काठमाडौं, १९ असोज । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले ‘समाजवादी जागरण अभियान’ घोषणा गर्नुभएको छ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै खनालले कम्युनिस्ट आन्दोलनलाई वैचारिक रूपमा पुनर्गठन गर्दै वामपन्थी शक्तिलाई एकताबद्ध गर्ने उद्देश्यले अभियान सुरु गरिएको बताउनुभयो। अभियानको पहिलो भेलाले विभिन्न १५ वटा प्रस्ताव पारित गरेको छ।
खनालले समाजवादतर्फ अघि बढ्नुको विकल्प नरहेको बताउँदै सम्पूर्ण वामपन्थी शक्तिलाई एक ठाउँमा ल्याउनुपर्नेमा जोड दिनुभयो। उहाँले कम्युनिस्ट आन्दोलनका विगतका अनुभव, उपलब्धि, कमजोरी र चुनौतीको समीक्षा गर्दै वैचारिक तथा राजनीतिक कार्यदिशाका आधारमा संगठनात्मक पुनर्गठन र एकीकरण अघि बढाउनुपर्ने बताउनुभयो।
अभियानले एकीकृत क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माणका लागि पहल गर्ने प्रस्ताव पारित गरेको छ। साथै नेपाली विशेषताको समाजवादबारे खुला वैचारिक बहस गर्न पनि आह्वान गरिएको छ।
अभियानमा नेकपाबाट अलग भएका हरिबोल गजुरेललगायत विभिन्न वामपन्थी नेताहरू सहभागी छन्।
यद्यपि, खनालले आफू नेकपा परित्याग नगरेको स्पष्ट पार्नुभएको छ। उहाँले पार्टीमै रहेर ‘समाजवादी जागरण अभियान’ सञ्चालन गर्न लागेको र अभियानले नेकपालाई अझ एकीकृत तथा बलियो बनाउन भूमिका खेल्ने बताउनुभएको छ।












प्रतिक्रिया दिनुहोस्