जनता टाइम्स

१८ आश्विन २०८३, आईतवार २०:३५

क्रमभंग गर्ने पालो अब गगनजी र रविजीको हो, तपाईंहरूले गर्नुस् : प्रचण्ड


काठमाडौं, असोज १८ । नेकपाका संयोजक पुष्पकमल दाहालले अब राजनीतिक ‘क्रमभंग’ गर्ने पालो नेपाली कांग्रेसका सभापति गगन थापा र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भएको बताउनुभएको छ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै दाहालले आफूले विगतमा पटक–पटक क्रमभंग गरेको उल्लेख गर्दै अब नयाँ पुस्ताका नेताले त्यसलाई निरन्तरता दिनुपर्ने बताउनुभयो।

‘पहिला मैले धेरै क्रमभंग गर्थें। अहिले गगनजीले क्रमभंग गर्नुभएको छ। सायद मलाई क्रमभंग गर्न गाह्रो–गाह्रो भयो कि, अब पालो गगनजीको, अब पालो रविजीको,’ उहाँले भन्नुभयो, ‘तपाईंहरूले क्रमभंग गर्नुस्।’

दाहालले रवि लामिछाने आफ्नो मन्त्रिपरिषद्का गृहमन्त्री र गगन थापा स्वास्थ्य मन्त्री रहेको स्मरण गर्दै दुवै नेताले आफ्नो राजनीतिक दललाई थप उचाइमा लैजानुपर्ने बताउनुभयो।

गगन थापालाई कांग्रेसको नेतृत्वमा ल्याउन विश्वप्रकाश शर्मा र प्रदीप पौडेललगायत नेताको समेत भूमिका रहेको उल्लेख गर्दै दाहालले थापाले पार्टीमा क्रमभंग गरेर देखाएको बताउनुभयो।

नयाँ पुस्ताले पुराना पुस्तालाई अपमान गर्ने प्रवृत्ति देखाउन नहुनेमा दाहालले जोड दिनुभयो। लोकतन्त्र र शान्तिका पक्षधर सबै राजनीतिक शक्तिले आपसी सम्मान र सहकार्यका साथ अघि बढ्नुपर्ने उहाँको भनाइ थियो।

‘हामी सबै मिलेर देश चलेको हुन्छ,’ उहाँले भन्नुभयो।

संविधानलाई सुदृढ गर्ने काममा सबै राजनीतिक दल मिलेर अघि बढ्नुपर्ने बताउँदै दाहालले शान्ति प्रक्रियालगायत केही विषय अझै टुंग्याउन बाँकी रहेको उल्लेख गर्नुभयो। ती विषय समयमै टुंग्याउन नसकिए मुलुक अन्य दिशातर्फ जान सक्ने उहाँले चेतावनी दिनुभयो।