जनता टाइम्स

१९ आश्विन २०८३, सोमबार ०७:१८

कांग्रेस केन्द्रीय कार्यसमितिको अन्तिम बैठक आज खुलामञ्चमा बस्दै


काठमाडौं, असोज १९ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको अन्तिम बैठक आज बस्दैछ । विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको यो अन्तिम बैठक हो ।

कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक बिहान १० बजे पार्टीको १५औँ महाधिवेशनस्थल खुलामञ्चमा बस्नेछ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहनेछ ।

बैठकमा महाधिवेशनको बन्दसत्रमा पेस गर्ने विधान संशोधनलगायतका विषयमा छलफल हुनेछ ।

केन्द्रीय कार्यसमितिको बैठक सकिएलगत्तै महाधिवेशनको बन्दसत्र सुरु हुनेछ । बन्दसत्रमा कांग्रेस सभापति गगनकुमार थापाले समसामयिक राजनीतिक अवस्था तथा पार्टीको आगामी रणनीति समेटिएको राजनीतिक प्रतिवेदन पेस गर्नुहुनेछ ।