आन्दोलनको नाममा बाटोमा सुतेर, नाचेर, गीत गाएर, जादु देखाउने, विद्यालय बन्द गर्ने, विद्यार्थीको भविष्यमाथि खेलबाड गर्ने शिक्षकहरूलाई किन कारबाही नगरेको ? यो प्रश्नको जवाफ नागरिक सोधिरहेका छन । सरकारले समयमै यसको सम्बोधन गर्नुपर्छ । यस्तै अहिले आम नागरिकको एउटै प्रश्न छ, ‘गुरुहरु नै झोलामा हात्ती हाल्देऊ भन्ने ?’ यो प्रश्नको जवाफ गुरुहरुले ब्यवहारबाटै दिन जरुरी छ ।
रुषा थापा
आम सर्वसाधारण यतिबेला सरकारलाई सोधिरहेका छन, ‘हामीले यत्रो वर्षदेखि तिरेको कर खोई ? विदेशीबाट नेपालीले रगतपसिना बगाएर पठाएको रेमिट्यान्स कहाँ गयो ? नेपाली भूभाग भारत र चीनलाई बेचेर ल्याएको पैसा खोई ? विदेशीसँग लिएको २७ खर्ब ऋण कहाँ लगियो ? निर्माण व्यवसायीको ४५ अर्ब, कोरोना महामारीको २४ अर्ब र दुग्ध तथा उखु किसानको सात अर्ब किन तिर्न सकिएन ? सरकारी, सार्वजनिक गुठीका जग्गा कहाँ गयो ?’
यी सबै प्रश्नको एउटै जवाफ छ, नेता, निजामति कर्मचारी र शिक्षकहरूको पढाउनेबाहेकको सवै काम र सडकमा मस्ती । सबैलाई राज्यको ढुकुटी चुस्ने बानी परेको छ । काम नगर्ने तर तलबचाँहि चाहिने । मुलुक डामाडोल अवस्थामा पुगिसकेको छ । अर्थतन्त्र दिनप्रति दिन नाजुक अवस्थामा पुगेको छ । यस्तो अवस्थामा शिक्षकहरू सेवासुविधा र तलब बढाउनुपर्ने भन्दै तीन सातायता आन्दोलनरत छन ।
अर्थतन्त्रको अवस्था हेर्दा यिनीहरूलाई अहिले दिइरहेकै सेवासुविधा समेत कटौती गर्नुपर्ने बाध्यात्मक अवस्थामा सरकार छ । तर, शिक्षकहरू सेवासुविधा नबढाई सडक छोड्न तयार छैनन् । अर्को कुरा आफ्नो स्वार्थका निम्ति शिक्षकहरूले लाखौं बालबालिकाको भविष्य अन्धकार पार्ने काम गरिरहेका छन । जनताले तिरेको करबाट तलबभत्ता खाएर उनीहरूकै छोराछोरीको भविष्यमाथि खेलबाड गर्ने गम्भीर षडयन्त्र भइरहेको छ ।
आन्दोलनको नाममा पछिल्लो समय राजधानीमा शिक्षकहरूको रमिता चलिरहेको छ । सडक कब्जा गरेर लाखौं नागरिकलाई दुःख, हैरानी दिई बाटोमा सुत्ने, नाचगान गर्ने, जादु देखाउनेजस्ता नौंटकी भइरहेको छ आदरणीय गुरुजनहरूबाटै । आन्दोलनको नाममा जनतालाई दुःख दिनुका साथै विद्यार्थीको भविष्यमाथि शिक्षकहरूले खेलबाड गरिरहँदा सरकार के हेरेर बसिरहेको छ ? स्थानीय सरकार किन मौन छ ? प्रदेश सरकार किन चुपचाप हेरिरहेको छ ? संघीय सरकारले किन शिक्षकहरूको विरोधमा कदम अघि नचालेको ?
अहिले शिक्षकहरूलाई कारबाही गर्न चारैतिरबाट आवाज उठिसकेको छ । भविश्यका कर्णधार बालबालिकाको भविष्य अन्धकारमा पारेर सडकमा रमिता देखाएपछि कारबाहीको आवाज उठ्नु स्वभाविक पनि हो । त्यसैले, अब सरकारले संभव भएको माग पूरा गर्ने र अटेरी गरे शिक्षकहरूलाई तत्काल कारबाहीको दायरामा ल्याउनुपर्छ ।
शिक्षकहरूका कारण राजधानीको ट्राफिक जाम अस्तव्यस्त भएको यत्रो दिन भइसक्यो । ब्यापार ब्यवसाय चौपट हुन थालिसक्यो । दिनहुँ आम नागरिक हिँडेर कार्यस्थल जान बाध्य भएका छन् । तर, सुरक्षाकर्मी न सडक खाली गराउँछन न शिक्षकहरूलाई कारबाही नै गर्छन । शिक्षक र सुरक्षाकर्मी दुवैले जनताले तिरेको करबाट तलकभत्ता खाइरहेका छन् । अहिले हेर्दा यी दुवैमा जनताको लगानी बालुवामा पानी बराबर देखिएको छ ।
शिक्षक आन्दोलनका नाममा माइतीघर–नयाँ बानेश्वर सडकखण्ड अवरुद्ध भएको यतिधेरै दिन भइसकेको छ । राजधानीको मुख्य सडक नै अवरुद्ध हुँदा जनता मर्कामा परेका छन । आन्दोलनका कारण लाखौं सर्वसाधारणले दुःख, हैरानी पाइरहँदा स्थानीय प्रशासन किन सो क्षेत्रमा निषेधाज्ञा जारी गर्दैन ? किन खाली चौरमा आन्दोलन गर्नु भनेर निर्देशन दिँदैन ?
अब स्थानीय प्रशासन वा गृह मन्त्रालयले माइतीघर–नयाँ बानेश्वर सडकखण्डमा तत्काल निषेधाज्ञा जारी गर्नुपर्छ । शिक्षकहरूलाई सिफल, तीनकुने चौर वा टुँडिखेलमा आन्दोलन गर्न लगाउनुपर्छ । शिक्षकहरूका कारण लाखौं बालबालिकाको भविष्य अन्यौलमा परेको छ । कक्षा १२ को परीक्षा सार्नुपरेको छ । जसका कारण परीक्षा कुरेर बसेका लाखौं विद्यार्थी निराश भएका छन् । उता, विद्यालयहरूमा भर्ना प्रक्रिया अघि बढ्न सकेको छैन ।
निजी विद्यालयहरूमा धमाधम विद्यार्थी भर्ना भइरहेका छन् । अरुका छोराछोरी निजीमा भर्ना भई विद्यालय गएको देख्दा आर्थिक अवस्था कमजोर भएका सरकारी विद्यालयमा छोराछोरी पढाउने अभिभावकहरू दुःखी छन । कहिले विद्यालय खुल्ला ? भनेर कुरेर बसिरहेका छन उनीहरू । एसईईको परीक्षा दिएर घरमा बसेका विद्यार्थीहरू पनि कक्षा ११ मा भर्ना हुन नतिजाको पखाईमा छन । तर, शिक्षकहरूले आफ्नो स्वार्थका निम्ति यत्रो बालबालिकाको भविष्यमाथि असर पर्ने गरी कामकाज ठप्प पर्दा सरकार निरीह छ ।
स्थानीय सरकारहरू अहिले पनि शिक्षकहरूको खातामा तलब हालिरहेको छ । उनीहरूले विद्यार्थी पढाएका छन र, तलब हालिदिन ? अब शिक्षकहरूको तलब रोक्का गर्नुपर्छ । विद्यालय नफर्किए तलब नदिने वा नियुक्तिपत्र नै खारेज गरिदिने भन्नुपर्छ, स्थानीय सरकारहरूले । शिक्षक आन्दोलनका कारण माइतीघर–नयाँ बानेश्वर सडकमा सार्वजनिक तथा निजी सवारीसाधन चल्न पाएको छ । त्यहाँ गुड्ने गाडीलाई ड्राइभर्ट गर्ने गरिएको छ । जसका कारण त्रिपुरेश्वर, थापाथली, रत्नपार्कलगायत स्थान जानुपर्नेहरू कोटेश्वरदेखि नै हिँडेर जानुपर्ने अवस्था छ ।
उताबाट यता आउनेहरू पनि हिँडेरै आउजाउ गर्न बाध्य छन । गाडीमा २० मिनेटमा पुग्ने ठाउँमा हिँडेर जाँदा झण्डै एक घण्टा नै लाग्छ । अर्कोतिर थकाई पनि लाग्छ । वृद्धवृद्धा, ससाना बालबच्चा भएका महिलाहरू काँधमा बोरा र हातमा झोला बोकी रत्नपार्कदेखि कोटेश्वरबाट गाडी चढ्न हिँडेर आइरहेको देख्ने गरिन्छ । शिक्षकहरूले आन्दोलनको नाममा आम नागरिकलाई दुःख, हैरानी, हष्ट दिइरहँदा सरकार भने चुपचाप छ । न सडक खाली गराउन पहल गर्छ न शिक्षकहरूमाथि कारबाहीको डण्डा नै चलाउँछ ।
सरकार शिक्षकसामु लम्पसार परेको छ । अहिले बाटो हिँड्ने सर्वसाधारण भन्छन, ‘अब सरकारले शिक्षकलाई कारबाही नगरे हामी गछौं ।’ अभिभावक र विद्यार्थी पनि भन्छन, ‘हामी अब सडकमा उत्रिनछौं ।’ शिक्षकहरूको रमिता धेरै भएको भन्दै जनता आक्रोशित बनिसकेका छन् । तत्काल सडक खाली गरी शिक्षकहरूलाई विद्यालय पठाउन र अटेरी गरेमा धमाधम कारबाही गर्न जनता सरकारसँग माग गरिरहेका छन ।
सरकारले अब शिक्षकहरूलाई कारबाही गर्न ढिलो गरे जनता सडकमा उत्रिने छन । लाखौं लाख विद्यार्थी र अभिभावक सडकमा आउने छन् । तब शिक्षकहरूको भागाभाग चल्ने छ । अनि अहिले खाइरहेको जागिरसमेत धरापमा पर्नसक्छ । त्यसैले, शिक्षकहरू पनि सचेत हौं । अझै समय छ, विद्यालय फर्कियौं । शिक्षकहरूलाई हौसाउनेमा दलका नेतादेखि मिडियासम्म देखिए ।
माग नाजायज छ भन्ने सत्यबारे जानकार भएपनि नाजायज भनेर कसैले भनेनन राष्ट्रिय दैनिक पत्रपत्रिकाहरूले जनताको पक्षमा नलेखी भ्रष्ट, काम चोर शिक्षकहरूको पक्षमा लेखे । जसका कारण शिक्षकहरूलाई आन्दोलन गर्न थप प्रोत्साहन मिल्यो । अहिले त्यसैको नतिजा देखिँदैछ । जनता दैनिक पत्रिकाका पत्रकारलाई सोध्छन, ‘शिक्षकहरूको माग राम्ररी हेर्नुभएको छ ? कि हचुवाको भरमा लेखिरहनुभएको छ ?’
शिक्षकहरूको माग पूरा गर्न सकिने खालकै छैन । त्यो माग पूरा गरिए भोलि देश नै संकटमा पर्नसक्छ । फेरि शिक्षकहरूको माग पूरा गरेपछि अरुको पनि गर्नुपर्ने अवस्था आउँछ । कर्मचारीहरूमा आन्दोलन गरिए आफूहरूको जस्तोसुकै माग पनि सरकारले पूरा गर्छ भन्ने भाष्य सिर्जना हुन्छ । शिक्षकको नाजायज मागका कारण जनताको छोराछोरीको भविष्य अन्यौलमा परेको मुलधारका पत्रकारहरूले देखेनन । सामुदायिक विद्यालयको अवस्था खस्किँदै गएको पनि देखेनन । आन्दोलनका कारण नागरिकले दुःख, हैरानी पाएकोसमेत देखेनन् । उनीहरूले देखे त मात्रै शिक्षकहरूको माग । फेरि ती माग तर्कविहीन छन् । त्यस्ता माग पूरा गर्न थालिए देशको ढुकुटी नै रित्तिने छ ।
शिक्षकहरू आफ्नो दायित्व पूरा नगर्ने अनि सेवासुविधा चाँहि बढाउनुपर्ने भन्ने ? देशमा गरिब र बेरोजगारी दिनहुँ बढिरहेको छ । रोजगारीको खोजीमा दिनहुँ हजारौंको संख्यामा युवाहरू विदेशिएका छन् । राज्यको ढुकुटी रित्तिँदा विदेशी ऋणको भारी बोक्नुपरेको छ । अनि यी सबै विषय उठान गर्नुको साटो पत्रकारहरू चाँहि शिक्षकहरूको पक्षमा कलम चलाइरहेका छन, बोलिरहेका छन । अहिले पत्रकारहरूकै योग्यतामाथि प्रश्न उठ्न थालेको छ । किनकि देशको अवस्थाबारे थाहा नभएको व्यक्ति कसरी पत्रकार हुन्छ ? पत्रकार देशको चौथों अंग हो । देश र जनताको पक्षमा पत्रकारले कलम चलाउनुपर्छ । भ्रष्ट, काम चोरको पक्षमा होइन । त्यसैले, अब पत्रकारहरूले आफ्नो धर्म निर्वाह गरौं । शिक्षकहरूको नाजायज मागको पक्षमा नलेखौं ।
अव स्थानीय सरकारहरू पनि तात्नुपर्यो । शिक्षकहरूमाथि कारबाही प्रक्रिया अघि बढाउनुपर्छ । यसो गरिए शिक्षकहरूको आन्दोलन तुहिने छ । अनि उनीहरूको नाजायज माग सरकारले पूरा पनि गर्नुपर्दैन । देशमा कानून छ । अनि आन्दोलनको नाममा बाटोमा सुतेर, नाचेर, गीत गाएर, जादु देखाउने, विद्यालय बन्द गर्ने, विद्यार्थीको भविष्यमाथि खेलबाड गर्ने शिक्षकहरूलाई किन कारबाही नगरेको ? यो प्रश्नको जवाफ नागरिक सोधिरहेका छन । सरकारले समयमै यसको सम्बोधन गर्नुपर्छ । यस्तै अहिले आम नागरिकको एउटै प्रश्न छ, ‘गुरुहरु नै झोलामा हात्ती हाल्देऊ भन्ने ?’ यो प्रश्नको जवाफ गुरुहरुले ब्यवहारबाटै दिन जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्