जनता टाइम्स

१७ जेष्ठ २०८०, बुधबार १९:४१

बिष्फोटमा खुट्टा गुमाएकी शान्तादेबीलाई क्षतिपूर्ति दिन आयोगको सिफारिस


खोटाङ, १७ जेठ । राष्ट्रिय मानव अधिकार आयोगले द्धन्द्ध कालमा बिछ्याइएको बम बिष्फोटमा खुट्टा गुमाएकी खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तलेकी शान्तादेबी बञ्जरालाई तीन लाख क्षतीपुर्ति दिन सिफारिस गर्ने निर्णय गरेको छ । आयोगको केन्द्रीय कार्यालयले द्धन्द्धको समयमा नेपाली सेनाले बिछ्याएको माइन बम बिष्फोट हुँदा २०६४ चैत १० गते देब्रे खुट्टा गुमाएकी शान्तादेबीलाई क्षतीपुर्ति दिन सिफारिस गर्ने निर्णय गरेको हो ।

बराहपोखरी गाउँपालिका–२ सुन्तले र बराहपोखरी गाउँपालिका–४ फाक्टाङको बिचमा पर्ने सुनापाताल जंगलमा घाँस काट्न गएको बेला टेकिएको बम विष्फोट हुँदा शान्तादेबीको खुट्टा चुँडिएको थियो । द्वन्द्वकालिन विष्फोटक पदार्थको कारणबाट अंगभंग भए पनि द्धन्द्ध पिडितको कार्यविधिभित्र नपरेपछि शान्तादेबी हालसम्म राहतबाट बञ्चित छिन् ।

सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यविधिमा सशस्त्र द्वन्द्व सुरु भएको २०५२ फागुन १ गतेदेखि शान्ति सम्झौता भएको २०६३ मंसिर ५ गतेसम्मका घाइतेको मात्र अपांगता प्रतिशत निर्धारण तथा पुनरावलोकन सिफारिस गर्ने व्यवस्था भएका कारण शान्तादेबी द्वन्द्व पिडितको परिभाषाभित्र नअटेकी हुन् ।

सशस्त्र द्धन्द्धपीडितको परिभाषामा २०६३ मंसिर ५ गतेपछि पनि द्धन्द्धको कारणबाट पीडित भएका नागरिकलाई समावेश गर्न र पीडितको निःशुल्क उपचार गर्न सिफारिस गर्ने निर्णय भएको राष्ट्रिय मानव अधिकार आयोगको प्रदेश शाखा कार्यालय खोटाङका मानव अधिकार अधिकृत नेत्र गौतमले बताउनुभयो ।

स्थलगत अनुसन्धानपछि शान्तादेबीलाई ‘द्धन्द्ध पिडित ठहर’ गर्दै आयोगको प्रदेश शाखा कार्यालयले २०७८ साउन १५ गते आफ्नो केन्द्रीय कार्यालय समक्ष निर्णयका लागि पेश गरेको थियो । हालको कार्यविधि बमोजिम शान्तादेबी द्वन्द्व पिडितको दायराभित्र पर्ने अवस्था नभएकाले कार्यविधि नै संशोधन गर्नेगरी सिफारिस गरिएको आयोगले जनाएको छ । करिब तीन वर्षको अवधिमा शान्तादेबीको नक्कली खुट्टा फेर्नका लागि पोखरा पुग्नुपर्ने बाध्यता छ ।

द्वन्द्व पिडित छात्रबृत्तिलाई निरन्तरता देउ

राष्ट्रिय मानव अधिकार आयोगले विष्फोटमा गुमाएकी बञ्जराको बालबच्चाले पाउँदै आएको छात्रबृत्तिलाई निरन्तरता दिन सिफारिस गरेको छ । २०६९ साल असारदेखि १८ वर्ष नपुगेसम्म कक्षा १२ सम्मको पठन–पाठनका लागि वार्षिक रुपमा उपलब्ध हुँदैआएको छात्रबृत्ति २०७८ यता रोकिएको छ । बञ्जरा दम्पत्तीका नौ छोरी र एक छोरा छन् । त्यसमध्ये उर्मिला, भावना, रचना र दिव्यको बिवाह भइसकेको छ ।

बिनिता हाल काठ्माडौंमा बिएड तेश्रो वर्ष र अदिति बिबिएस प्रथम वर्षमा अध्ययनरत छिन् । संगीता भर्खरै कक्षा १२ उत्तिर्ण गरेर स्नातक भर्नाको तयारीमा छिन् । सुष्मा र श्रृष्टि कक्षा १० तथा विपिन कक्षा ९ मा स्थानीय ज्यु माबि सुन्तलेमा अध्ययनरत छन् । निम्न आर्थिक स्तरका शान्तादेबी अपांग बनेपछि श्रीमान तारानाथ बञ्जरालाई छोराछोरीको लालनपालन र शिक्षादिक्षा दिलाउन हम्मे परिरहेको छ ।