जनता टाइम्स

२० आश्विन २०८३, मंगलवार ०९:१७

जन्मदिन मनाइरहेका बेला चट्याङको झिल्का लाग्दा सात जना घाइते


धनगढी, २० असोज । कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा जन्मदिन मनाइरहेका बेला चट्याङको झिल्का लाग्दा सात जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मंगलबार राति करिब ९ः३० बजे स्थानीय खुशिलाल चौधरीको घरको छतमा जन्मदिन मनाइरहेका बेला घरनजिकै चट्याङ परेको थियो। त्यसको झिल्का लाग्दा उनीहरू घाइते भएका हुन्।

घाइते हुनेमा धनगढी–१७ धुर्जन्नाकी ३५ वर्षीया आरती चौधरी, १७ वर्षीया आयुसरा चौधरी, १३ वर्षीया श्रृष्टी चौधरी, ५५ वर्षीया बाग्मती चौधरी, ७ वर्षीय सिसिर चौधरी, १४ वर्षीया रेनुका चौधरी र ३५ वर्षीया जानकी चौधरी रहेका छन्।

घाइते सबैलाई राति ११ः०५ बजे उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएको थियो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार उपचाररत सबैको अवस्था सामान्य रहेको छ।