जनता टाइम्स

१८ आश्विन २०८३, आईतवार २०:२०

नियन्त्रित लोकतन्त्र जनतालाई स्वीकार्य छैन : शरतसिंह भण्डारी


काठमाडौं, असोज १८ । जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता शरतसिंह भण्डारीले नेपाली जनतालाई कुनै पनि बहानामा ‘नियन्त्रित लोकतन्त्र’ स्वीकार्य नहुने बताउनुभएको छ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई सम्बोधन गर्दै भण्डारीले मुलुक गम्भीर आर्थिक, सामाजिक तथा भूराजनीतिक संक्रमणबाट गुज्रिरहेको बताउनुभयो। वर्तमान चुनौती सामना गर्न प्रमुख राजनीतिक दलबीच सहकार्य र राष्ट्रिय एकता आवश्यक रहेको उहाँको भनाइ थियो।

प्राकृतिक विपद्, आर्थिक मन्दी, बढ्दो बेरोजगारी र युवाको तीव्र विदेश पलायनले मुलुक प्रभावित भएको उल्लेख गर्दै उहाँले गत महिना भोटेकोशी क्षेत्रमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभयो।

वर्तमान संविधानलाई समय र आवश्यकताअनुसार संशोधन तथा परिमार्जन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई थप समावेशी र परिणाममुखी बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो।

‘नियन्त्रित लोकतन्त्र नेपाली जनताको नियति हुन सक्दैन। नेपाली जनताले लोकतन्त्रको कुनै पनि संकुचन स्वीकार गर्ने छैनन्,’ उहाँले भन्नुभयो, ‘लोकतन्त्र, संघीयता, समावेशिता, सामाजिक न्याय र जनअधिकारको संरक्षणका लागि राजनीतिक दलबीचको सहकार्य र एकतालाई अझ मजबुत बनाउन आवश्यक छ।’

भण्डारीले संविधान संशोधन र समावेशी राज्य निर्माणको जसपा नेपालको अभियानमा नेपाली कांग्रेसको साथ र समर्थन रहने विश्वास व्यक्त गर्नुभयो।

बदलिँदो संवेदनशील भूराजनीतिक परिवेशमा नेपालले सन्तुलित कूटनीति अवलम्बन गरेर राष्ट्रिय हितको रक्षा गर्नुपर्ने उहाँले बताउनुभयो। लोकतन्त्र, संघीयता, सामाजिक न्याय र जनअधिकारको संकुचन हुन नदिन राजनीतिक दल तथा नागरिक सचेत रहनुपर्नेमा उहाँले जोड दिनुभयो।