जनता टाइम्स

२६ भाद्र २०७६, बिहीबार १८:५०

फेसबुकबाट चिनजानपछि विवाह, २० वर्षमै दुई सन्तानकी आमा


विमलबहादुर विष्ट \ डोटी, भदौ २६

दीपायल सिलगढी नगरपालिका वडा नं ८ का माया विष्टको कक्षा ८ मा पढ्दापढ्दै फेसबुकमा एक युवकसँग चिनजान भयो । सत्र वर्षीया विष्टको फेसबुकको सम्बन्धकै कारण विवाहसमेत भयो । अहिले उनी २० वर्षकी भइन् । भर्खर विवाह गर्ने उमेर भएकी विष्टका दुई सन्तान जन्मिसकेका छन् । अचेल दुई सन्तान पाल्न आफूलाई धौ धौ परेको उनी बताउँछिन् ।

उनले भनिन् – “फेसबुकले गर्दा लभ प¥यो । बिहे गरें । अहिले समस्या भयो । कसलाई पीडा सुनाउँ रु सहेर बसेकी छु ।” आफूले सानै उमेरमा गरेका बिहेप्रति अहिले निकै पछुतो छ उनलाई । आँशु पुछ्दै उनले भनिन् – “लहलहैमा लागेर सानै उमेरमा बिहे गरियो । त्यसको परिणाम भोग्दैछु ।”

त्यस्तै जिल्लाको बडिकेदार गाउँपालिका वडा नं ४ मान्नाकापडीका १७ वर्षीय दीपक बोहरा र छिमेकी गाउँकी १४ वर्षीया शर्मिलाबीच पनि फेसबुककै कारण विवाह भयो । बिहे गरेको दुई वर्षमै छोरी जन्मिन् । आफूहरुबीच सधैं भैmझगडा र कलह मात्रै हुने गरेको शर्मिला बताउँछिन् । उनी भन्छिन् – “बुद्धि नपुगेर सानैमा विवाह गरें । अहिले झगडा मात्रै हुन्छ । कसरी जीवन धान्ने होला रु चिन्तामा छु ।”
दीपायल सिलगढी नगरपालिका–८ लडागडाकी चनरी नेपाली पनि बालविवाहका कारण आफ्नो भविष्य बर्बाद भएको निष्कर्षमा पुगेकी छन् । आमाबुबाले नै बालविवाह गरिदिएको उनको आरोप छ ।

आफूले आमाबुबाकै ढिपीमा समय नपुग्दै विवाह गरेका कारण हाँस्ने खेल्ने उमेरमा परिवार र सन्तानको स्याहारमा बिताउनु परेको र आत्मग्लानी हुने गरेको उनी बताउँछिन् । “आमाबुबाले सानैमा बिहे गरिदिए, उहाँहरूको बोझ बनेर माइत बस्नु छोरीको धर्म होइन,” उनले भनिन् – “बाल्याकाल कसरी ढल्क्यो थाहै भएन । सानैदेखि पढ्ने रहर हुँदाहुँदै घरकाले विवाह गरिदिए । अहिले पछुताउनु बाहेक अरू विकल्प छैन ।” पारिवारिक दवाव, साथीसङ्गीको लहलहै, अभिभावकको हेरचाह तथा पालनपोषणमा उदासीनता, राम्रो घरपरिवारबाट भन्दै सानैमा बिहे गराइदिने चलन, मोबाइल र इन्टरनेटको बढ्दो प्रयोगका कारण डोटी जिल्लामा उमेर नपुग्दै धेरै किशोरकिशोरीको विवाह हुने गरेको सरोकारवालाहरु बताउँछन् । दीपायल सिलगढी नगरपालिका वडा न ८ ९साबिकको लडागडा गाविस० मा मात्रै विगत तीन वर्षमा १६३ वटा बालविवाह भएको देखिएको छ । साबिकको क्षेत्रीय सदरमुकाम दीपायल राजपुर नजीकै रहेको उक्त वडामा बालविवाह तीन वर्षदेखि क्रमशः उकालो लागिरहेको छ ।

सामुदायिक विकास केन्द्र (सिडिसी) को सहयोगमा यहाँका जनप्रतिनिधिहरुले गरेको सर्वेअनुसार विसं २०७३ मा ३८, २०७४ मा ५६ र २०७५ मा ६९ जनाको बालविवाह भएको पाइयो । सर्वेमा संलग्न सामुदायिक विकास केन्द्रका परियोजना जिल्ला संयोजक एकराज बडुका अनुसार बालविवाहको दर घट्नुको सट्टा बढिरहेको छ । उनले भने – “तथ्याङ्क हेर्दा बालविवाह घट्नुको सट्टा बढिरहेको पाइयो । बालविवाह गर्नु अपराध हो भन्ने जान्दा जान्दै पनि मानिस यसो गरिरहेका छन् । किन गरे होलान बुझनै सकिनँ ।”

जिल्लामा हुने अधिकाँश बालविवाह पुण्य कमाउने नाममा हुने गरेको जोरायल गाउँपालिका वडा नं ५ की स्थानीयवासी तुलसी शाहीले बताइन् । महिनावारी नहुँदै छोरीको विवाह गरे पुण्य प्राप्त हुन्छ भन्ने अन्धविश्वासले यहाँका मानिसहरु सानैमा छोरीको विवाह गरिदिने गर्छन् र यसले कालान्तरमा छोरीलाई समस्या हुने गर्छ ।”

जिल्लामा २०७३ वैशाखदेखि २०७५ चैत्रसम्म १३३ जना बालिका र २७ जना बालकको बालविवाह भएको विभिन्न सङ्घसंस्थाको अभिलेखबाट देखिएको छ । अधिकाँश बालबालिका १४ देखि १९ वर्षभित्रका बालबालिका छन् । गरीब, विपन्न र शिक्षाबाट वञ्चित परिवारमा बालविवाह बढ्दै गएको यहाँका स्थानियवासी बताउँछन् ।

प्रजनन् अङ्गहरूको पूर्ण विकास नहुँदै विवाह गरिदिँदा महिलामा समस्या देखापर्ने गरेको नेपाल परिवार नियोजन सङ्घ डोटी शाखाका प्रबन्धक चेतराज फुलाराले बताए । उनले भने – “सानैमा बिहे गरेका दम्पतीको समय नपुग्दै बच्चा जन्मिने, कम तौलको हुने, प्रजनन् अङ्गमा समस्या हुने हुन्छ । पछि परिवारको व्यवस्थापन गर्न नसक्दा उनीहरु पछुताउँछन् ।”

‘बालविवाह अन्त्यका लागि म पनि प्रतिवद्ध छु’ भन्दै दीपायल सिलगढी नगरपालिकाले अभियान सञ्चालन गरे पनि त्यो फलदायी हुन सकेको छैन । नगरपालिकाका नगर उप–प्रमुख शिवराज खड्काले बालविवाह जस्ता सामाजिक कुरीति अन्त्य गर्न नगरपालिकाले कुनै पनि कसूर बाँकी नराख्ने दाबी गरे ।

डोटी जिल्लामा बालविवाह, छाउपडी, बहुविवाह जस्ता कुरीतिहरुले वर्षौदेखि जरो गाडेर बसेको छ । जिल्लामा हुने यस्ता कुरीतिका विरुद्धमा अभिभावक र बाल क्लब नै सक्रिय हुनुपर्ने डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलको धारणा छ । उनले भने – “बालविवाह, छाउपडी जस्ता कुप्रथा हटाउन नागरिक समाज र अभिभावक सक्रिय नभएसम्म अन्त्य हुने छाँट देखिँदैन ।”

दीपायल सिलगढी नगरपालिकाका पूर्वनगर प्रमुख घनश्याम पाठक बालविवाह गरिदिने अभिभावकहरुलाई नै कानूनको कठघरामा नउभ्याएसम्म यहाँ बालविवाह अन्त्य नहुने विचार राख्छन् । कानूनमा विवाह गर्ने उमेर २० तोकिए पनि यसको खासै पालना गरिएको पाइँदैन । सामुदायिक विकास केन्द्र डोटीले बालविवाह गरेका दम्पतीहरूलाई आत्मनिर्भर बनाउन तथा सम्भावित बालविवाहलाई निरुत्साहित गर्न नगरपालिकासँगको सहकार्यमा विभिन्न आयआर्जनका कार्यक्रमहरु सञ्चालन गर्दैआएको छ ।

उमेर नपुग्दै बिहे गर्दा पाठेघर खस्ने, विभिन्न रोगहरूबाट सङ्क्रमण हुने, शरीर कमजोर हुने गरेको जिल्ला अस्पताल डोटीका डा गिरीश अवस्थीले बताए । दीपायल सिलगढी नगरपालिकाको वडा नं ९ मा १०० बालबालिकामा गरिएको अर्को एक सर्वेक्षणमा २० प्रतिशत दम्पतीका ७ वटा सन्तान रहेको भेटिएको छ । त्यस्तै, ५० प्रतिशत दम्पतीको ४ देखि ६ र ३० प्रतिशतको ३ जनासम्म सन्तान रहेको भेटिएको छ ।