जनता टाइम्स

२२ बैशाख २०७६, आईतवार १८:०४

कांग्रेसलाई नेकपाको कटाक्ष : विगतमा सरकार चलाएकालाई भ्रम परेको रहेछ, मैले नै सबै थामेको थिएँ भन्ने ।


काठमाडौं, वैशाख २२

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका सांसदले नेपाली कांग्रेसलाई संसदमा राम्रोसँग जवाफ फर्काएका छन् । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रम निवन्ध जस्तो भएको टिप्पणी गरेपछि नेकपाका सांसदले त्यसको प्रतिवाद गरेका हुन् ।

नेकपाका सांसद गजेन्द्रबहादुर महतले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसप्रति कटाक्ष गर्न संसद्‍मा दुईवटा किस्सा सुनाउनु भयो ।

जुन यस्तो थियो –

‘हाम्रो गाउँघरतिर चिया खाने ठाउँमा एउटा चेस खेलाडी थियो । आफूले खेल्दा थाहा नपाउने अरूले खेल्दा यो चाल, त्यो चाल भन्ने । अहिलेको प्रतिपक्ष (कांग्रेस) आफू खेल्न नजान्ने, अरू खेल्ने बेला यो चाल भन्ने हाम्रो गाउँको चेस खेलाडीजस्तो भएको छ ।’ सांसद महतले यो किस्सा सुनाउँदा सांसदहरू गलल हाँसेका थिए । कांग्रेसप्रति कटाक्ष गर्न उहाले लगत्तै दोस्रो किस्सा सुनाउनु भयो ।

‘हाम्रो जुम्लाको मान्छे कालापहाड (भारत) गएछ छोरा लिन । कालापहाड जाने बाटोमा त घुम्ती–घुम्ती छन् । घुम्तीमा गाडी मोडिने बेलामा छेउमा पुगेपछि उसले जोडले समात्दो रहेछ,’ सांसद महतले संसद्को रोष्टमलाई दुई हातले समातेर अभिनय गर्दै भने– ‘गन्तव्यमा पुगेपछि त्यसले पसिना पुछ्दै आज मैले नथामेको भए गाडी पल्टिसकेको थियो भन्थो रे ! उसलाई मैले नथामेको भए गाडी पल्टिने रहेछ भन्ने भान परेछ ।’ महतले कांग्रेसप्रति व्यंग्य गर्दै भन्नभुयो– विगतमा सरकार चलाएकालाई भ्रम परेको रहेछ, मैले नै सबै थामेको थिएँ ।’