जनता टाइम्स

१८ आश्विन २०८३, आईतवार २०:२५

संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैन : विश्वप्रकाश शर्मा


काठमाडौं, असोज १८ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले संविधान संशोधनको विषय संसद्को गणित वा सत्ता–प्रतिपक्षको स्वार्थमा सीमित हुन नहुने बताउनुभएको छ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई सम्बोधन गर्दै शर्माले संविधान कार्यान्वयनको समीक्षा र संशोधन गर्दा सबै वर्ग, समुदाय तथा विगतका आन्दोलनबाट प्राप्त उपलब्धिको संरक्षण गर्दै राष्ट्रिय अपनत्व कायम गर्नुपर्ने बताउनुभयो।

संविधान कार्यान्वयनको १० वर्ष पुगेको सन्दर्भमा सरकारले अघि बढाएको संविधान समीक्षा तथा संशोधनको पहललाई स्वागत गर्दै उहाँले प्रक्रिया व्यवस्थित, पारदर्शी र परिपक्व हुनुपर्नेमा जोड दिनुभयो।

संविधानसभामा प्रतिनिधित्व गरेका तर अहिले संसद्मा नरहेका राजनीतिक दललाई समेत संविधान संशोधन प्रक्रियामा सहभागी गराउन उहाँले सरकारसँग आग्रह गर्नुभयो।

युवा पुस्ताले उठाएका समसामयिक विषयलाई समेत संशोधनको दायरामा समेट्न सकिने उहाँले बताउनुभयो। मधेस, थारुहट, दलित, जनजाति तथा कर्णालीलगायत क्षेत्र र समुदायले उठाएका तथा संविधानमा समेटिएका अधिकारलाई कुनै पनि हालतमा कुण्ठित गर्न नहुने उहाँको भनाइ थियो।

सरकारले अघि बढाउने संविधान संशोधन प्रक्रियामा कांग्रेसको साथ रहने बताउँदै शर्माले प्रक्रिया पारदर्शी र सर्वस्वीकार्य हुनुपर्नेमा जोड दिनुभयो।