जनता टाइम्स

१९ आश्विन २०८३, सोमबार २०:४२

कांग्रेसको विधान संशोधन प्रस्ताव बन्दसत्रबाट पारित


काठमाडौं, असोज १९ । नेपाली कांग्रेसको विधान संशोधन प्रस्ताव महाधिवेशनको बन्दसत्रबाट पारित भएको छ।

खुलामञ्चमा जारी कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सोमबार विधान संशोधन प्रस्ताव पारित भएको हो।

पारित संशोधित विधानअनुसार कांग्रेसमा एक सभापति, एक वरिष्ठ उपसभापति, चार उपसभापति, तीन महामन्त्री र १५ सहमहामन्त्री रहने व्यवस्था गरिएको छ।

यस्तै, कांग्रेसको केन्द्रीय कार्यसमिति २३२ सदस्यीय हुने भएको छ। त्यसमध्ये ६१ जना सदस्य मनोनीत हुने व्यवस्था गरिएको छ।

उपसभापतिमध्ये एक जना महिला र एक जना समावेशी समूहबाट अनिवार्य हुने व्यवस्था गरिएको छ। महामन्त्रीमध्ये एक जना महिला अनिवार्य हुनेछन्।

१५ सहमहामन्त्रीमध्ये ११ जना निर्वाचित भएर आउने र चार जना मनोनीत हुने व्यवस्था विधानमा गरिएको छ।