जनता टाइम्स

२५ बैशाख २०७६, बुधबार १७:२२

नयाँ शक्तिकी केन्द्रीय सदस्य नेकपामा प्रवेश, अन्य नेता कार्यकर्तापनि आउदै


काठमाडौं, वैशाख २५

पूर्वसभासद् एवं तत्कालीन नयाँ शक्तिकी केन्द्रीय सदस्य सीमा बिक नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गर्नुभएको छ ।

बुधबार धुम्बाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल र महासचिव विष्णु पौडेलले नेतृ बिकलाई स्वागत गर्नुभयो । बिक राष्ट्रिय जनमुक्ति पार्टीबाट सभासद् बन्नुभएको थियो । जनमुक्ति पार्टी फुटेर शिवलाल थापा नेतृत्वमा राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक) बनेपछि त्यसमा सहभागी हुदै डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा प्रवेश गर्नुभएको थियो ।

पूर्वसभासद् बिकले भट्टराई नेतृत्वको पार्टीले लिएको एजेन्डा पूरा नगरेकोले आफू नेकपामा प्रवेश गरेको बताउनु भयो । नयाँ शक्तिका अन्य नेता, कार्यकर्ताहरु नेकपामा प्रवेश गर्ने लाइनमा रहेको उहाले जानकारी समेत दिनुभयो । नयाँ शक्ति पार्टी संघीय समाजवादी फोरममा मिसिन गएपछि केन्द्रीय तहका नेताहरु समेत असन्तुष्ट बनेका छन् । असन्तुष्ट मदन राई, कल्पना धमला, रामरिजन यादव, देवेन्द्र पराजुली लगायत नेताले बुधबार ललितपुरमा बेग्लै बैठकसमेत गरेका छन् ।