जनता टाइम्स

२६ जेष्ठ २०८०, शुक्रबार १०:०८

मिटरब्याजी र घरजग्गामा अबैध कारोवारले डुब्ने अवस्थामा हिलटप जुनार सहकारी, फिर्ता गर्न सकेन बचतकर्ताको रकम


काठमाडौं, जेठ २६ । राजधानीको तिनकुनेमा रहेको हिलटप जुनार बहुउदेशयीय सहकारीेले लुटतन्त्र मच्चाएको खबर बाहिरिएको छ ।

बचतकर्ताले एक लाखदेखि करोड रुपैयाँसम्म मुद्दती खातामा बचत गरेको हिलटप जुनार सहकारी डुब्ने अवस्थामा पुगेको छ भने लामो समयदेखि बचतकर्ताहरुको पैसा फिर्ता गर्न सकिरहेको छैन । जसका कारण बचतकर्ता पीडामा परेका छन । हिलटप जुनारले साँवा त परकै कुरा भयो, तीन महिनादेखि ब्याजसमेत दिन सकेको छैन । यता, बचतकर्ता पैसा फिर्ता हुन्छ कि भनेर निरन्तर हिलटप जुनार सहकारी धाइरहेका छन तर उनीहरु सँधै रित्तो हात फर्किन बाध्य भएका छन ।

२०६६।०४।३० गते दर्ता भएको यस संस्थामा बचत गर्ने अधिकांश कृषक र व्यापारीहरु छन । यस संस्था काठमाडौं महानगरपालिका भित्र पर्छ । २०७४।०१।१४मा बचतकर्तालाई रकम फिर्ता दिन ग्राहो भएपछि यस संस्था नवप्रगति बचत तथा ऋण सहकारी संस्थासँग एकिकरण गरिएको थियो । तर, एकीकरण गरिए पनि सहकारीको हातल बेहाल छ ।

तीनकुने, बानेश्वर, कोटेश्वर, लोकन्थली, गौशाला, सिनामंगल, एअरर्पोट, पेप्सीकोला, नरेफाँटलगायतका क्षेत्रका व्यापारी र बासिन्दाहरुले हिलटप जुनार रकम जम्मा गरेका छन । यहाँ हजारौं सदस्य को बचत छ जुन डुब्ने अवस्थामा पुगेको छ ।हिलटप जुनारका अध्यक्ष हरिमोहन थापा काठमाडौंकै अस्थायी बासिन्दा भए पनि उहाँको कोटेश्वरमा एक रोपनीभित्र बंगला छ । उहाँकै बिश्वासमा पर्दा बचतकर्ताहरुको बचत जोखिममा परेको छ ।

कोटेश्वर एरियामा बसोबास गर्ने धेरैको बचत हिलटप जुनार सहकारीमा छ । स्रोतका अनुसार कर्जा विभागका प्रमुखको विश्वासमा पर्दा डुब्न लागेको हो । ब्याज दिने आश्वासन दिलाएर हामीले जम्मा गरायौं तर, अहिले त्यहिँ रकम लिन धाउँ धाउँ भएको गुनासो एक बचतकर्ताले गरे । हिलटप जुनार सहकारीले कृषि क्षेत्रमा लगानी गरेको भेटिएन । सहकारी खोल्दा कृषिलाई प्राथमिकता राख्छु भने पनि लगानी भने अन्तै गरे ।

उक्त सहकारीले शंखरापुर र दक्षिणकाली नगापालिकामा लगानी गर्न पाउँदैन। तर, सहकारी अध्यक्ष थापा चत्तुर भएका कारण दक्षिण्काली र शंखरापुरमा जग्गामा लगानी गरेको स्रोतको दाबि छ । यस सहकारीले काठमाडौंमा मात्र काम गर्ने कार्यक्षेत्र पाएको छ । तर, सहकारीको सिन्धुली बर्दिवासमा ठूलो लगानी छ ।

हिलटप जुनार सहकारीले प्रायः जिल्ला बाहिरका मानिसहरुलाई धित्तो राखी कर्जा प्रवाह गर्छ । महँगो ब्याज र तीन किस्ता नतिर्ने बित्तिकै हिलटप जुनार सहकारीले धित्तो पच्चाइ दिन्छ । त्यत्ति कै सहकारीले अरुको धित्तो खान मिल्दैन । तर, यस्ता ठग सहकारीको काम नै यस्तै हुन्छ। यस्ता सहकारीले दैनिक पत्रिकामा ३५ दिने सूचना पनि जारी गर्दैन । त्यसले गर्दा धित्तो साहुलाई थाहा नदिई सडकको वास बनाई दिन्छ।

सिन्धुलीका एक पिडितले जनताटाइम्स डटकमसँग भने, ‘हामीलाई अध्यक्ष थापासँग चिनजान भएको मान्छेले उहाँको सहकारी लग्नुभयो । पछि कर्जा लिने मनाशाय बनायौं र लियौं पनि। तर, कर्जा लिएपछि झन्झट र फोन गरिराख्ने । पछि थाहा नदिईकन हाम्रो भएको धित्तो पच्चाई दिनुभयो ।’ हिलटप जुनार सहकारीमा बचकर्ताले लगेर रकम बचत गर्छन, त्यहीँ रकम पर्दाभित्र बसेर मिटरब्याजमा सञ्चालकहरुले लगानी गरेको समेत पाइएको छ ।

मिटरब्याजमा लगानी भएको पैसा नउठ्दा अध्यक्ष हरिमोहन थापा पनि तनावमा पर्नुभएको छ । सहकारी सञ्चालकहरुले व्यापारीको माध्यमबाट लगानी गर्ने गरिएको छ । एक लाखको मासिक पाँच हजारदेखि २० हजार रुपैयाँसम्म ब्याजमा पैसा दिने हिलटप जुनार सहकारीमा अवैध कारोबार मौलाएको छ । बचतकर्ताले ब्याज खान जम्मा गरेको रकम हिलटपले व्यापारीलाई खटाएर आवश्यक परेकालाई मीटरब्याजमा लगाउन दिने गरिन्छ । बीचमा बसेर व्यापारीले पनि दलाल गर्छन । हिलटप र केही बाठाटाठा व्यापारी मोटाइरहेका छन भने सीधासाधी व्यक्तिहरु दिनदहाडै लुटिएका छन ।

त्यसैगरी, घरजग्गा, सेयरमा पनि हिलटप जुनारको थुप्रो लगानी छ। सहकारीले सेयर धितो राखेर कर्जा दिनु स्वाभाविकै हो। तर, हिलटप जुनारले जम्मा भएको रकमले आफैं सेयर किन्दै, नाफा खाँदै गरेको छ । जनताको पैसाले सेयर खरिदबिक्री गर्ने अनि आएको नाफा तीन जना मिलेर लापलुप खाने । आफ्नो पैसा लगानी नै नगरीकन हिलटप जुनारको अध्यक्ष र सञ्चालक समितिमा रहेका टाठाबाठाहरुले मज्जाले नाफा कमाइरहेका छन ।

सहकारी ऐनमा उल्लेख भएअनुसार ऋण तिर्नका लागि पहिले ३५ दिने सूचना जारी गर्नुपर्छ त्यो पनि राष्ट्रिय स्तरको पत्रपत्रिकामा। त्यस्तै, धितो लिलाम गर्नुअघि पत्रिकामा ऋणीको तीन पुस्ते र फोटो पत्रिकामा निकाल्नुपर्छ। तर, हिलटप जुनारले त्यस्तो गर्दैन्। सहकारी ऐनको धज्जी उडाउँदै हिलटप जुनारले ३५ दिने सूचना र तीन पुस्ते सार्वजनिक गर्ने गरेको छैन । धितो रोक्का राखेर ऋण लिने बेलैमा ऋणीको मञ्जुरी लिइसकेको हिलटप जुनारको कालो कर्तुत एकदमै धेरै छ ।

मञ्जुरी पत्रमा लेखिएको हुन्छ, ‘तीन किस्ता मैले तिरिनँ भने मेरो धितो लिलाम गर्नुस्। म कँही उजुरी गर्दिन ।’ नेपाली कागजमा लेखिएको उक्त मञ्जुरी पत्रमा पहिले नै हस्ताक्षर गर्न लगाइन्छ । त्यस्तै, फोटोकपी पेपरमा दायाँबायाँ ल्याप्चे र हस्ताक्षर गर्न लगाएर राख्ने गरेका छन्। भोलि ऋण तिर्न सकेन भने हिलटप जुनारले त्यहाँ आफ्नो मनगढन्ते कहानी लेखेर ऋणी फसाउने गर्दछन । ल्याप्चे र हस्ताक्षर गरेपछि भोलि ऋणीले मलाई थाहा छैन भन्न पाँउदैन । हिलटप जुनारले आफूलाई माथि र ऋणीलाई तल पार्ने गर्दछ ।

कर्जा दिने बेलामा पाँचदेखि सात वर्षको अवधि तोकेर दिइन्छ । वषैंपिच्छे कर्जा नवीकरण गर्न लगाउँदछन । एक चोटिमा दुई प्रतिशत नविकरण शुल्क लिने गरेको छ, हिलटप जुनारले । हिलटप जुनानरको कालोधन्दाको कुरा गरिसाध्य छैन । एक महिनाअघि एक करोड ऋण लिँदा ऋणीले दुई प्रतिशत सेवा शुल्कबापत तिर्छन । एक करोडको लाखौं त घुस मात्रै खुवाउनु पर्छ । त्यस्तै, सेयर पनि भिडाइहाल्न । यता, मासिक ब्याज पनि २२ देखि ४८ प्रतिशत तोकिएको छ, त्योपनि मान्छे हेरेर ।

एक करोड कर्जा दिँदा हिलटप जुनारले डेढदेखि दुई करोडको धितो खोज्छ । ब्याज महँगो भो भनेर अर्को बैंकमा सार्न खोज्दा वा ऋण चुक्ता गर्दा पनि दुई प्रतिशत सेवाशुल्क लिन्छ । ऋण चुक्ता गरेको दिनसमेत गनेर ब्याज लिन्छ। राम्रो धितो छ भने त्यहाँबाट सार्न दिँदैन । यता, ऋण चुक्ता गरेपछि पनि धितो फुक्का गर्दैन्। धितो पचाउनका लागि विभिन्न बहाना बनाइराख्छ । हिलटप जुनारले च्यापेका ऋणीले अर्को बैंकमा धितो सार्न खोज्यो वा अर्को बैंकमा ऋण पास गरेपनि भड्काइ दिन्छ।

खराब नियतका व्यक्तिहरुले चलाएको हिलटप जुनारलाई जसरी पनि व्यक्तिको उठीबास लगाउनै छ । किस्तामा लगेर हालिदियो भने जरिवाना, पेनाल्टी लिन पाइएन । त्यसैले जानाजान उसले बचत खातामा पैसा जम्मा गरिदिन्छ । बचत खातामा दुईदेखि तीन प्रतिशत ब्याज दिन्छ । तर, कर्जामा त २२ देखि ४८ प्रतिशत ब्याज लिन्छ । बेलामा किस्ता नतिरेको भन्दै जरिवाना लिन्छ, पेनाल्टी हाल्छ । अनि आफैं ठूलो पल्टिन खोज्छ। तर, ऋणीले तोकिएको समयभित्र किस्ता तिरेका थिए।

हिलटप जुनारले जानाजान किस्तामा नतान्दिँदा ऋणीलाई बोझमाथि बोझ थपिएको छ । हिलटप जुनारले जहाँजहाँ लगानी गरेको छ त्यो सबै बीमा गरेको हुनुपर्छ। बीमा नगरेको धितोलाई उसले कर्जा दिँदैन । बीमा गरेको छैन् भने कर्जा दिने बेलामा जबरजस्ती गराउँछ । कर्जा लिनेलाई पैसाको खाँचो परेको हुन्छ, जेजे भनि नि मान्नैपर्यो । यताबाट ऋण लिन चाहनेलाई बीमा गर्न लगाउँछ, उता बीमा कम्पनीबाट कमिशन खान्छ । बीमाको अवधि एक वर्षको हुन्छ।

बीमाको अवधि पुग्ने एक साता अघि नै हिलटप जुनारले आफुखुसी बीमा नवीकरणको पैसा पठाइदिन्छ । ऋणीले तिरेको किस्ताबाट बीमा कम्पनीलाई पैसा तिरिदिन्छ । यता, ऋणी यसबारे अन्जान हुन्छन । उनीहरुलाई फोन नै नगरीकन कुनै जानकारी नै नदिईकन मनलाग्दी बीमा गरिदिन्छ। एकातिरबाट कमिशन खाने अर्कोतिर बीमा कम्पनीलाई पठाएको पैसाको ब्याज पनि ऋणीसंग असुल्छ। आफन्तलाई जानकारी नगराईकन हिलटप जुनारमा खाता खोलेकाहरुको मृत्यु भयो भने फिर्ता हुँदैन ।

हिलटप जुनार सहकारीको ठूला लगानी घर जग्गामा छ । बचतर्काहरुको रकम घर जग्गामा लगानी गर्न पाउँदैन। अध्यक्ष थापाले कसरी बचतकर्ताहरुको रकम घर जग्गामा लगानी गरे भनेर तीनकुने भरि हल्ला हुन थालेको छ । अहिले सहकारीले जमानी बसेका व्यक्तिहरुको पनि पैसा फिर्ता गरेको छैन। त्यसले गर्दा उनीहरुलाई सहकारीले थप पिडा दिईरहेको छ । बचतकर्ताको पैसाफिर्ता गर्न नसकेपछि अध्यक्ष थापा मोवाइल अफ गरेर बस्नुभएको ती पीडितले बताए । उनका अनुसार जनताटाइम्स डटकमले अध्यक्ष थापाको मोवाइल नम्बर ९८४१४०९५३१ सम्पर्क गर्दा अफ थियो ।

सहकारी विभागका उपरजिष्ट्रार खिमानन्द आर्चायका अनुसार यसरी सहकारीले बचतकर्ताको पैसा घर जग्गामा लगानी गर्न पाउँदैन । आफनो पैसा भए लगानी गर्न पाउँछन । तर, बचतकर्ताको पैसा लगानी गर्दा डुब्ने खण्डमा कसले तिर्छ ?अहिले धेरै सहकारी घर जग्गामा लगानी गरेर डुब्ने अवस्था छ । ‘सहकारीले कहाँ कहाँ लगानी गर्न पाउँछ भनेर हामीले सहकारी ऐन कानून नै बनाएको छौं । यस विषयमा हामी यस सहकारीका सञ्चालकसँग बुझछौं। र, डुब्ने अवस्था भए बचतकर्ताहरुले समयमा नै उजुरी दिन पनि उपिल गर्छु,’ आचार्यले भन्नुभयो ।

उहाँले १६ प्रतिशतभन्दा बढी ब्याज लिने सहकारीलाई कारबाही हुने बताउनु भयो । उहाँले सहकारीले आफ्नो उद्देश्यभन्दा बाहिर लगानी गरेको पाइएमा सहकारी विभागले पत्रचार गरेर कारबाही अगाडि बढाउने जानकारी पनि दिनुभयो । हिलटप जुनार सहकारीका एक पिडतका अनुसार आफैंले चिनेको व्यक्तिको जमानी बस्दा अहिलेसम्म पनि आफनो रकम फिर्ता पाएको छैन ।

यस्तै सहकारी महासंघको महाप्रबन्धक सुब्बाले यसरी बचतकर्ताहरुको रकम घर जग्गामा लगानी गर्न नपाउने भन्दै आपत्ति जनाउनु भयो । बचतकर्ताहरुको रकम घर जग्गामा लगानी गर्नु गैरकानूनी भएको उहाँको भनाई छ ।

उहाँले त्यस्ता सहकारीमाथि नियामक निकायले तत्काल कारबाही अगाडि बढाउनुपर्ने बताउनु भयो । सञ्चालकहरुको नियत खराब हुँदा सहकारीमाथिको विश्वासनीयता घट्दै गएको उहाँको भनाइ छ । सहकारीलाई एउटा निश्चित दायरामा राख्न नसक्दा समग्र क्षेत्र नै बदनाम भएको उहाँको बुझाइ छ । सहकारीलाई नियामक निकायले ठिक ठाँउमा राख्न नसकेकोप्रति उहाँले दुःखेसो गर्नुभयो ।