन्दै जीवन त्यागेका केसीले दरवार हत्याकाण्ड छानविन समितिलाई कस्तो बयान दिएका थिए त ? हेर्नाेस केसीको बयान ।

यहाँको नाम के हो ?

मेरो नाम बच्चुराम केसी हो, म त्रिभुवन सदनमा काम गर्छु ।

त्यहाँ काम गरेको कति वर्ष भयो ?

त्यहाँ काम गरेको पाँच वर्ष भयो । दरबार छिरेको नौ वर्ष भयो ।

जुन घटना घट्यो, त्यसवेला तपाईंलाई कुन काममा खटाइएको थियो ?

ज्यूनार तयार गर्ने काममा ।

तपाईंलाई सम्झना भएसम्म त्यस दिनको घटनामा के–के भयो ? बताउनुस ।

सबैभन्दा पहिला युवराजधिराज सवारी होइबक्सेको थियो बैठकमा । त्यसपछि महेशकुमार सिंह साहेबज्यू सवारी भयो । त्यसपछि अरू साहेबज्यू सवारी होइबक्स्यो । घटना घट्नुभन्दा दुई मिनेटअघि म कोल्डड्रिंक्स लिएर गएको थिएँ । त्यहाँबाट फर्केर अलि वर बैठकको ढोकाको १० मिटरजति उत्तर साइडमा पुग्दा युवराज सरकार आर्मीको चुस्ता ड्रेसमा सवारी होइबक्स्यो । अगाडि गन भिरिबक्सेको थियो । त्यसवेलासम्म मैले उभिएर हेरिरहेको थिएँ । कतै सवारी हुन लाग्यो भन्ठानेँ मैले । त्यसपछि ढोकाबाट छिर्नेबित्तिकै फायरिङ सुरु गरिबक्स्यो । त्यसपछि मलाई डर लाग्यो । मेरा मुटु काम्यो । म बाहिर भागेँ ।

अरू कुरा केही देख्नुभएन ?

अरू केही पनि थाहा छैन ।

युवराजलाई तपाईंले देख्दा हतियारसहित नै देख्नुभएको थियो ? कतिवटा हतियार थिए ?

दुईवटा त हातमा तेस्र्याएको देखेको थिएँ । एउटा टल थियो, अर्को अलिकति सानो थियो ।

दुईवटा उस्तै–उस्तै साइजको झुन्ड्याएको देख्नुभयो कि कस्तो थियो ?

एउटा हातमा थियो । अर्को झोलिएको थियो ।

पोजिसन कस्तो थियो ?

अलि डरलाग्दो पोजिसनमा होइबक्सन्थ्यो ।

कस्तो हाउभाउ देखाउँदै आउनुभएको थियो ?

होइन, उभिएरै आउनुभएको थियो ।

युवराजलाई ढोकाबाट छिर्ने वेलामा मात्रै देखेको कि अलि अगाडिदेखि नै देखेको ?

अलि अगाडि बगैँचादेखि नै देखेको हुँ । चन्द्रमा बत्तिवाल खुला ठाउँ छ । त्यहाँबाट खुला देखिन्छ । अलिकति देखिन्छ । अनि त्यसपछि प्यासेलबाट देखिन्छ ।

भित्र छिरेको मात्र देखेको कि बाहिर निस्केको पनि देखेको हो ?

भित्र छिर्ने बित्तिकै फायरिङ शुरु भयो । त्यसपछि म भागिहालेँ । त्यसपछि म त्यहाँ आउँदै आइनँ ।

फायरिङ कसलाई भएको देख्नुभयो ?

त्यहाँबाट भित्र देखिँदैन । म बसेको ठाउँबाट फायरिङ भएको मात्र देखिन्थ्यो । कसमाथि फयरिङ भयो देखिएन । मलाई सानु प्रभूले (निराजन साहेव)ले कोल्ड ड्रिंक्स ल्याऊ भन्ने हुकुम भएकोले कोल्ड ड्रिंक्स लिएर गएको थिएँ ।

तपाई २ मिनेटअघि कोल्ड ड्रिंक्स लिएर जाँदा महाराजधिराज सरकार कहाँ होइबक्सन्थ्यो ?

विलियार्डकै असपासमा होइबक्सन्थ्यो । म त्यहाँ डाइरेक्ट गएँ । कोल्ड ड्रिक्स त्यहाँ राखे । त्यहाँ बस्नु थिएन । त्यस्तो आवश्यक परेमा घण्टी बजाइबक्सन्थ्यो वा कहिलेकाहिँ अफैँ किचेनमा सवारी होइबक्सन्थ्यो । यो चीज लेऊ भन्ने हुकुम हुन्छ । त्यहीअनुसार जान्छौं । त्यहाँ कुनै फिर्ता ल्याउनुपर्ने चीज भए ल्याउँछौं, फर्कन्छौं ।

तपाईलाई थाहा छ ? त्यहाँ कुन समयमा जानुभएको थियो ?

मैले घडी त हेरिनँ । तर अन्दाजी त्यही ९ बजेको थियो की जस्तो लाग्छ । त्यसबेला हामी ३ जनामात्र थियौं काम गर्ने । तीन जनाले सबै भ्याउनुपर्ने हुन्छ । टेन्सन हुन्छ । त्यसैले ओहोरदोहोर गरिराख्नु पर्ने हुन्छ । समय हेर्न मौकासमेत मिल्दैन ।