जनता टाइम्स

२२ बैशाख २०७६, आईतवार १७:२९

गैरसरकारी संस्थालाई नियमन गर्छौं : मन्त्री बाँस्कोटा


काठमाडौं, बैशाख २२

नेपाल सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले नेपालको सार्वभौमिकसत्ता खलबल्याउने गतिविधि हुन थालेकाले गैरसरकारी संस्थालाई नियमन गर्न लागिएको बताएका छन्। सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले काभ्रेपलाञ्चोकस्थित गैरसरकारी संस्था महासङ्घ नेपालको १६ औं वार्षिक साधारणसभा तथा ८ औं जिल्ला अधिवेशनलाई आज धुलिखेलमा सम्बोधन गर्दै केही गैससका गतिविधिले नेपालको सार्वभौममाथि खतरा पर्ने देखिएपछि नियमन गर्न लागिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘बाह्य सहयोग स्वीकार्नु पर्छ तर नेपालको अखण्डता र सार्वभौमिकतामा आँच पुग्ने काम गर्न पाइँदैन।’ उहाँले सरकारको उद्धेश्य गैससलाई नियमन गर्ने नै भएको उल्लेख गर्दै पारदर्शी तवरले काम गर्न गैससलाई कसैले नरोक्ने बताउनुभयो । ‘बाह्य सहयोग कति हार्डवेरमा, कति सफ्टवेयरमा लेखाजोखा हुनुपर्छ’, उहाँले भन्नुभयो, ‘हामी गैससलाई एउटै डालोमा पनि राख्दैनौं, छलफल गरौंला, नीति कानुन बनाउने बेलामा तपाईंहरूको सुझावको अपेक्षा गर्छौं।’

मन्त्री बाँस्कोटाले सामाजिक सञ्जाल पनि निमयन हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘निर्वाचनको स्वच्छतामाथि प्रश्न उठेपछि फेसबुकका जन्मदाताले आफैंले नियमन गर्नुपर्दछ भनेका छन्, यसप्रति गम्भीर हुनु आवश्यक छ।’ उहाँले लोकतन्त्रमा छाडातन्त्र हावी हुन सक्ने खतरा बढेकाले सामाजिक सञ्जाल नियमन गर्नुपर्ने बताउनुभयो । दिगो विकास लक्ष्य (एसडीजी) का १७ उद्देश्यमध्ये सुख एउटा महत्वपूर्ण पाटो भएकाले सरकारको अभियानमा समृद्धि थपिएको उहाँको धारणा थियो।

मन्त्री बाँस्कोटाले विकासमा सत्तापक्ष र प्रतिपक्षको साझेदारी रहनुपर्ने बताउनुभयो । ‘तर चारतारा र लालतारा मिलेर अंशबण्डा गर्नुपर्दैन’, उहाँले थप्नुभयो, ‘एउटा सानो घर होस्, एउटा गाई होस्, भन्नेजस्ता नेपालीलाई सुखी बनाउने नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपीका कुरा अब वर्तमान प्रधानमन्त्री केपीले पूरा गर्दै हुनुहुन्छ।’

मन्त्री बाँस्कोटाले फरक प्रसङ्गमा ‘बालुवाटार प्रकरण सन्त नेताबाटै सुरू भएकाले’ प्रतिपक्षले यसका विषयमा ठूला भाषण गर्दा स्वयंलाई अप्ठ्यारो पर्ने जिकिर गर्नुभयो । वैदेशिक रोजगारीको आकर्षणसँगै ‘तेल भिसा’ले परिवार बिखण्डनतिर जाने खतरा बढेकाले यसप्रति सरकार सचेत बन्दै गएको उहाँले बताउनुभयो । सो अवसरमा मन्त्री बाँस्काटाले गैसस काभ्रेपलाञ्चोकका पूर्वअध्यक्ष कृष्णचन्द्र आचार्य र शङ्खबुद्ध लामालाई सम्मान गर्नुभएको थियो ।