जनता टाइम्स

१० कार्तिक २०७६, आईतवार १२:०२

आफताव आलमको त्रासले चुप बसेकाहरु धमाधम प्रहरीको सम्पर्कमा, फेला पर्यो दोषी ठहरिने यस्तो प्रमाण


रौतहट, कात्तिक १० । बाह्र बर्ष अघि रौतहटमा कांग्रेस नेता मोहम्मद आफताव आलमले घटाएको बम काण्डको छानविन अन्तिम चरणमा पुगेको छ । घटनाको अनुसन्धान गरिरहेको रौतहट प्रहरीले घटनाबारे जानकार र पीडित पक्षसँग बयान लिई अनुसन्धानलाई निश्कर्षतिर पुर्याउन लागेको हो ।

रौतहट प्रहरी प्रमुख एसपी भूपेन्द्र खत्रीले अनुसन्धानका क्रममा देखेका, सुनेका र घाइते लगायतले सहयोग गरेको जानकारी दिनुभयो । ‘हामी थप प्रमाण जुटाउन लागिपरेका छौं, घटनासित सम्बन्धित मानिस सम्पर्कमा आउने क्रम जारी रहेकाले अनुसन्धान लम्बिएको हो,’ एसपी खत्रीले भन्नुभयो । ज्यानको जोखिमले नबोली बसेकाहरूले अहिले घटनाबारे धमाधम बताइरहेको पनि एसपी खत्रीले जानकारी दिनुभयो । सांसद आलमलाई कर्तव्यज्यान मुद्दामा गएको असोज २६ गते पक्राउ गरिएको हो ।

बम विस्फोटका घाइते, प्रत्यक्षदर्शी, विस्फोटबाट क्षति पुगेको गोठ मर्मत गर्ने कामदारलगायत सम्पर्कमा आएका व्यक्तिसँग बयान लिएर प्रहरीले पूर्वमन्त्री आलममाथिको अनुसन्धानलाई अन्तिम रूप दिने तयारी गरेको हो । प्रहरीका अनुसार सो घटनासित जोडिएका धेरै पात्र अहिले फेला परेका छन । १२ वर्षअघिको बम विस्फोटमा घाइते भएकालाई जिउँदै जलाएको आरोपमा पक्राउ परेका सांसद आलममाथि अनुसन्धान गर्न जिल्ला अदालत रौतहटले शुक्रबार तेस्रो पटक प्रहरीलाई थप ८ दिन म्याद दिएको छ । अव म्याद थप नगरी तिहारपछि सरकारी वकिलको कार्यालयमार्फत मुद्दा अदालतमा पेस गर्ने प्रहरीको तयारी छ ।

रौतहट सरुअठाका त्रिलोकप्रताप सिंह र ओसी अख्तर बम विस्फोटमा घाइते भएको र उनीहरूसहित थुप्रै ब्यक्तिलाई जिउँदै इँटाभट्टामा हालेको भन्दै परिवारजनले आलमलगायत विरुद्ध किटानी जाहेरी दिएका थिए । त्यस बेलाको घटनामा मारिएकाको संख्या भने यकिन हुन सकेको छैन । सिंगो राज्य संयन्त्र लगाएर घटना दवाउन लागेको कारण यस्तो अवस्था देखिएको हो । पहिलो सविधानसभा निर्वाचनको अघिल्लो दिन आलमकै गाउँ राजपुर फरदहवास्थित उनका काका शेख इद्रिसको गोठमा बम विस्फोट भएको थियो । विस्फोटमा परी घाइते भएकालाई इँटाभट्टामा जलाइएको आरोप आलममाथि छ । पछिल्लोसमय पनि आलमले त्यस दिन बिष्फोट नभएको बयान दिएका छन । तर बम विस्फोट नै नभएको भनी आलमले दिएको बयान झूटो भएको निश्कर्षमा प्रहरी पुगेको छ । झूटो बोले–नबोलेको पत्ता लगाउन प्रहरीले पोलिग्राफ परीक्षण गराउन खोज्दा आलमले इन्कार गर्दै आएका छन ।

अनुसन्धानमा संलग्न अधिकारीहरुका अनुसार आलमले तात्कालीन जिल्ला प्रहरी प्रमुख लक्ष्मण न्यौपानेकै सहयोगमा धेरै प्रमाण नष्ट गरेको पाइएको छ । रौतहट घटनाका बेला प्रहरी प्रमुख रहेका एसपी न्यौपानेको कैलालीको टीकापुर घटनामा बिभत्स रुपमा हत्या गरिएको थियो । घटना लुकाउन सहयोग गरेको भनिएका सशस्त्र प्रहरीका तत्कालीन एसपी रामकृष्ण लामा सेवानिबृत्त भइसकेका छन । तत्कालीन प्रमुख जिल्ला अधिकारी दुर्गा भण्डारीसमेत सेवानिवृत्त छन । उनीहरूसँग पनि बयान लिने प्रहरीले तयारी गरेको छ । घटनाका बेला राजपुरमा खटिएका तत्कालीन प्रहरी निरीक्षक इन्द्र सुवेदी र घटनापछि अनुसन्धान अधिकृत तोकिएका डीएसपी राजीव बस्नेतलाई सोधपुछका लागि रौतहट प्रहरीले बोलाइसकेको छ । हाल पोखरा गणमा कार्यरत डीएसपी सुवेदीलाई घटनास्थल पुग्नै लाग्दा एसपी न्यौपानेले सञ्चारसेट मार्फत तत्कालै जिल्ला बोलाएको अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले मृतकको कपडा र खरानी पनि जाँचका लागि पठाएको छ । घटनामा मारिएको भनी दाबी गरिरहेका दुवै परिवारबाट बाँकी रहेको कपडा संकलन गरी जाँचका लागि पठाइएको हो । घाइतेलाई जलाइएको भनिएको इँटाभट्टाको खरानी पनि परीक्षणका लागि पठाइएको छ । यसअघि तत्कालीन एसपी न्यौपानेले आलमलाई जोगाउन अर्कै इँटाभट्टाको माटो परीक्षणका लागि काठमाडौं पठाएको तथ्यसमेत खुलेको छ । आलमले प्रमाण नष्ट गर्न घाइतेलाई जलाइएको इँटाभट्टालाई मासेर खेत बनाइएको छ ।

प्रहरीले घटनासित जोडिएका धेरै पात्रसित लिइएको बयानबाट घटना भएको पुष्टि हुने बताएको छ । विस्फोटबाट क्षति पुगेको गोठलाई रातारात दुरुस्त पार्न खटेका मजदुरले समेत प्रहरीसमक्ष साबिती बयान दिएका छन । स्रोतका अनुसार उनीहरूले आफूले घरको मर्मत गरेको, अन्यत्रबाट माकुराको जालो ल्याएर पुरानो देखाउने प्रयास गरेको र उक्त घरमा भुस ल्याएर हाल्ने काम गरेको बयान दिएका छन ।

प्रहरीले घाइतेलाई जिउँदै जलाउँदा चिम्नीभट्टामा खटिएका कामदारको खोजी गरिरहेको छ । त्यस बेलाका मजदुरहरू धेरैजसो भारतीय रहेको प्रहरीले सुराकी पाएको छ । सर्वोच्च अदालतको मिसिलका साथै अधिकारकर्मीहरूको स्थलगत अध्ययन प्रतिवेदनले समेत घटना लुकाइएको र प्रहरीले फितलो अनुसन्धान गरेको निष्कर्ष निकालेको थियो ।