जनता टाइम्स

१८ आश्विन २०८३, आईतवार २२:१३

विपद्पछिको पुनर्निर्माणलाई दिगो र सुरक्षित बनाउन मुख्यमन्त्री थापाको जोड


काठमाडौं, असोज १८ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) का कार्यकारी प्रमुख डा. धर्मराज उप्रेती तथा बागमती प्रदेश नीति तथा योजना आयोगका सदस्य डा. दीपकविक्रम थापा क्षेत्रीबीच विपद्पछिको पुनर्स्थापना, पुनर्निर्माण तथा भूमि विकासका एकीकृत मोडेललगायत विषयमा छलफल भएको छ ।

छलफलका क्रममा हालैका बाढी, पहिरोलगायत विपद्बाट प्रभावित क्षेत्रको पुनर्स्थापना तथा पुनर्निर्माणलाई व्यवस्थित, सुरक्षित र दिगो बनाउने विषयमा छलफल गरिएको थियो । त्यसक्रममा भूमि विकास तथा सुरक्षित बस्ती व्यवस्थापनका एकीकृत मोडेल, पूर्वाधार पुनर्निर्माण, संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय तथा आवश्यक योजना र कार्यढाँचा निर्माणका विषयमा समेत छलफल भएको थियो ।

प्रभावित समुदायको आवश्यकता र स्थानीय अवस्थालाई प्राथमिकतामा राख्दै ‘अझ राम्रो बनाउनुहोस्’ को अवधारणाअनुसार पुनर्निर्माण अघि बढाउनुपर्नेमा जोड दिइएको थियो । आगामी दिनमा विपद् जोखिम न्यूनीकरणलाई विकास योजनासँग एकीकृत गर्दै अघि बढाउनुपर्ने विषयमा समेत छलफल भएको छ ।

छलफलमा अब सञ्चालन गरिने कार्यक्रमहरू केवल भौतिक संरचनाको पुनर्निर्माणमा मात्र सीमित नराखी दिगो व्यवस्थापनसहितको पुनर्निर्माण, जनजीविकाको पुनरुत्थान तथा सुरक्षित बस्ती विकासलाई समेत समेटेर अघि बढाउनुपर्नेमा उहाँहरु बिच एकमत भएको जनाइएको छ ।

विपदबाट प्रभावित समुदायलाई दीर्घकालीन रूपमा सुरक्षित र आत्मनिर्भर बनाउने गरी पुनर्स्थापना तथा पुनर्निर्माणका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा समेत छलफलका क्रममा जोड दिइएको थियो ।