काठमाडौं, असोज १८ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजनीतिक दलहरू सरकार बनाउने र ढाल्ने खेलमा मात्रै अल्झिँदा मुलुकले अपेक्षित आर्थिक समृद्धि हासिल गर्न नसकेको बताउनुभएको छ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई सम्बोधन गर्दै भट्टराईले त्यसकै परिणामस्वरूप जनता र युवा पुस्तामा चरम असन्तुष्टि तथा विद्रोहको भावना बढेको बताउनुभयो।
जनताको असन्तुष्टिलाई ‘विदेशीको षड्यन्त्र’ भनेर पन्छाउनुभन्दा राजनीतिक नेतृत्वले आफ्नै कमजोरीको जिम्मेवारी लिनुपर्ने उहाँको भनाइ थियो। दलहरू देश र जनताको आर्थिक रूपान्तरणभन्दा सत्ता समीकरणको अङ्कगणितमा बढी केन्द्रित हुँदा नागरिकमा निराशा बढेको उहाँले बताउनुभयो।
लामो संघर्षपछि प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रले जनताको जीवनस्तर सुधार्न नसक्नु राजनीतिक नेतृत्वको साझा कमजोरी भएको उहाँले स्वीकार गर्नुभयो।
दक्षिण कोरिया, सिङ्गापुर, मलेसिया र चीनजस्ता मुलुकले छोटो अवधिमै आर्थिक प्रगति गरेको उदाहरण दिँदै भट्टराईले नेपालले पनि आगामी १० देखि २० वर्षका लागि स्पष्ट विकास योजना बनाएर अघि बढ्नुपर्ने बताउनुभयो।
‘हामी सरकार बनाउने र गिराउने खेलमै अल्झियौँ, आर्थिक समृद्धिको दिशामा अपेक्षित रूपमा अघि बढ्न सकेनौँ। त्यसैले जनतामा असन्तुष्टि बढ्यो र नयाँ पुस्ताले विद्रोहको आवाज उठायो,’ उहाँले भन्नुभयो।
भट्टराईले सबै राजनीतिक दलबीच राष्ट्रिय सहमति कायम गरी विकास र समृद्धिको योजनामा प्रतिस्पर्धा गर्नुपर्ने बताउनुभयो। आगामी पुस्तालाई रोजगारी, अवसर र समृद्धिको विश्वास दिलाउन राजनीतिक नेतृत्वले ठोस योजना बनाउनुपर्ने उहाँको भनाइ थियो।
पुरानो पुस्ताले नयाँ पुस्तालाई विश्वास गर्दै नेतृत्व हस्तान्तरण गर्नुपर्नेमा जोड दिँदै उहाँले नेपाली कांग्रेसले पनि नयाँ पुस्ता र नयाँ विचारलाई स्थान दिएर एकताबद्ध भएर अघि बढ्न शुभकामना दिनुभयो।
सत्ताको दुष्चक्रबाट पाठ सिकेर राष्ट्र निर्माणमा केन्द्रित हुन सबै राजनीतिक शक्तिलाई उहाँले आह्वान गर्नुभयो।












प्रतिक्रिया दिनुहोस्