काठमाडौं, असोज २० । मंगलबार र बुधबार देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। मौसमविद् विनोद पोखरेलका अनुसार आज र भोलि केही स्थानमा तुलनात्मक रूपमा ठूलो वर्षा हुनसक्ने देखिएको छ।
उहाँका अनुसार वायुमण्डल अस्थिर रहेकाले मंगलबार पनि केही स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित छोटो समयका लागि भारी वर्षा हुनसक्ने सम्भावना छ। अधिकांश स्थानमा भने हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ।
बुधबार पनि देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनुपर्ने देखिएको छ। विशेषगरी वर्षाका कारण सडक तथा यातायातमा असर पर्न सक्ने र नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले सावधानी अपनाउन मौसमविद्ले आग्रह गर्नुभएको छ।
यसैगरी, बिहीबारदेखि शनिबारसम्म भने देशका अधिकांश स्थानमा सामान्यतया हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ।
घटस्थापनादेखि मौसम क्रमशः खुल्दै जाने सम्भावना रहेको मौसमविद् पोखरेलले बताउनुभएको छ। यद्यपि वर्षाको क्रम पूर्ण रूपमा रोकिनेभन्दा पनि ठाउँअनुसार हल्का तथा मध्यम वर्षा भइरहन सक्ने उहाँको भनाइ छ।
मौसमविद्का अनुसार वर्षाको यो क्रम लगभग हप्ताभरि नै जारी रहने देखिएको छ। चाडपर्वको समयमा यात्रा तथा अन्य कामका लागि घरबाहिर निस्कनेहरूले मौसमको अवस्था हेरेर आवश्यक तयारी गर्नुपर्ने देखिन्छ।












प्रतिक्रिया दिनुहोस्