जनता टाइम्स

१८ आश्विन २०८३, आईतवार २०:१४

निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ : राजेन्द्र लिङदेन


काठमाडौं, असोज १८ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले ‘निषेधको राजनीति’ त्यागेर संवाद, सहकार्य र राष्ट्रिय सहमतिको बाटोमा अघि बढ्नुपर्ने बताउनुभएको छ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई सम्बोधन गर्दै लिङदेनले वर्तमान राजनीतिक व्यवस्था र संविधानका कमजोरीको समीक्षा गर्दै मुलुकलाई निकास दिन सबै पक्षलाई समेटेर राष्ट्रिय सहमति निर्माण गर्नुपर्ने बताउनुभयो।

पछिल्लो पाँच वर्षको राजनीतिक यात्राको समीक्षा गर्दै उहाँले आम नागरिकमा राजनीति र नेताप्रतिको वितृष्णा अझै कायम रहेको दाबी गर्नुभयो। समस्या राजनीतिक पात्रमा मात्रै नभई विद्यमान शासन व्यवस्था र संविधानका कमजोरीमा समेत रहेको उहाँको भनाइ थियो।

संविधानलाई अपरिवर्तनीय ग्रन्थका रूपमा लिन नहुने बताउँदै लिङदेनले समयअनुसार देखिएका कमजोरी सुधार गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो।

‘पात्र फेरिए, तर प्रवृत्ति अझै उस्तै छ। त्यसैले समस्या व्यक्तिमा मात्र होइन, व्यवस्था र संविधानका कमजोरीमा पनि छन्,’ उहाँले भन्नुभयो।

देश बिग्रिँदा कुनै एउटा दल मात्रै प्रभावित नहुने भन्दै उहाँले सबै राजनीतिक शक्तिबीच संवाद र सहकार्यको वातावरण बनाउनुपर्ने बताउनुभयो।

‘निषेधको राजनीति छोडेर संवाद, सहकार्य र राष्ट्रिय सहमतिको बाटोमा अघि बढ्नुपर्छ। अब कसैले नहार्ने र सिङ्गो देशले जित्ने राष्ट्रिय सहमति आवश्यक छ,’ लिङदेनले भन्नुभयो।

उहाँले २००७ सालको प्रजातन्त्र, २०४६ सालको बहुदलीय व्यवस्था, २०६२/६३ को लोकतान्त्रिक परिवर्तन तथा नयाँ पुस्ताका आकांक्षालाई संरक्षण गर्दै नयाँ राजनीतिक समझदारीका साथ अघि बढ्नुपर्ने बताउनुभयो।

राजतन्त्र पक्षधरदेखि नयाँ पुस्तासम्मका सबै पक्षलाई संवादमा समेटेर राष्ट्रिय समझदारी निर्माण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।