जनता टाइम्स

२१ बैशाख २०७६, शनिबार ०७:५०

‘राष्ट्रिय ज्ञान पार्क’ स्थापना गरिने


काठमाडौँ, वैशाख २०

सरकारले सूचना प्रविधिमा आधारित उद्योग व्यवसाय प्रवद्र्धन तथा रोजगारी सिर्जना गर्न ‘राष्ट्रिय ज्ञान पार्क’ स्थापना गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको नीति तथा आगामी आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रममा उक्त विषय उल्लेख गरिएको छ ।

मकवानपुरको हेटौँडामा निर्माणाधीन डाटा रिकभरी सेन्टरको निर्माण यसै वर्ष सम्पन्न गरी सञ्चालनमा ल्याइएको सरकारले सम्भाव्य अन्य स्थानमा थप डाडा सेन्टर निर्माण तथा इन्टरनेट एक्सचेन्ज सेन्टरको स्थापना गर्ने नीति लिएको छ ।

दूरसञ्चार पूर्वाधारमा रहेको दोहोरो लगानी कम गर्न पूर्वाधार सहप्रयोग गर्ने नीति अबलम्बन गरिनेछ । साइबर सुरक्षा जोखिमको पहिचान, त्यसबाट पर्ने असरको न्यूनीकरण र आकस्मिक साइबर सुरक्षाको व्यवस्था गर्न राष्ट्रिय सूचना प्रविधि आकस्मिक सहायता समूहसहितको साइबर सुरक्षा प्रणाली सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

आम सञ्चार क्षेत्रलाई मर्यादित र व्यावसायिक बनाउन कानूनी र संस्थागत व्यवस्थासहितको नियामक निकाय स्थापना गरिनेछ । हुलाक सेवालाई पुनःसंरचना गरी स्वायत्त, प्रतिष्पर्धी र व्यवसायिक बनाइनेछ । आगामी दुई वर्षभित्र देशभित्रै सुरक्षित छापाखाना स्थापना गरी राहदानी, बैंक नोट, अन्तःशुल्क स्टिकर, हुलाक टिकट, जग्गाधनी प्रमाणपूर्जा र सार्वजनिक महत्वका कागजातको सुरक्षा मुद्रण गरिने जनाइएको छ ।