जनता टाइम्स

१८ मंसिर २०७६, बुधबार १८:२५

राष्ट्रपति भण्डारीसमक्ष बेलायतसहित चार देशका राजदूतले गरे ओहोदाको प्रमाणपत्र प्रस्तुत


काठमाडौं, मंसिर १८ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि संयुक्त अधिराज्य (बेलायत) का आवासीय राजदूत निकोला क्थारिन पोलिट्टीले आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आज अपराह्न आयोजित विशेष समारोहमा उहाँले आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको हो । सोही समारोहमा नेपालका लागि गणतन्त्र लेबनान, इस्टोनिया र इराकका गैरआवासीय राजदूतत्रय राबी नार्स, क्रिष्टिन किभी र डा फलाह अब्दुलहसन अब्दुलसदाले पनि आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो ।

त्यस अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानसेनापति पूर्णचन्द्र थापा, परराष्ट्रसचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव हरि पौडेललगायत राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूको उपस्थिति थियो ।