काठमाडौं, असोज २० । नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा नेता विश्वप्रकाश शर्माले उम्मेदवारी दर्ता गराउनुभएको छ।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि भइरहेको मनोनयनमा शर्माले पुष्पराज पौड्याललाई वारेस दिएर निर्वाचन समितिमा मनोनयन फाराम दर्ता गराउनुभएको हो।
शर्माको प्रस्तावकमा झापाका उद्धव थापा र सुनसरीका केदार भण्डारी तथा समर्थकमा झापाका सुधीर सिवाकोटी र देउकुमार थेवे रहनुभएको छ।
कांग्रेसले विधान संशोधन गर्दै यसै महाधिवेशनबाट वरिष्ठ उपसभापति पद थप गरेको हो।
नेविसंघबाट राजनीतिक यात्रा सुरु गर्नुभएका शर्मा सन् २००० देखि २००२ सम्म नेविसंघको केन्द्रीय अध्यक्ष बन्नुभएको थियो। १४औँ महाधिवेशनअघि उहाँले कांग्रेसको केन्द्रीय प्रवक्ताको जिम्मेवारी सम्हाल्नुभएको थियो।
प्रखर वक्ताका रूपमा परिचित शर्मा १४औँ महाधिवेशनबाट लोकप्रिय मतसहित महामन्त्रीमा निर्वाचित हुनुभएको थियो। गत विशेष महाधिवेशनबाट उहाँले उपसभापतिको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा शर्मा झापा–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो।












प्रतिक्रिया दिनुहोस्