काठमाडौं, असोज २० । संसदीय सुनुवाइ समितिले प्रस्तावित १३ जना राजदूतको संसदीय सुनुवाइ दशैँअघि नै सम्पन्न गर्ने निर्णय गरेको छ। मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले असोज २६, २७ र २८ गते सुनुवाइ गर्ने कार्यतालिका तय गरेको हो।
समितिको बैठकमा प्रस्तावित राजदूतहरूको सुनुवाइको समयतालिकाबारे लामो छलफल भएको थियो। केही सदस्यले चाडपर्व तथा जिल्ला भ्रमणको कार्यतालिकालाई ध्यानमा राख्दै सुनुवाइ दशैँपछि गर्नुपर्ने धारणा राख्नुभएको थियो। तर कूटनीतिक नियोगमा राजदूतको अभाव र राष्ट्रिय आवश्यकतालाई ध्यानमा राख्दै सुनुवाइ प्रक्रिया छिटो टुंग्याउने निर्णय भएको हो।
समितिले सुनुवाइलाई औपचारिकतामा मात्र सीमित नराखी प्रस्तावित राजदूतहरूको योग्यता, अनुभव, कार्ययोजना तथा सम्बन्धित मुलुकमा नेपालको कूटनीतिक हित प्रवर्द्धन गर्ने योजनाबारे गम्भीर छलफल गर्ने जनाएको छ।
समितिका सभापति बोधनारायण श्रेष्ठका अनुसार प्रस्तावित १३ राजदूतविरुद्ध सातवटा उजुरी परेका छन्। तीमध्ये दुईवटा उजुरी सबै प्रस्तावित राजदूतविरुद्ध र पाँचवटा उजुरी एक–एक जना प्रस्तावित राजदूतलाई लक्षित गरी परेका छन्।
सभापति श्रेष्ठका अनुसार सामान्य प्रकृतिका उजुरीलाई समितिले आवश्यक प्रक्रिया पूरा गरी टुंग्याउनेछ भने जटिल प्रकृतिका उजुरीका विषयमा आवश्यक परे छुट्टै उपसमिति गठन गरेर अध्ययन तथा छानबिन गरिनेछ।
समितिले असोज २६, २७ र २८ गते प्रस्तावित राजदूतहरूको सुनुवाइ गर्ने तथा असोज २९ गते प्रतिवेदन लेखन र सिफारिससम्बन्धी काम अघि बढाउने कार्ययोजना बनाएको छ।
मंगलबारको बैठकमा प्रस्तावित राजदूतविरुद्ध परेका उजुरी खोलिनुका साथै उनीहरूले समितिमा पेस गरेका कार्ययोजना पनि सांसदहरूलाई वितरण गरिएको छ।
सरकारले विभिन्न १३ मुलुकका लागि राजदूतमा सिफारिस गरेका नाममाथि संसदीय सुनुवाइ पूरा भएपछि समितिले नियुक्तिका लागि आवश्यक प्रक्रिया अघि बढाउनेछ। प्रधानमन्त्रीको आसन्न भारत भ्रमणलगायतका कूटनीतिक विषयलाई समेत ध्यानमा राखेर सुनुवाइ प्रक्रिया छिटो टुंग्याउन लागिएको बताइएको छ।
भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा र संयुक्त राज्य अमेरिकाका लागि चिरनजङ्ग थापा राजदूतमा सिफारिस हुनुभएको छ।
त्यस्तै, बेलायतका लागि अवकाशप्राप्त पूर्वप्रधानसेनापति गौरव शमशेर जङ्गबहादुर राणा, जापानका लागि जिग्यानकुमार थापा, इजरायलका लागि सुरेशकुमार कर्ण र स्पेनका लागि प्राप्ति शेरचन सिफारिस हुनुभएको छ।
जर्मनीका लागि शारू जोशी, ओमानका लागि डा. पद्माक्षी राणा, मलेसियाका लागि चुडामणि खरेल, दक्षिण कोरियाका लागि प्रा. डा. सङ्गम श्रेष्ठ, श्रीलंकाका लागि डा. मञ्चला झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनार राजदूतमा सिफारिस हुनुभएको छ।












प्रतिक्रिया दिनुहोस्