जनता टाइम्स

३० मंसिर २०७६, सोमबार २१:०५

विमानस्थल अब २१ घण्टा संचालनमा


काठमाडौं, मंसिर ३०

पर्यटन वर्षलाई लक्षित गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः २१ घण्टा सञ्‍चालन हुने भएको छ । धावनमार्ग र ट्याक्सी जिर्णोद्धारको दोस्रो चरणको कामका सकिएसँगै अब विमानस्थल दैनिक २१ घण्टा सञ्चालनका लागि योग्य भएको हो ।

विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीका अनुसार पुष १५ गतेबाट २१ घण्टा संचालन गर्ने तयारी छ । आवश्यक सबै तयारी पुरा भए त्यो भन्दा अगाडी पनि संचालनमा आउन सक्न्े बताउनु भयो । उहाका अनुसार निर्माण कम्पनीले सबै काम सकेर सोमबार राति नेपाल नागरिक उड्डयन प्राधिकरणलाई आयोजना हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

विमानस्थल कार्यालयका अनुसार १ जनवरी २०२० बाट दैनिक २१ घण्टा चलाउने तयारी छ । १ जनवरीबाट भ्रमण वर्ष प्रारम्भ पनि हुँदैछ । त्रिभुवन विमानस्थल दैनिक १८ घण्टा सञ्चालनमा थियो । गत चैतमा जिर्णोद्धारको पहिलो चरणको काम शुरु हुनुअघि रातको समय पर सारेर २१ घण्टा चलाउने गरिएको थियो ।

विमानस्थलको जीणोद्वार सकेपछि विमानस्थलको क्षमता बढ्ने र हालको चाप न्यूनीकरण हुने अपेक्षा गरिएको छ । सन् २०२० को मार्च महिनादेखि सञ्चालनमा ल्याउने गरी तीव्रगतिमा निर्माण भइरहेको भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि काठमाडौँ विमानस्थलका चाप व्यवस्थापनमा सहज हुने अधिकारीले बताउँदै आएका छन् ।

यो आयोजनाको हाल ९० प्रतिशत भौतिक प्रगति छ । पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको काम पनि द्रुतगतिमा भइरहेको छ । हाल उक्त विमानस्थलको भौतिक प्रगति ५० प्रतिशत भन्दामाथि रहेको आयोजनाले जनाएको छ । विमानस्थलले मर्मतको काम निर्धारित समय अगावै सम्पन्न गरेर सफल उदाहरण प्रस्तुत गरेको महाप्रबन्धक केसीले बताउनुभयो ।

यो अवधिमा विमानस्थलको तीन हजार मिटर लामो धावनमार्ग कालोपत्र, ट्याक्सी वे कालोपत्र गर्ने र बत्ती जडानको काम सकिएको छ । दोस्रो चरणमा रनवे सेन्टरलाइन लाइट फेर्ने तथा ट्याक्सी वे र रनवे जोड्ने लिङ्क रोड निर्माण लगायतको कामसमेत सकिएको छ ।

अबको १३ दिनपछि शुरु हुने नेपाल भ्रमण वर्षका लागि अन्तरराष्ट्रिय विमानस्थलको प्रगतिलाई एक सुःखद क्षणको रुपमा लिन सकिन्छ । कतिपय ठूला आयोजना निर्माणमा विलम्ब भइरहेका बेला विमानस्थलको जीर्णोद्वार निर्धारित समयअघि नै सकिनुले अन्य आयोजनालाई पनि घचघच्याउने उदाहरणीय बनेको छ ।

यसअघि मर्मतको अवधिमा विमानस्थल बेलुका साढे ११ बजेदेखि बिहान साढे ६ बजेसम्म विमानस्थल बन्द हुन्थ्यो । विमानस्थलको पहिलो चरणअन्तर्गत २०७५ चैत १८ देखि २०७६ असार १५ गतेसम्म विमानस्थलको धावनमार्ग मर्मतको काम गरिएको थियो ।

विमानस्थलको धावनमार्ग तीन हजार ५० मिटर लम्बाइ र ४६ मिटर चौडाइको छ । उक्त अवधिमा रातको १० बजेदेखि बिहान ८ बजेसम्म दैनिक १० घण्टा विमानस्थल बन्द गरी मर्मतको काम गरिएको थियो ।

विमानस्थल विकास शुल्कबापत यात्रुबाट लिइँदै आएको रु एक हजार सङ्कलनबाट विमानस्थल मर्मतको काम गरिएको हो । रु चार अर्ब ७८ करोड लागतमा धावनमार्ग मर्मतसम्भारको जिम्मा चीनको सरकारी कम्पनी चाइना नेशनल एरो टेक्नोलोजी इन्टरनेशनल इञ्जिनीयरिङले पाएको थियो ।

अन्तरराष्ट्रिय विमानस्थल निर्माण इतिहासमा पहिलोपटक धावनमार्ग पुनः सुधार गरिएको नियामक निकाय नेपाल नागरिक उड्डायन प्राधिकरणले जनाएको छ । प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले धावनमार्ग स्तरोन्नतिको काम गरेको हो ।

लामो समयदेखि धावनमार्गको कालोपत्र उप्किदा पटक–पटक समस्या परेपछि सरकारले धावनमार्ग पूर्णरूपमा मर्मत ‘रनवे रिह्याब’ गर्ने योजना बनाएको थियो । देशकै ऐनाका रूपमा रहेको संवेदनशील मानिने अन्तरराष्ट्रिय विमानस्थलको जीर्णोद्वार गरी भरपर्दो र विश्वसनीय सेवा उपलब्ध गराउने उद्देश्यले विमानस्थल मर्मतको काम उच्च प्राथमिकतामा परेको प्राधिकरणले जनाएको छ ।

सन् १९८० मा निर्माण भएको धावनमार्ग अहिलेसम्म विस्तार तथा मर्मत हुन सकेको थिएन । सन् २०१४ बाटै विमानस्थलको धावनमार्ग बिग्रन शुरु भएको थियो । त्यसपछि २४ सै घण्टा द्रुत उद्धारटोली बनाएर सतर्क अवस्थामा राखिएको थियो ।