जनता टाइम्स

१८ आश्विन २०८३, आईतवार २०:३१

शेरबहादुर देउवाका लागि कुर्सी खाली राखेका थियौं : गगन थापा


काठमाडौं, असोज १८ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुने अपेक्षासहित पूर्वसभापति शेरबहादुर देउवाका लागि कुर्सी खाली राखिएको बताउनुभएको छ।

आइतबार महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै थापाले देउवा उद्घाटन गर्न आउनुहुन्छ भन्ने अपेक्षा गरिएको बताउनुभयो।

‘हामीले शेरबहादुर देउवाका लागि कुर्सी खाली राखेका थियौँ। उद्घाटन गर्न आउनुहुन्छ भन्ने अपेक्षा गरेका थियौँ,’ उहाँले भन्नुभयो।

देउवाको सम्मान उहाँको ढोकामा पटक–पटक सलामी दिएर नभई उहाँले नेतृत्व गरेको पार्टीलाई कति अग्लो र फराकिलो बनाउन योगदान गर्नुभयो भन्ने आधारमा हुने थापाको भनाइ थियो।

‘उहाँले काम गर्नुभएको पार्टीलाई अग्लो र फराकिलो बनायो कि बनाएन, मान त्यहाँबाट राख्ने हो। हामी त्यो मान राख्छौँ,’ उहाँले भन्नुभयो।

थापाले कांग्रेसले लोकतन्त्र र विविधतालाई आत्मसात् गर्दै जनताले बुझ्ने भाषामा आफ्ना कुरा राख्न सक्नुपर्ने बताउनुभयो। कांग्रेसले लोकतन्त्र र जनताका अपेक्षाबीच पुलको काम गर्नुपर्ने उहाँको भनाइ थियो।

‘कांग्रेस पार्टी बन्द भयो भने कांग्रेस हराउँछ मात्र होइन, कांग्रेसले डेमोक्रेसी र डेलिभरीको बीचमा पुलको काम गर्छ,’ उहाँले भन्नुभयो।

पार्टी आफ्ना सिद्धान्त र विचारमा स्पष्ट हुनुपर्ने बताउँदै थापाले आवश्यक परे पाँचवटा चुनाव हार्नुपरे पनि सिद्धान्तबाट पछि नहट्ने बताउनुभयो।

‘हामी लालुपाते भएर हुँदैन। हाम्रो कुरा स्पष्ट हुनुपर्छ। बरु पाँचवटा चुनाव हार्छौँ तर सिद्धान्तबाट पछि हट्दैनौँ,’ उहाँले भन्नुभयो।

पार्टीमा असन्तुष्ट रहेका तथा कांग्रेस छाडेर गएका नेता–कार्यकर्तालाई पुनः जोड्ने प्रयास गरिने पनि थापाले बताउनुभयो। परिवर्तनको अर्थ नयाँ व्यक्ति वा पुस्ता मात्रै नभएको भन्दै कांग्रेसको आत्मा र विचार पार्टीभित्रै रहेको उहाँको भनाइ थियो।