जनता टाइम्स

२२ बैशाख २०७६, आईतवार १३:५९

कांग्रेस-मधेसी दललाई खगराज अधिकारीको जवाफ : बिखण्डनकारीलाई मुलधारमा ल्याउँदा किन टाउको दुखाई ? किन आपत्ति ?


काठमाडौं, बैशाख २२

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा सांसद खगराज अधिकारीले सरकारको नीति तथा कार्यक्रमको बिरोध गर्नेहरु समृद्धिबिरोधी भएको ठोकुवा गर्नुभएको छ । सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अधिकारीले नीति कार्यक्रम मुलुकको यथार्थबोध गरी समृद्धिको यात्रातर्फ अघि बढाएको र मुलुकको सपना पूरा गर्नेतर्फ उन्मुख रहेको ठोकुवा गर्नुभयो ।

‘गरीवी, अशिक्षा र बेरोजगारी समस्या समाधान गर्न सरकार अघि बढेको छ । सवैलाई समान अधिकारको योजना ल्याएको छ । कोही भोकै हुनेछैन भन्ने सरकारको योजनाबाट प्रतिपक्षी डराएको हो ?’ अधिकारीले भन्नुभयो । उहाँले बिपक्षीले केही नपाएर दुनियाभर स्थापित अभ्याशको बिरोध गर्दै पब्लिक कन्जम्शनका लागि नीति कार्यक्रमको बिरोध गर्नु उचित नभएको बताउनु भयो ।

उहाँले भ्रष्टाचार नियन्त्रण र तस्करी नियन्त्रणका लागि बतृमान सरकारले सही कदम चालेको उल्लेख गर्दै कस्को पालामा तस्करी मौलाएको हो भन्ने तथ्य प्रमाणित भइसकेको बताउनु भयो । ‘३३ किलो सुन यो सरकार आएपछि भएको हो ? यो सरकार आएपछि त सुन काण्ड बाहिर आएको हो । तस्करलाई थुनेको हो, तस्करहरुको भागाभाग भएको हो,’ अधिकारीले भन्नुभयो । उहाँले सरकारले संघीयता कार्यान्वयन गर्दै मुलुकलाई संबिधानले तय गरेको बटोतर्फ अघि बढाएको तथ्य पनि राख्नुभयो ।

‘संघीयतालाई कार्यान्वयन यो सरकारले गरेको छ । सरकारले सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गरेको छ । बिरोधका लागि बिरोध गरेर पब्लिक कन्जम्शनका लागि मात्रै बिरोध गरेर हुन्छ ? पब्लिक कन्जम्शनका लागि ल्याइएको संशोधन फिर्ता लिऊ, संशोधनको औचित्य छैन,’ अधिकारीको भनाई थियो ।

नेता अधिकारीले संबिधान संशोधनको बिषयमा सरकार लचिलो भएको र औचित्यको आधारमा मात्रै संशोधन गर्ने प्रष्ट पारिसकेको अवस्थामा अनावश्यक रोइलो जरुरी नभएको बताउनु भयो । ‘सरकारले औचित्यको आधारमा संबिधान संशोधन गर्ने भनिसकेको छ, संबिधान संशोधनको औचित्य पुष्टि गरेर देखाउनोस, बिखण्डनकारीलाई मुलधारमा ल्याउँदा किन टाउको दुखाई ? के बिखण्डन सधै भइरहोस भन्ने हो ?’ अधिकारीले भन्नुभयो ।