जनता टाइम्स

१८ आश्विन २०८३, आईतवार २०:०९

सरकारले सांसदलाई उत्तरदायी बनाउन सकेन, कठपुतली बनाउन खोज्यो– अध्यक्ष ओली


काठमाडौं, असोज १८ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र, संविधान र राष्ट्रियताको रक्षाका लागि संघर्षको तयारीमा जुट्न पार्टीका सांसदहरूलाई निर्देशन दिनुभएको छ।

एमाले संसदीय दलको आइतबार पार्टी कार्यालय च्यासलमा बसेको बैठकमा अध्यक्ष ओलीले लोकतन्त्र र संविधानको रक्षाका लागि शान्तिपूर्ण संघर्षका दुई मोर्चा ‘सडक’ र ‘सदन’ रहेको बताउँदै सशक्त आन्दोलनको तयारी गर्न निर्देशन दिनुभएको हो।

संसदमा एमाले संख्यात्मक रूपमा सानो प्रतिपक्ष भए पनि लोकतन्त्र र संविधान निर्माणमा पार्टीले खेलेको भूमिकाका कारण यसको रक्षा गर्ने मुख्य दायित्व एमालेकै काँधमा रहेको ओलीले बताउनुभएको प्रमुख सचेतक ऐन महरले जानकारी दिनुभयो।

ओलीले सांसदहरूलाई विषयवस्तुको गहन तयारी गर्न, विज्ञहरूसँग छलफल गर्न तथा जनताका मुद्दालाई प्रभावकारी रूपमा संसदमा उठाउन निर्देशन दिनुभएको छ।

बैठकले वर्तमान सरकार लोकतन्त्र, संविधानको रक्षा र जनजीविकाका सवालमा चुकेको निष्कर्ष निकालेको महरले बताउनुभयो। उहाँका अनुसार ओलीले सरकारले सांसदलाई उत्तरदायी बनाउन नसकेको, सत्ताको छायामा पारेको र जनमतको उपेक्षा गर्दै सांसदलाई कठपुतली बनाउन खोजेको आरोप लगाउनुभएको छ।

बैठकले सरकार निरन्तर स्वेच्छाचारी तथा तानाशाही बाटोतर्फ उन्मुख रहेको निष्कर्ष निकालेको पनि महरले जानकारी दिनुभयो।