जनता टाइम्स

२४ बैशाख २०७६, मंगलवार १८:५८

संसदमा प्रधानमन्त्री ओलीको सात अठोट : यसरी पूरा हुन्छ समृद्धिको सपना


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले पूरा हुने र गर्न सकिने खालको सपना मात्रै देखेको प्रष्ट पार्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रममाथि उठाएका प्रश्नको दमदार जवाफ दिँदै प्रधानमन्त्री ओलीले सात अठोट पनि गर्नुभयो ।

‘सरकारले जागै हुँदा देख्ने सपनाको कुरा गरेको हो । देश बनाउने अठोटको सपना देखेको हो, निदाएको बेला देखिने तरंगित सपना होइन,’ प्रधानमन्त्रीले भन्नुभयो । प्रधानमन्त्रीले राति देख्ने सपना नभई देश बनाउने र भविष्य बनाउने सपनाको कुरा वर्तमान सरकारले गरेको बताउनु भयो । ‘एक वर्षका लागि के गर्न सकिन्छ, त्यसपछिका वर्षमा के गर्न सकिन्छ, कहाँ पुग्न सकिन्छ भन्ने सपना हो, दिगो विकास लक्ष्य गर्ने सपना हो, संयुक्त राष्ट्र सङ्घले देखेको सपना हो, यो सपना राति देखेको सपना होइन । यो त पूरा हुने सपना हो,’ प्रधानमन्त्री ओलीको भनाई थियो ।

संविधानले सामाजिक न्याय र समानताको परिकल्पना गरेको र सोही परिकल्पना पूरा गर्न नीति कार्यक्रम ल्याइएको पनि उप्रधानमन्त्री ओलीले प्रष्ट पार्नुभयो । ‘सामाजिक रुपमा रहेको कमजोरी, पछौटेपन हटाउने काम गरिएको छ । त्यसका निम्ति अनेक प्रकारको साम्प्रदायिक क्षेत्रीय संकीर्णता नभई व्यापक सामाजिक न्याय र समानतामा आधारित सामाजिक न्यायको जगमा उठेको राष्ट्रिय एकता र सबै मिलेर राष्ट्रलाई एक बनाउने विषयलाई नीति कार्यक्रमले लिएको छ,’ प्रधानमन्त्रीले भन्नुभयो ।

राष्ट्र निर्माण र समृद्धिका लागि शिक्षा र स्वास्थ्यका क्षेत्रमा नीति कार्यक्रमले जोड दिएको उहाँको भनाई थियो । सुशासन र भ्रष्टाचार नियन्त्रण विकासका निम्ति अपरिहार्य आवश्यकता रुपमा रहेको उल्लेख गर्दै उहाँले नीति कार्यक्रमका बारेमा अन्योलमा पर्नुपर्ने अवस्था नरहेको स्पष्ट गर्नुभयो । कृषिको आधुनिकीकरण र व्यवसायीकरण गरी कृषि क्षेत्रमा अल्झेको जनसंख्यालाई अन्य काममा लगाउन सकिने सम्भावना रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले कृषि उत्पादन र उत्पादकत्वको वृद्धि र प्रांगारिक कृषि खेतीतर्फ जोड दिइएको तथ्य राख्नुभयो ।

कृषिलाई व्यवस्थित र योजनबद्ध ढंगले अघि बढाउन गरेको सरकारको प्रयासका कारण यस वर्ष समग्र कृषि क्षेत्र ६ प्रतिशतले बढ्ने देखिएको प्रधानमन्त्री ओलीले जानकारी दिनुभयो । आफ्नो सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले समृद्धिको सपनादेखि सांसद र बिपक्षीले उठाएको हरेक प्रश्नको जवाफ दिनुभयो । प्रधानमन्त्री ओलीले जवाफ दिने क्रममा कतिपय सांसदहरुको अनुहार नै रातो देखिएको थियो ।

मेरो सरकार : भुलचुकले होइन, जानीबुझी

राष्ट्रपति बिद्यादेवी भण्डारीले संबोधनमा मेरो सरकार उल्लेख गरेको बिषयलाई बिपक्षीले आलोचनाको बिषय बनाएपछि प्रधानमन्त्री ओलीले सुबिचारित रुपमा जानीबुझी नै मेरो सरकार उल्लेख गरिएको बताउनु भयो ।

जन्मसिद्ध श्रेष्ठताको विषय ग्राह्य र गरिमा हुने तर जनताद्वारा निर्वाचित संस्था, सम्मानित निकायको मान्यता नहुने वा तिनको गरिमा नहुने प्रकारको मानसिकता त्याग्न पनि प्रधानमन्त्री ओलीले सवैलाई सुझाव दिनुभयो । ‘जनतादारा निर्वाचित जनप्रतिनिधिमा जुन गरिमा छ, स्वघोषितमा त्यस्तो गरिमा हुँदैन, जननिर्वाचित प्रणाली हामीले लडेर ल्याएका हौँ, जनता सार्वभौमसत्ता सम्पन्न हुने प्रणाली हामीले ल्याएका हौं,’ प्रधानमन्त्रीले भन्नुभयो ।

राष्ट्रपतिले ‘मेरो सरकार’ भन्नुभएकामा कुनै आश्चर्य नमान्न आग्रह गर्दै उहाँले राष्ट्र प्रमुखले त्यसो भन्नु अन्तराष्ट्रिय अभ्यास भएको प्रष्ट पार्नुभयो ।  ‘राष्ट्रपतिको सम्बोधनमा मेरो सरकार भन्ने शब्द भुलचुकले होइन, सुबिचारित ढंगले जानीबुझीकन राखिएको हो,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘राष्ट्रपतिले मेरो सरकार भनेरै सम्बोधन गर्नुपर्छ । तिमी भन्ने आँट पनि छैन, तपाई भन्न मन पनि छैन भनेर बीचबीचबाट सम्बोधन गर्ने होइन, राष्ट्रपतिले त्यसरी बोल्ने होइन, ढुक्कले भन्ने हो, मेरो देश, मेरो सरकार भनेर ।’

उहाँले राष्ट्रपतिको सम्बोधनको बिषयलाई नीति कार्यक्रममाथि कुनै बिरोध नपाएर गरिएको आलोचनाको रुपमा ब्याख्या गर्नुभयो । ‘गरिमामय संसदले पारित गरेको कानूनलाई राष्ट्रपतिबाट लालमोहोर लागेपछि कानून लागू हुन्छ । राज्य ब्यवस्थाको सर्वाेच्च र सम्मानित संस्था हो । अभिभावकीय भुमिकाको संस्था हो, त्यो संस्था साझा हुन्छ । त्यसकारण त्यो संस्थाले कस्को सरकार बन्यो भन्ने हुँदैन, जुन सरकार बन्यो, त्यो राष्ट्रपतिको सरकार हुन्छ,’ प्रधानमन्त्री ओलीको भनाई थियो । उहाँले प्रतिपक्षले पनि मेरै सरकार भन्दा फरक नपर्ने बताउनु भयो ।

‘राष्ट्रप्रमुखले आफ्नो देशको सरकारलाई मेरो सरकार भन्नु एकदम ठीक छ । यसमा अलमलिनु हुँदैन । साथीहरुलाई के लागेको देखियो भने निरंकुश तन्त्रमा मेरो सरकार भन्नु ठीकै हो, लोकतन्त्रमा मेरो सरकार भन्न पाइँदैन । तर राष्ट्रपतिको आफ्नै सरकार हो । प्रतिपक्षले पनि आफ्नै सरकार भन्दा हुन्छ । बजेटमा आउँछ, त्यसपछि त मेरो सरकार, आफ्नै सरकार भन्नैपर्छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो । उहाँले लोकतन्त्रको बिषयमा आलोकाँचो कुरा गरेर आफ्नो इतिहासलाई नै बदनाम नगर्न कांग्रेसलाई सुझाव दिनुभयो । ‘कांग्रेस जस्तो पार्टीले पनि लोकतन्त्रको सवालमा सारो आलोकाँचो काम गर्न मिल्दैन कि,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

प्रतिपक्षी दलका नेताले नीति कार्यक्रमको छलफलमा ‘बेलायती महारानीको जस्तो’ भन्दै राष्ट्रपतिमाथि गरेको टिप्पणी कूटनीतिक रुपमा समेत राम्रो नभएको उल्लेख गर्दैै उहाँले यसले नेपालको विकास साझेदार मुलुकको भावनामा चोट पुर्याएको बताउनुभयो । ‘बिपक्षी दलको नेताले बेलायतको महारानी जस्तो भनेर हाम्रो मित्रराष्ट्र बेलायत खराव छ भन्ने भाव राख्नुहुन्न कि,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

उहाँले राष्ट्रपति जस्तो संस्थालाई विवादमा ल्याउन नहुनेमा जोड दिनुभयो । ‘राष्ट्रपति राज्य, व्यवस्थाको सर्वोच्च सम्मानित संस्था हो, त्यो संस्था साझा हुन्छ, कुन पार्टीले सरकारले नेतृत्व गरेको छ भन्ने फरक विषय हो, राष्ट्रपतिले मेरो सरकार भन्नु कुनै भुल होइन । राष्ट्रप्रमुखले आफूमातहतका सरकारलाई मेरो सरकार भन्नुमा अलमलिनु हुँदैन,’ प्रधानमन्त्री ओलीले भन्नुभयो । वर्तमान सरकारलाई प्रतिपक्षले पनि आफ्नै सरकार भने हुने प्रधानमन्त्री ओलीको भनाइ थियो ।

आवश्यकताका आधारमा संबिधान संशोधन

प्रधानमन्त्रीले आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन हुने प्रष्ट पार्नुभयो । संविधान असंशोधनीय दस्तावेज नभएकाले औचित्य र आवश्यकताका आधारमा देशको हितलाई केन्द्रमा राखेर संशोधन गरिने स्पष्ट पार्नुभयो । ‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई चलायमान बनाउन जहिले पनि संविधान संशोधन हुन सक्छ,’ प्रधानमन्त्रीले भन्नुभयो ।

संविधान संशोधन जुनसुकै मौसममा पनि गाउने गीत जस्तो भएको टिप्पणी पनि गर्नुभयो । ‘के –केमा, कुन–कुन विषयमा संशोधनको आवश्यकता पर्यो छलफल गरौँ, सरकार तयार नै छ, तर संविधान संशोधन कुनै लहडको विषय होइन,’ प्रधानमन्त्री ओलीले भन्नुभयो । राम्रा उद्देश्यका साथ सबै पक्षसँग छलफल गरेर संशोधन गर्न सकिनेमा उहाँको जोड थियो ।

कम्युनिष्टले गरीबी मात्रै वितरण गर्दैन

कम्युनिष्ट सिद्धान्तलाई गरीबीको वितरण हो भनेर भन्ने गरिए पनि त्यस्तो प्रचार गर्नेहरू कमजोर भएको बताउँदै उहाँले समृद्धि र आर्थिक विकासको मार्गमा समेत देशलाई अगाडि बढाउने संकल्प लिएको स्पष्ट गर्नुभयो । ‘कोही पनि नेपाली पछाडि पर्नुहुँदैन, सबै पक्ष, सबै ठाउँमा पुगेको पूर्ण लोकतन्त्र भन्दा चित्त दुखाउनुपर्ने ठाउँ छैन । सबैका लागि लोकतन्त्र भन्दा तानाशाहीकरण गर्न खोजेको भनेर शंका नगर्न आग्रह गर्दछु,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

अतिकम विकसित मुलुकको स्तरबाट मुक्त हुने र मध्यमस्तरको आय भएको मुलुकका रुपमा अघि बढ्ने, दीर्घकालीन योजना र दिगो विकास लक्ष्य हासिल गरेर अघि बढ्ने तथा यो शताब्दीको अन्त्यसम्म गर्नुपर्ने कामका सम्बन्धमा निश्चित लक्ष्य लिएर सरकार अघि बढ्न खोजेको उहाँको भनाइ थियो । बढ्दो व्यापार घाटा न्यूनीकरण गर्न सरकार सजग रहेको प्रष्टोक्ति दिँदै उहाँले आयात प्रतिस्थापन गर्न उत्पादन वृद्धिमा ध्यान दिइएको बताउनुभयो ।

लगानी गर्दा उत्पादन र रोजगारी वृद्धि, आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्न नीति कार्यक्रमले दिशानिर्देश गरेको प्रधानमन्त्री ओलीको भनाई थियो । निर्माण सामग्री खरीद गर्दा केही व्यापार घाटा बढेको देखिएको भए पनि त्यो भयावहस्थिति नभएको उहाँले स्पष्ट पार्नुभयो ।सरकारले शान्ति सुव्यवस्था कायम गर्न प्रभावकारी काम गरेको, पृथकतावाद अन्त्य गरेको, सामाजिक सुरक्षा, रोजगारीका अवसर सिर्जना र थुप्रै युगान्तकारी कार्यक्रम समेत शुरु भएको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

सार्वजनिक सम्पत्तिमा संझौंता हुन्न

सरकार सार्वजनिक सम्पत्तिको संरक्षण गर्न दत्तचित्त भएर लागेको प्रधानमन्त्री ओलीको भनाई थियो । ‘यो सरकार बनेपछि खुलामञ्च मासेको हो र ? खुलामञ्च त अगाडि नै मासिएको थियो, अहिले खुलामञ्चलाई फिर्ता ल्याइएको छ । बालुवाटारको जग्गा अहिले मासिएको हो र ? भएको जग्गा खोजिएको छ, वाइडबडी तथा विभिन्न घोटालाको पनि हाल छानबीन भइरहेको छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

यस्तै प्रधानमन्त्री ओलीले सुन तस्करीको सञ्जाल नष्ट गर्दै त्यसमा संलग्नलाई नियन्त्रणमा लिइएपछि सुन तस्करी बन्द भएको बताउनुभयो । ‘सरकारले सुन तस्करीको प्वाल टाल्यो, तस्करीमा संलग्न समातिएर जेलमा छन,’ प्रधानमन्त्री आलीको भनाई थियो ।
अनुपयोगी ढंगले रहेको सार्वजनिक जमीनको सदुपयोग गर्न सरकार अघि बढेको प्रष्टोक्ति दिँदै प्रधानमन्त्रीले आवश्यकतानुसार सार्वजनिक सम्पत्तिको सदुपयोग गर्न लागिएको बताउनुभयो ।

ठेक्कामा विलम्ब हुन दिइन्न

प्रधानमन्त्री ओलीले मुलुकको विकासनिर्माणको स्थिति बिग्रेको उल्लेख गर्दै अब ठेकेदारको क्षमतानुसार मात्र ठेक्का दिइने बताउनुभयो । ‘अब विकास निर्माणमा विलम्ब स्वीकार्य हुँदैन, ठेक्का लगाउँदा मूल्यको प्रतिस्पर्धा होइन, समय र गुणस्तरको प्रतिस्पर्धा हुनुपर्छ, यसमा सरकार गम्भीर ढंगबाट अघि बढ्छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

महिला हिंसा सह्य छैन

प्रधानमन्त्री ओलीले महिलामाथि कुनै प्रकारको हिंसा हुन नदिइने प्रतिबद्धता पनि ब्यक्त गर्नुभयो । महिलामाथि हिंसा भएमा पीडकमाथि कडा कानूनी कारवाही गरिने उहाँको भनाई थियो । महिलाको सशक्तीकरणका लागि थुप्रै कार्यक्रम ल्याइएको जानकारी दिँदै उहाँले महिलाको समस्याका रुपमा रहेको स्तन क्यान्सरको निःशुल्क परीक्षण गर्न सक्ने व्यवस्था मिलाइएको बताउनुभयो ।

‘सबै सामुदायिक विद्यालयमा निःशुल्क सेनेटरी प्याड वितरण, महिला उद्यमीको क्षमता वृद्धि, सम्पत्तिको अधिकार बढाउन विविध कार्यक्रम ल्याइएको छ,’ उहाँले भन्नुभयो । पूर्वाधार, कृषिको विकास, विद्युतीकरण र पर्यटनको विकास गर्नु नीति कार्यक्रमको प्राथमिकता रहेको दोहोर्याउँदै उहाँले डिजिटल नेपाल र साक्षर नेपाललाई सार्थक बनाउन सरकार क्रियाशील रहेको प्रष्ट पार्नुभयो ।

नेपालमा अब निरपेक्ष गरीबी एक दुई वर्षभन्दा अगाडि नजाने पनि उहाँले प्रष्ट पार्नुभयो । ‘अब कोही भोकै मर्दैन, भोकै पर्दैन, आवासविहीन हुँदैन, आधारभूत शिक्षा निःशुल्क र खाजाको समेत व्यवस्था गरेका छौँ । स्वाथ्य बीमा कार्यक्रम ल्याइएको छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो । सडकमा अलपत्र बेसहारा, अशक्त, अपांगता भएका व्यक्तिको सरकारले संरक्षण गर्ने उहाँको भनाइ थियो ।

प्रधानमन्त्रीले आगामी आर्थिक वर्षभित्र मेलम्ची खानेपानी आयोजना सम्पन्न गर्ने गरी प्रक्रिया अगाडि बढाइने जानकारी पनि दिनुभयो ।प्रधानमन्त्री ओलीले नीति कार्यक्रममा उल्लेखित बिषय पूरा गर्न सरकारले स्पष्ट मार्गचित्र ल्याएको तथ्य पनि राख्नुभएको थियो ।