काठमाडौं, असोज १८ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीले पाएको जनमतलाई अवमूल्यन गर्ने वा कमजोर पार्ने काम नगर्न चेतावनी दिनुभएको छ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै लामिछानेले विदेशीले सरकार बनाएको वा सेनाले निर्वाचन प्रभावित पारेकोजस्ता अभिव्यक्ति दिएर जनमतलाई कमजोर पार्ने प्रयास नगर्न आग्रह गर्नुभयो।
‘यो अपार जनमतलाई अवमूल्यन गर्ने, हुर्मत लिने, विदेशीले बनाएको, सेनाले भोटिङ प्रभावित पारेको अभिव्यक्ति दिएर कमजोर पार्ने काम नगर्नुहोला,’ उहाँले भन्नुभयो, ‘विशुद्ध भोटबाट रास्वपा यहाँ आएको हो।’
सरकार नढल्ने दाबी गर्दै लामिछानेले सरकार ढल्छ–ढल्छ भन्नेहरू नै बेहोस भएर ढल्ने टिप्पणी गर्नुभयो। लोकतन्त्र खतरामा नरहेको बताउँदै लोकतन्त्र खतरामा परेको अवस्थामा जनताले त्यसको रक्षा गर्ने उहाँको भनाइ थियो।
आन्दोलनबाट सरकार ढाल्ने प्रयास नगर्न आग्रह गर्दै उहाँले सरकारलाई निर्वाचनमार्फत नै परिवर्तन गर्नुपर्ने बताउनुभयो। निर्वाचनकै माध्यमबाट देश विकास गर्न सकिने भन्दै सार्वभौम जनताबाट निर्वाचित सरकार र निर्वाचन प्रक्रियाको अपमान गर्न नहुने उहाँले बताउनुभयो।
‘हामीले काम गर्न सकेनौँ भने अर्को चुनावमा हामीलाई डाँडा कटाइदिनुस्। यो पाँच वर्षमा काम गर्न सक्दैन भने रास्वपाको सदस्यता च्यातिदिए हुन्छ,’ उहाँले भन्नुभयो।
सुरक्षा निकायलगायत विभिन्न संस्थालाई राजनीतिक स्वार्थका लागि आरोप लगाउने काम गर्न नहुनेमा पनि लामिछानेले जोड दिनुभयो।
‘सुरक्षा निकायलाई आरोप लगाइरहँदा हामीलाई त्यो छुट छैन। हाम्रो राजनीतिक स्वार्थका लागि विभिन्न निकायलाई दोष लगाउन पाइँदैन,’ उहाँले भन्नुभयो।
रास्वपाले सरकार र पार्टीका जिम्मेवारी बाँडेर काम गरिरहेको उल्लेख गर्दै लामिछानेले आफूहरू मूल्य र मान्यताबाट विमुख नहुने बताउनुभयो। मुलुक अप्ठ्यारोमा परेको वा ट्र्याकबाहिर गएको हो कि भन्ने चिन्ता जायज भए पनि लोकतान्त्रिक दलहरूले कम्तीमा अर्को निर्वाचनसम्म कुर्न सक्नुपर्ने उहाँको भनाइ थियो।












प्रतिक्रिया दिनुहोस्