काठमाडौं, असोज २१ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले पार्टी नेतृत्वले पार्टी सञ्चालनका क्रममा दोहोरो चरित्र देखाएको बताउनुभएको छ।
शाहीले पार्टी नेतृत्वको बोली र व्यवहारमा फरक देखिएको भन्दै एउटै विषयमा फरक–फरक धारणा र व्यवहार देखाउनु उचित नभएको बताउनुभएको हो। संसदीय दलका नेता शाहीले भन्नुभयो, “एमालेलाई रातदिन गाली गरेका छौँ, त्यही एमालेसँग मिलेर चुनाव लडेका छौँ, प्रदेश चाहिँदैन भनेका छौँ, प्रदेशमै सांसद लडाएका छौँ, यो कस्तो दोहोरो चरित्र हो ?”
उहाँले पार्टीका नेता तथा नेतृत्वको बोली र व्यवहारमा एकरूपता हुनुपर्ने बताउनुभयो। एउटै मुद्दामा कतै समर्थन गर्ने र कतै त्यही विषयलाई लिएर कारबाही गर्ने प्रवृत्ति गलत भएको उहाँको भनाइ छ।
शाहीले राप्रपाले विभिन्न प्रदेशमा गरिरहेको राजनीतिक सहकार्यको उदाहरण दिँदै प्रश्न उठाउनुभयो। उहाँले भन्नुभयो, “कोशी प्रदेशमा सभामुख खाइरहेका छौँ, लुम्बिनी प्रदेशमा उपसभामुख खाइरहेका छौँ, गण्डकीमा राप्रपाले सरकार टिकाइराख्या छ, तर बागमतीमा कारबाही गरिरहेको छ, यो फरक र विभेद किन ?”
बागमती प्रदेशमा नेकपा एमालेलाई सरकार निर्माणका लागि राप्रपाले साथ दिँदा पार्टी नेतृत्वले कारबाही गर्नु उचित नभएको शाहीले बताउनुभयो। यस्ता निर्णय तथा व्यवहारले पार्टीलाई नै क्षति पुग्ने उहाँको भनाइ छ।












प्रतिक्रिया दिनुहोस्