जनता टाइम्स

२८ कार्तिक २०७६, बिहीबार १०:५३

रुप ज्योतिको मुद्दा मिलापत्रमार्फत मिल्दै


काठमाडौँ, कात्तिक २८

व्यवसायी रूप ज्योतिलगायत उनको परिवारविरुद्ध दर्ता भएको ठगीको जाहेरी ‘मुद्दा नचल्ने’ गरी टुंगिने भएको छ । ज्योति परिवारले जाहेरीकर्ता विज्ञेन्द्रकृष्ण मल्ललाई जग्गा बैनाबापतको रकम फिर्ता दिई चित्त बुझाएपछि उनले जाहेरी फिर्ता लिन निवेदन दिएका छन् ।

दुवै पक्ष मिलापत्रमा सहमत भएपछि प्रहरीले ठगी मुद्दा नचलाउने रायसहित जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको छ । ‘हामीकहाँ मुद्दा नचल्ने रायसहित प्रतिवेदन आएको हो,’ सरकारी वकिलको कार्यालय काठमाडौंका प्रमुख चन्द्रकान्त खनालले भने, ‘राय अध्ययन गरेर थप अनुसन्धान गर्न निर्देशन दिने सोचेका छौं, फेरि राय आएपछि केही निर्णय होला ।’

महानगरीय प्रहरी परिसर काठमाडौंका एक प्रहरी अधिकारीले बिहीबार अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस हुन सक्ने बताए । ठगी, बैंकिङ कसुर मुद्दा अनुसन्धान चलिरहेको अवस्थामा पीडित पक्षले क्षतिपूर्ति पाए मिलापत्रमार्फत मुद्दा नचल्ने निर्णय गर्न सकिने कानुनी व्यवस्था रहेको उनले उल्लेख गरे । त्यसो भएमा जिल्ला सरकारी वकिलको कार्यालयले गर्ने निर्णय उच्च सरकारी वकिलको कार्यालय हुँदै महान्यायाधिवक्तासम्म पुगेर सदर हुनुपर्छ । उनले भने, ‘यसमा जाहेरीकर्ता सन्तुष्ट भएको हुनुपर्छ, कति रकममा मिलापत्र गरे भन्नेबारे रायमा अंक किटान हुनुपर्ने व्यवस्था छैन ।’

यस्तो थियो घटना ?

जाहेरीकर्ता विज्ञेन्द्रकृष्ण मल्लले ल्यान्डमार्क डेभलपर्स कम्पनीले बनाएर बेच्ने भनेको घर किन्न एक करोड ३६ लाख रुपैयाँ बैना गरेका थिए । उनले बैना रकम ल्यान्डमार्क नभई सीई कन्स्ट्रक्सनका महाप्रबन्धक शम्भुप्रसाद फुयाललाई बुझाए । सीईले घर निर्माण गरेर ल्यान्डमार्कलाई दिने भन्ने व्यवस्था थियो । पछि एकाएक ल्यान्डमार्कले जग्गा नबेच्ने निर्णय गर्‍यो । सीईले पैसा फिर्ता लिन आग्रह गर्‍यो । तर बैना बुझाइसकेका मल्लले आफूले बैनाबापत दिएको पुरानो रकम लिन अस्वीकार गरेर घर नै चाहिने अडान राखे । कुरा नमिलेपछि प्रहरीमा उजुरी दिए ।

विवाद प्रहरीमा पुगेपछि सीई कन्स्ट्रक्सन बैना फिर्ताका लागि तयार भएको थियो । मागेजति रकम नपाएपछि मल्लले प्रहरीमा उजुरी गरे । प्रहरीले अनुसन्धानका क्रममा व्यवसायी रूप ज्योतिलाई प्रहरी वृत्तमा बोलायो । ‘आफूसँग सरोकार नै नभएको विषयमा बोलाएको’ भन्दै छानबिन रोक्ने निषेधाज्ञाको मागसहित उनी जिल्ला अदालत काठमाडौं पुगे ।

अदालतले उक्त निवेदनमाथि सुनुवाइ गर्दै उनीहरूको विषय देवानी प्रकृतिको भएको निर्क्योल गर्‍यो । रूप ज्योतिले आफूले दिनुपर्ने रकम भन्दै १ करोड २८ लाख रुपैयाँ लगेर अदालतमा ‘झुन्ड्याइदिएका’ थिए । दोस्र्रो पटक मल्लले जिल्ला प्रशासन कार्यालयमा दिएको निवेदन ‘फरवार्ड’ भएर प्रहरीमा पुग्यो । प्रहरीले दोस्रो पटक पक्राउ गर्न खोजेपछि रूप ज्योतिले त्यसलाई रोक्न निषेधाज्ञाको माग राखी सर्वोच्च अदालतमा निवेदन दिए । न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले रूप ज्योतिलाई पक्राउ नगर्न गत मंसिर २५ गते अन्तरिम आदेश दियो । तर एघार महिनापछि गत कात्तिक १८ गते प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित न्यायाधीश प्रकाश ढुंगानाको इजलासले निवेदन खारेज गरिदियो ।

सर्वोच्चले निवेदन खारेज गरेलगत्तै मल्लले प्रहरीमा रूप ज्योतिलगायत विरुद्ध ठगी गरेको आरोपमा पूरक निवेदन दिए । प्रहरीले सिंगापुरबाट आउँदै गर्दा विमानस्थलमै रूप ज्योति र उनकी छोरी सुरुचिलाई पक्राउ गर्‍यो । रूप ज्योतिले प्रहरीसँगको बयानमा ‘विज्ञेन्द्रकृष्ण मल्लले पैसा लिन नमानेको, उसको जति रकम दिनुपर्ने हो, आफू दिन तयार रहेको’ भनी बताएको स्रोतको भनाइ छ । मल्लले भने जे विषयवस्तुमा सम्झौता भएको हो, त्यही चाहिने दाबी गरेका थिए । मल्ललाई दिने भनेको घर ज्योति परिवारको नाममा पास भइसकेको छ । सुरुचि दरबारमार्ग प्रहरी हिरासतबाटै ग्रान्डी सिटी अस्पतालमा छिन् भने रूप ज्योति टेकु प्रहरीको हिरासतमा ।

ठगी पक्राउको विरोधमा निजी क्षेत्रका संघसंस्थाले विज्ञप्ति जारी गरी विरोध जनाउँदै आएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नाडा अटोमोबाइल्स एसोसिएसनलगायत निजी क्षेत्रका संघसंस्थाले लेनदेनको विवादमा पक्राउ गर्ने र हिरासतमा राख्ने काम गरेको भन्दै विरोध गरेका हुन् । उनीहरूले यस्ता मुद्दा मेलमिलापको माध्यमबाट समाधान गर्नुपर्ने जनाउँदै आएका छन् । (कान्तिपुर)