जनता टाइम्स

२१ बैशाख २०७६, शनिबार १५:०२

बाजुरामा स्थानीयले बुझाए ३१ थान भरुवा बन्दुक


बाजुरा, बैशाख २१

अवैध हतियार बुझाउन सरकारले गरेको आग्रहअनुसार सर्वसाधारणले घरेलु प्रयोजनका लागि राखिएका ३१ थान भरुवा बन्दुक स्थानीयवासीले जिल्ला प्रहरी कार्यालयमा बुझाएका छन्। पछिल्लो दुई महिनामा मात्रै ३१ थान एकनाले भरुवा बन्दुक प्रहरी कार्यालयमा बुझाइएको प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिनुभयो ।

जिल्लामा गत चैत १ गते सरकारले अवैध हातहतियार बुझाउन ३५ दिने सूचना जारी गरेको थियो। सर्वसाधारणले स्वस्फूर्त भरुवा बन्दुक प्रहरी कार्यालय, स्थानीय तहमा राखिएका इलाका प्रहरी चौकी र अस्थायी प्रहरी पोष्टमा बुझाएका हुन्।

बुझाएकामध्ये २४ थान वैध र सात थान अवैध घरेलु भरुवा बन्दुक रहेका प्रहरी प्रमुख भाटले बताउनुभयो उहाँका अनुसार गौमुलबाट सात थान, धुलाचौर अस्थायी प्रहरी पोष्टबाट पाँच थान, बडिमालिका प्रहरी चौकीबाट तीन थान, जुड्डीबाट एक थान, डोगडी प्रहरी चौकीबाट चार थान, मैरेबाट दुई थान, टाँटेबाट एक थान र स्वामिकात्र्तिकबाट एक थान हतियार सङ्कलन गरिएको छ।