जनता टाइम्स

२५ बैशाख २०७६, बुधबार ११:४८

काठमाण्डौं मलको घोटलाको विषयमा संचयकोषलाई लेखा समितिको पत्र


काठमाण्डौं, बैशाख २५

संघिय संसद प्रतिनिधि सभाको लेखा समितिले काठमाण्डौं मलमा भएको घोटलाको छानविनको लागि सञ्चयकोषलाई पत्र काटेको छ । द काठमाण्डौं मल व्यापार संघले मलमा घोटला भएको भन्दै लेखा समितिमा उजुरी गरेको थियो ।

द काठमाण्डौं मल व्यपार संघका अध्यक्ष सुषमा महरा र सल्लाहकार उज्जल जंग शाहले मलमा भएको घोटलाको विषय उठाउँदा उहाँहरुमाथि आक्रमण भएको थियो । उहाँहरुले जिल्ला प्रशासन कार्यलय ,अख्तियार र लेखा समितिमा उजुरीको गरेको भन्दै बैशाख ३ गते आक्रमण भएको अध्यक्ष सुषमा महराले बताउँदै आउनु भएको छ ।

काठमाण्डौं मलको सञ्चालन जिम्मा संचयकोषले लिएपछि काठमाण्डौं मलका बाहिरी टहरा खाली गर्न तथा मल भित्रका व्यपारीलाई हटाई कर्पोरेट अफिसहरु राख्ने योजना बनाएपछि सुषमा महराको नेतृत्वमा तदर्थ समिती गठन भयो । द काठमाण्डौं मल व्यपार संघ अध्यक्ष सुषमा महराले १५ वर्षको टेन्डर पारी आएका काठमाण्डौं मलका व्यवसायीलाई विना क्षतिपुर्ति हटाउन नमिल्ने भन्दै सञ्चय कोषमा समेत धर्ना समेत दिनु भएको थियो । उहाँले काठमाण्डौं मलका व्यवसायीको हितमा आन्दोलन गर्दै गर्दा काठमाडौं मलका पुराना ठेकेदार प्रविर शमशेरले द काठमाण्डौं व्यापार संघ मार्फत साँढे १२ करोड भन्दा बढी रकम पाउनु पर्ने अदालतको निर्णयसहितको पत्र लिएर आएपछि काठमाण्डौं मलमा हंगामा फैलिएको थियो ।

संघका अध्यक्ष सुषमा महराले मलका व्यवसायीहरुलाई ५ वर्ष सहज व्यवसाय गर्ने वातावरण बनाउनु पर्ने र संघ स्थापना पछिको सम्पूर्ण हिसाब स्पष्टरुपमा खोज्न थाले पछि हाल संघमा आवद्ध पुराना सदस्यहरुले राजिनामा दिएका थिए ।

मलका पुराना ठेकेदार प्रविर शमशेरको पत्रको आधारमा द काठमाण्डौं मल व्यपार संघले लेखा समितिमा उजुरी गरेको थियो ।

२०७१ मंसीर ५ देखि द काठमाडौं मल व्यापार संघ र प्रविर शमसेर राणाबीच सम्झौता भई मलको भाडा द काठमाडौं मल व्यापार संघले कर्मचारी संचय कोषलाई बुझाउने सहमति भएको थियो जुन संचय कोषले समेत स्वीकार गरी सकेको थियो । तर व्यापार संघबाट सिधै संचयकोषमा भाडा बुझाउने सहमति भए पनि पनि २०७२ असोजसम्म १२ करोड ६२ लाख ६५ हजार रुपैयाँ कर्मचारी संचय कोषले रकम नलिएको भनी राणाबिरुद्ध मुद्दा पाटन अदालत मुद्दा हालेको थियो ।

२०७१ मंसीर ५ देखि २०७२ असोज १२ सम्म द काठमाडौं मल व्यापार संघले बाहाल बापत उठाएको तर संचय कोषलाई नदिएको १२ करोड ६२ लाख ६५ हजार संघबाट भराई पाउ भनी राणाले सुषमा महराको नामा पत्र काटेका थिए ।