जनता टाइम्स

१० आश्विन २०८१, बिहीबार १०:५७

जलवायु कार्यका लागि ऋण लिनु विकासोन्मुख देशहरूका लागि घोर अन्याय : प्रधानमन्त्री


न्यूयोर्क, असोज १० । प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तन हाम्रो समयको परिभाषित सङ्कट भएको बताउनुभएको छ ।

संयुक्त राष्ट्र संघको ७९ औँ साधारण सभामा आयोजित जलवायु फोरमको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले नेपाल युवा पहाडहरू भएको र कम विकसित देश भएकाले बढ्दो परिमाण र तीव्रतामा जलवायु प्रेरित प्रकोपहरूको सामना गरिरहेको बताउनुभयो ।

‘हिमालयमा हाम्रो हिउँको विशाल भण्डार, अर्बौ मानिसहरूका लागि महत्त्वपूर्ण जीवनरेखा, खतरनाक मात्रा र गतिमा घट्दै छ, पछिल्ला महिनाहरूमा यी प्रकोपहरूले २ सयभन्दा बढीको ज्यान लिएको छ, समुदाय र अर्थतन्त्रहरूलाई विनाशकारी बनाएको छ’, प्रधानमन्त्री ओलीले भन्नुभयो ।

नेपाल जलवायु परिवर्तन सम्बन्धी घटनाहरूबाट सबैभन्दा बढी प्रभावित देशहरू मध्ये १० औँ स्थानमा रहेको ओलीले जानकारी गराउनुभयो । ‘यो एउटा गहन अन्याय हो, किनकि हाम्रो हरित गृह ग्यास उत्सर्जन न्यून भूमिका छ, हाम्रो ४६ प्रतिशत वन क्षेत्रले कार्बन उत्सर्जन रोक्नमा योगदान पुर्‍याउँछ, र हामीसँग हिमालयले प्राकृतिक रेफ्रिजरेटरको रूपमा काम गरिरहेको छ’, उहाँले भन्नुभयो ।

उहाँले प्रमुख उत्सर्जनहरूलाई जलवायु न्याय सुनिश्चित गर्न जिम्मेवारी लिन, वित्तीय स्रोतहरू प्रदान गर्न, प्रविधि हस्तान्तरण गर्न र विकासोन्मुख देशहरूलाई अनुकूलन र लचिलोपन निर्माणमा मद्दत गर्न आह्वान गर्नुभयो । ‘हामीलाई सजिलो पहुँचको साथ निष्पक्ष वित्त पोषण संयन्त्र चाहिन्छ’, ओलीले भन्नुभयो।

नेपाल पेरिस सम्झौताका लागि प्रतिबद्ध रहेको पनि ओलीले बताउनुभयो ।  नेपालले सन् २०४५ सम्ममा विश्वव्यापी लक्ष्यभन्दा पाँच वर्ष अगाडि नै शुद्ध शून्य उत्सर्जन हासिल गर्ने लक्ष्य राखेको उहाँले जानकारी दिनुभयो ।  उहाँले जलवायु प्रभाव र समाधानबारे छलफल गर्न विश्वव्यापी आवाजलाई एकसाथ ल्याउने उद्देश्यले नेपालले सन् २०२५ मा सगरमाथा संवाद आयोजना गर्न लागेको पनि उहाँले जानकारी दिनुभयो ।

जलवायु वित्त विकास वित्तका लागि अतिरिक्त हुनुपर्ने भन्दै ओलीले जलवायु कार्यका लागि ऋण लिनु विकासोन्मुख देशहरूका लागि घोर अन्याय हुने बताउनुभयो । जलवायु परिवर्तन मुख्यतया औद्योगिक राष्ट्रहरूले आफ्नो आर्थिक विकासको क्रममा जीवाश्म इन्धन जलाएको परिणाम भएकोले त्यसको जिम्मा पनि उनीहरूले नै लिनु पर्ने ओलीको धारणा थियो ।

जलवायु परिवर्तनको असरलाई नियन्त्रण गर्न विश्वव्यापी प्रयास आवश्यक रहेको उहाँले बताउनुभयो । त्यसको लागि नेपाल तयार रहेको ओलीले बताउनुभयो । ‘हामी मानिस र ग्रहको दिगो र न्यायपूर्ण भविष्य सुरक्षित गर्न हात मिलाऔँ’, प्रधानमन्त्री ओलीले भन्नुभयो ।