काठमाडौं, असोज २० । यस वर्षको दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सार्वजनिक यातायातका सवारीसाधनको अग्रिम टिकट बुकिङ असोज २३ गतेदेखि खुला हुने भएको छ।
यातायात व्यवस्था विभागमा मंगलबार यातायात व्यवसायी, सरकारी निकाय तथा सरोकारवालाबीच भएको बैठकले आगामी शुक्रबारदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो। यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले बैठकले असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको जानकारी दिनुभएको छ।
यस वर्षको दशैँमा झन्डै १० लाख यात्रुले काठमाडौं उपत्यका छाड्ने अनुमान गरिएको छ। दशैँको घटस्थापना असोज २५ गते र मुख्य दिन विजयादशमी कात्तिक ४ गते परेको छ। त्यसअघि नै ठूलो संख्यामा यात्रु उपत्यकाबाट बाहिरिने भएकाले सार्वजनिक यातायात व्यवस्थापनलाई प्रभावकारी बनाउन अग्रिम टिकट बुकिङ खुला गर्न लागिएको हो।
बैठकले चाडपर्वका समयमा यात्रुको सुरक्षा, सुविधा तथा यातायात व्यवस्थापनलाई व्यवस्थित बनाउन विभिन्न निर्णयसमेत गरेको महासङ्घका अध्यक्ष सिटौलाले बताउनुभएको छ।
निर्णयअनुसार अब लामो दूरीमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा दुई जना चालक अनिवार्य राख्नुपर्नेछ। लामो दूरीको यात्रामा चालकलाई पर्याप्त आराम उपलब्ध गराउँदै दुर्घटनाको जोखिम कम गर्ने उद्देश्यले यस्तो व्यवस्था गर्न लागिएको हो।
यस्तै, यात्रुको सुरक्षित यात्रा सुनिश्चित गर्न तथा राजमार्गमा हुन सक्ने अवरोध, दुर्घटना वा अन्य समस्याबारे तत्काल जानकारी आदानप्रदान गर्न केन्द्रीय सूचना केन्द्र सञ्चालनमा ल्याउने निर्णय भएको छ।
चाडपर्वका समयमा सडकमा सवारीसाधनको चाप बढ्ने भएकाले यात्रुको सहज आवतजावत, सवारी व्यवस्थापन र सम्भावित सडक अवरोधको तत्काल व्यवस्थापनका लागि सम्बन्धित निकायबीच समन्वय बढाइने भएको छ।
अग्रिम टिकट बुकिङ खुला भएपछि दशैँमा घर जाने यात्रुले आफ्नो यात्रा मिति र समयअनुसार टिकट लिन सक्नेछन्। चाडपर्वमा हुने यात्रुको उच्च चापलाई मध्यनजर गर्दै सार्वजनिक यातायात सेवालाई सुरक्षित र व्यवस्थित बनाउन सरकारी निकाय तथा यातायात व्यवसायीले आवश्यक तयारी गर्ने जनाएका छन्।












प्रतिक्रिया दिनुहोस्