जनता टाइम्स

२० श्रावण २०८१, आईतवार १०:२३

स्टण्टवाज सुमनालाई शिक्षामन्त्री बिद्याको जवाफ : लोकप्रियताका लागि शिक्षकलाई लाञ्छना लगाएर समस्याको समाधान हुन्न


शिक्षकहरूलाई अनावश्यक लाञ्छना लगाउने, झोले हुन भन्ने, बेठिक हुन भन्ने ? तिनै शिक्षकहरूले विद्यालय धान्नुपर्ने कुराले मलाई लाग्छ हामीले खोजेको गुणस्तरीयता पाउन सकिँदैन । लोकप्रियतावादी विचारले मात्रै समाजलाई नेतृत्व गर्न सक्दैन ।

पोखरा, साउन २० । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले लोकप्रियतावादी विचारले मात्र समाजको नेतृत्व गर्न नसकिने बताउनु भएको छ । प्रेस चौतारी कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा शिक्षामन्त्री भट्टराईले यस्तो बताउनु भएको हो ।

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठलाई लक्षित गर्दै शिक्षामन्त्री भट्टराईले समाजको नेतृत्व गर्न लोकप्रियतावादी विचारले मात्र नहुने बताउनु भएको हो । शिक्षामन्त्री भट्टराईले शिक्षकलाई अनावश्यक लाक्षना लगाउने र झोले हुन भन्ने तर तीनै शिक्षकहरूले विद्यालय धान्नुपर्ने कुराले खोजिरहेको गुणस्तरीयता पाउन नसक्ने बताउनु भयो ।

‘विद्यालय शिक्षा ऐन विचाराधीन छ । संसदमा छलफल चलिराखेको छ । शिक्षकको भूमिका के रहने भन्ने कुराको मापदण्ड त्यसले बनाइसकेको छ,’ मन्त्री भट्टराईले भन्नुभयो, ‘शिक्षकहरू आरोपित हुँदाखेरि हामीसँग छुट्टाछुट्टै ऐनहरू छँदैछन् । यी ऐनहरूमार्फत उहाँहरू कारबाहीमा पर्ने आधारहरू अलरेडी छन । भएका ऐनहरू कार्यान्वयन गर्ने कुरामा सरकार दत्तचित्त भएर लाग्छ ।’

उहाँले शिक्षाकलाई लाञ्छना लगाएर आफू चोखो बन्ने र लोकप्रिय बन्ने बिचार हानीकारक रहेको तथ्य औंल्याउनु भयो । ‘शिक्षकहरूलाई अनावश्यक लाञ्छना लगाउने, झोले हुन भन्ने, बेठिक हुन भन्ने ? तिनै शिक्षकहरूले विद्यालय धान्नुपर्ने कुराले मलाई लाग्छ हामीले खोजेको गुणस्तरीयता पाउन सकिँदैन । लोकप्रियतावादी विचारले मात्रै समाजलाई नेतृत्व गर्न सक्दैन । हामी लोकप्रिय पनि हुनुपर्छ । व्यवहारिक पनि हुनुपर्छ,’ शिक्षामन्त्री भट्टराईले भन्नुभयो । अदालतमा विचाराधीन भएका कारण शिक्षक निर्देशिका चलाउन नसकिएको जानकारी पनि मन्त्री भट्टराईले दिनुभयो ।

‘शिक्षक निर्देशिका अदालतमा छ । अदालतमा विचाराधीन भएको कुरा अहिलेको मन्त्रीले खण्डन गरेर जान त सकिँदैन । हामी अदालतको परमादेश पर्खेर बसेका छौं । त्यो अदालतमा भएको कारण मैले केही पनि गर्न सकेको छैन,’ शिक्षामन्त्री भट्टराईले भन्नुभयो, ‘अदालतले एउटा आदेश दिएपछि त्यसलाई के गर्ने भन्ने सवाफमा अगाडि बढ्छु ।’