काठमाडौं, असोज १९ । नेपाली कांग्रेसको संशोधित विधान पारित भएको छ। कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सोमबार खुलामञ्चमा बसेको बन्द सत्रले महामन्त्री प्रदीप पौडेलले पेस गरेको संशोधित विधान पारित गरेको हो।
प्रवक्ता देवराज चालिसेका अनुसार संशोधित विधानअनुसार कांग्रेसको केन्द्रीय कार्यसमिति २९७ सदस्यीय हुनेछ। जसमा एक सभापति, एक वरिष्ठ उपसभापति र चार उपसभापति रहने व्यवस्था गरिएको छ। उपसभापतिमा एक जना महिला अनिवार्य गरिएको छ।
त्यस्तै तीन जना महामन्त्री रहनेछन्, जसमा एक जना महिला अनिवार्य गरिएको छ। सहमहामन्त्री १५ जना रहनेछन्। कोषाध्यक्ष केन्द्रीय सदस्यमध्येबाट एक जना चयन हुनेछन्। प्रवक्ता र सहप्रवक्ताको व्यवस्था पनि गरिएको छ।
केन्द्रीय सदस्यतर्फ खुलाबाट ४५, खुला महिलाबाट १५ जना रहनेछन्। प्रत्येक प्रदेशबाट एक महिलासहित चार जना तथा काठमाडौं उपत्यकाबाट एक महिलासहित दुई जना चयन हुने व्यवस्था गरिएको छ।
दलिततर्फ १४, जनजातितर्फ २०, खसआर्यतर्फ १८, मधेसीतर्फ १३, जनसम्पर्क समितिबाट ७, पिछडिएको वर्गबाट ३, थारूतर्फ ६, श्रमिकतर्फ ३ र पेशागत विज्ञतर्फ ७ जना केन्द्रीय सदस्य रहनेछन्।
त्यस्तै सातै प्रदेशबाट ३५ वर्षमुनिका २१ जना युवा केन्द्रीय कार्यसमितिमा रहनेछन्। अपाङ्गता भएका व्यक्तिबाट एक जना तथा प्रजातन्त्र सेनानीबाट तीन जना रहने व्यवस्था गरिएको छ।
केन्द्रीय कार्यसमितिले थप ६६ जना सदस्य मनोनित गर्नेछ।
विधान सोमबार पारित भए पनि सभापति, उपसभापति र कोषाध्यक्षको प्रतिवेदन भने मंगलबारको बन्द सत्रबाट पारित गरिनेछ। मंगलबार बिहान १० बजेदेखि उम्मेदवारको मनोनयन हुने भएकाले विधान सोमबार नै पारित गरिएको हो।












प्रतिक्रिया दिनुहोस्