जनता टाइम्स

१९ आश्विन २०८३, सोमबार २०:५७

तीन दिनसम्म वर्षाको सम्भावना, लगातार झरी नपर्ने


काठमाडौं, असोज १९ । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म देशका केही स्थानमा वर्षाको सम्भावना रहे पनि लगातार झरी नपर्ने जनाएको छ।

मौसमविद् विनु महर्जनका अनुसार आगामी तीन दिन देशका केही स्थानमा वर्षा हुने सम्भावना रहे पनि लामो समयसम्म निरन्तर वर्षा हुने अवस्था छैन।

हाल कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशका पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव कायम रहेको छ।

यस्तै, कोशी, मधेस र बागमती प्रदेशका सबै भूभाग तथा गण्डकी र लुम्बिनीका बाँकी भूभागमा मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको विभागले जनाएको छ।

विभागका अनुसार यी मौसमी प्रणालीको प्रभावका कारण आगामी दिनमा देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ।