जनता टाइम्स

१८ आश्विन २०८३, आईतवार २२:३३

बालेनलाई सचिन तिमल्सिनाको काउन्टर–‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ’


काठमाडौं, असोज १८ । खुलामञ्चको प्रसङ्ग जोड्दै नेपाली कांग्रेसमाथि व्यंग्य गरेका प्रधानमन्त्री बालेन्द्र शाहलाई कांग्रेस नेता सचिन तिमल्सिनाले जवाफ फर्काएका छन्।

प्रधानमन्त्री शाहले आइतबार साँझ सामाजिक सञ्जालमार्फत कांग्रेसको १५औँ महाधिवेशनमा नेताहरूले गरेको भाषणलाई लक्षित गर्दै खुलामञ्च राम्रो बनाएकै कारण दलहरूले त्यहीँबाट गाली गर्न पाएको टिप्पणी गरेका थिए।

त्यसको जवाफमा नेता तिमल्सिनाले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहमाथि व्यंग्य गरेका हुन्।

तिमल्सिनाले लेखेका छन्, ‘धन्न कांग्रेसले यो देशमा लोकतन्त्र स्थापना गरेछ। प्रधानमन्त्री नै भए पनि ९ बजेपछि तल्लो स्तरको टिप्पणी गर्न पाएका छन्।’

कांग्रेस महाधिवेशन उद्घाटन समारोहमा सभापति गगन थापालगायत नेताहरूले प्रधानमन्त्री शाहको कार्यशैलीको आलोचना गरेका थिए। त्यसपछि प्रधानमन्त्री शाहले खुलामञ्चको प्रसङ्ग जोडेर कांग्रेसमाथि टिप्पणी गरेका हुन्।