जनता टाइम्स

१८ आश्विन २०८३, आईतवार २१:००

काला जुँगा र काला कपाल भएकाले पनि देश बनाउने छनक देखाएनन् : रेशम चौधरी


काठमाडौं, असोज १८ । नागरिक उन्मुक्ति पार्टी, नेपालका संस्थापक एवं संरक्षक रेशमलाल चौधरीले अहिलेको पुस्ताले पनि देश बनाउने छनक नदेखाएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले विगतमा कपाल फुलेका नेताहरूले देश बिगारेको आरोप लाग्ने गरेको भए पनि अहिले काला जुँगा र काला कपाल भएका नेताहरूले समेत देश बनाउने संकेत नदेखाएको बताउनुभयो ।

उहाँले कांग्रेस सभापति गगन थापालाई सम्बोधन गर्दै आफू उहाँलाई विश्वास गर्ने व्यक्ति भएको बताउनुभयो ।

‘हिजो सबै कपाल फुलेर आफूलाई युवा हुँ भन्ने नेताहरूले देश बिगारे भन्ने गरिन्थ्यो । अहिले काला जुँगा भएका, पूरै कपाल काला भएकाले पनि देश बनाउने छनक देखाएका छैनन्,’ उहाँले भन्नुभयो ।

चौधरीले अब आधाआधि कपाल फुलेको गगन थापालगायतको पुस्ताले देश बनाउने विश्वास व्यक्त गर्नुभयो ।

‘अब आधाआधि कपाल फुलेको, गगनजीको जस्तो १०–२० वटा दाह्री फुलेको, ५०–६० वटा कपाल फुलेको यो नेताले देश पक्कै बनाउँछ भन्ने विश्वास छ,’ उहाँले भन्नुभयो ।