जनता टाइम्स

१८ आश्विन २०८३, आईतवार २०:०६

म्युजिकल चियरजस्तो राजनीतिले जनतामा वितृष्णा बढायो : गगन थापा


काठमाडौं, असोज १८ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सत्ता र नेतृत्वमा एउटै अनुहार दोहोरिरहने ‘म्युजिकल चियर’ जस्तो राजनीतिक प्रवृत्तिले जनतामा असन्तुष्टि र वितृष्णा बढाएको बताउनुभएको छ।

कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति थापाले प्रधानमन्त्री, मन्त्री र पार्टी नेतृत्वमा पटक–पटक उही व्यक्तिहरू दोहोरिँदा सबै दल र नेता उस्तै हुन् भन्ने गलत सन्देश समाजमा गएको बताउनुभयो।

‘राजनीति म्युजिकल चियरजस्तो बनेको थियो। प्रधानमन्त्री बनेका फेरि बन्न मन लाग्ने, नेता बनेका फेरि बनिरहने, मन्त्री पनि बनिरहने र सत्ता नछोड्ने। यसले सबै पार्टी र नेता एउटै हुन्, सबै खराब हुन् भन्ने सन्देश गयो,’ उहाँले भन्नुभयो।

उहाँले समाजका विभिन्न क्षेत्रसँगै सामाजिक सञ्जालमा समेत अत्यधिक राजनीतिकरण बढेको बताउनुभयो। राजनीतिक दलप्रतिको असन्तुष्टि भित्रभित्रै बढ्दै गए पनि त्यसलाई समयमै बुझ्न नसक्दा सिंगो राजनीतिक प्रणाली प्रभावित भएको उहाँको भनाइ छ।

तत्कालीन दुईतिहाइको सरकार र बदलिँदो जनभावनाबीच संवादहीनता रहँदा अप्रत्याशित परिस्थिति सिर्जना भएको उहाँले बताउनुभयो। त्यसकै परिणामस्वरूप भदौ २३ र २४ गतेको परिस्थिति आएको उहाँको दाबी छ।

उहाँले उक्त घटनाक्रमपछि कांग्रेसले स्थिति सम्हाल्न विशेष महाधिवेशनको बाटो रोजेको र त्यसपछिको निर्वाचनमा परिणाम अनुकूल नआए पनि पार्टीले हार–जितलाई स्वाभाविक रूपमा लिएको बताउनुभयो।

थापाले १५औँ महाधिवेशन विगतका कमजोरीको समीक्षा गर्दै कांग्रेसलाई नयाँ सोच, परिमार्जित व्यवहार र बदलिएको कार्यशैलीका साथ अघि बढाउने महत्वपूर्ण अवसर भएको बताउनुभयो।