जनता टाइम्स

१९ आश्विन २०८३, सोमबार ०८:२४

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन


झापा, असोज १९ । अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र सम्भावित राजस्व चुहावट रोक्न जिल्ला सुरक्षा समिति झापाले झापा–इलाम सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाएको छ ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको नेतृत्वमा आइतबार मेचीनगर, बुद्धशान्ति, अर्जुनधारालगायत सीमावर्ती तथा आवतजावतका लागि प्रयोग हुने विभिन्न स्थानको स्थलगत अनुगमन गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी पोखरेलले भौगोलिक रूपमा सदरमुकामबाट टाढा र सहज पहुँच नभएका सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी प्रभावकारी बनाउन अनुगमन गरिएको बताउनुभयो । मुख्य नाकाबाहेकका वैकल्पिक सडक तथा ग्रामीण मार्गबाट हुनसक्ने अवैध ओसारपसार र तस्करीलाई समेत सूक्ष्म निगरानीमा राखिएको उहाँले बताउनुभयो ।

इलाम, पाँचथर र ताप्लेजुङलगायत जिल्लाबाट झापाको बाटो हुँदै भारततर्फ हुनसक्ने अवैध निकासीलाई ध्यानमा राखेर संवेदनशील क्षेत्रमा सुरक्षा गस्ती बढाइएको हो । यसबाट राजस्व चुहावट नियन्त्रणसँगै सीमा अपराध तथा अवैध वस्तुको ओसारपसार रोक्न सहयोग पुग्ने प्रशासनले जनाएको छ ।

पोखरेलका अनुसार सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध गतिविधिबारे सूचना तत्काल आदानप्रदान गरी आवश्यक कारबाहीका लागि सुरक्षा निकाय परिचालन गर्ने व्यवस्था मिलाइएको छ । जिल्ला प्रहरी कार्यालय झापा र सशस्त्र प्रहरी बल नेपालका सम्बन्धित युनिटलाई नियमित गस्ती तथा पेट्रोलिङ प्रभावकारी बनाउन निर्देशन दिइएको छ ।

सीमावर्ती क्षेत्रमा तैनाथ नेपाल प्रहरी र सशस्त्र प्रहरीका युनिटले सुरक्षा उपस्थिति, गस्ती तथा कारबाहीको अवस्थाबारे प्रत्येक १५ दिनमा जिल्ला सुरक्षा समितिलाई विवरण बुझाउनुपर्ने व्यवस्था गरिएको छ । प्राप्त विवरणका आधारमा सुरक्षा अवस्थाको मूल्याङ्कन गरी आवश्यक रणनीति तय गरिने पोखरेलले बताउनुभयो ।

अनुगमनमा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक वसुन्धरा खड्का, सशस्त्र प्रहरी बल नेपाल नं. २ गण झापाका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक सचिन कर्माचार्य र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय झापाका उपअनुसन्धान निर्देशक उमेश पाण्डेलगायत सुरक्षा निकायका अधिकारी सहभागी थिए ।

नजिकिँदै गरेको चाडपर्वका समयमा सीमावर्ती क्षेत्रबाट पटका तथा अन्य अवैध सामग्रीको ओसारपसार हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै त्यसतर्फ थप सतर्कता अपनाउन सुरक्षा निकायलाई निर्देशन दिइएको प्रशासनले जनाएको छ ।