जनता टाइम्स

१८ आश्विन २०८३, आईतवार २०:१८

संविधान र लोकतन्त्र धरापमा : पुष्पकमल दाहाल


काठमाडौं, असोज १८ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको वर्तमान राजनीतिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै संविधान र लोकतन्त्र चुनौतीमा परेको बताउनुभएको छ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई आइतबार खुलामञ्चमा सम्बोधन गर्दै दाहालले सत्ताको स्वेच्छाचारिता र अराजकताले लोकतान्त्रिक प्रणालीलाई जोखिममा पारेको बताउनुभयो।

समावेशी संघीय लोकतान्त्रिक गणतन्त्र शान्ति सम्झौताको महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै उहाँले यसको रक्षाका लागि सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने बताउनुभयो। शान्ति प्रक्रियाका केही काम अझै बाँकी रहेको भन्दै ती काम समयमै टुंग्याउन नसकिए मुलुक पुनः अस्थिरतातर्फ धकेलिन सक्ने उहाँको भनाइ थियो।

दाहालले कांग्रेस सभापति गगन थापालाई शान्ति सम्झौताका बाँकी काम पूरा गर्ने जिम्मेवारीलाई प्राथमिकतामा राख्न आग्रह गर्नुभयो।

‘देश अप्ठ्यारो अवस्थामा छ, लोकतन्त्र चुनौतीमा छ र हामीले निर्माण गरेको समावेशी संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान पनि चुनौतीमै छ,’ उहाँले भन्नुभयो, ‘यस्तो अवस्थामा संविधान र लोकतान्त्रिक व्यवस्थालाई अझ सुदृढ गर्न सबै राजनीतिक दल मिलेर अघि बढ्न आवश्यक छ।’

शान्ति सम्झौतामार्फत महिला, दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम र थारूलगायत समुदायले प्राप्त गरेका अधिकार तथा पहिचानलाई थप सुदृढ गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।

दाहालले सबै राजनीतिक नेतृत्वप्रति आफ्नो सम्मान, माया र भरोसा रहेको बताउँदै आपसी समझदारी र सहकार्यबाट समृद्ध, शान्तिपूर्ण तथा लोकतान्त्रिक नेपाल निर्माण गर्न सकिने विश्वास व्यक्त गर्नुभयो।

रास्वपा सभापति रवि लामिछानेसहित कांग्रेसका नेताहरूप्रति सम्मान व्यक्त गर्दै उहाँले दलहरूबीच ध्रुवीकरणभन्दा राष्ट्रिय मुद्दामा सहमति र सहकार्य आवश्यक रहेको बताउनुभयो।