रामेछाप, असोज २१ । रामेछापको उमाकुण्ड गाउँपालिका–६, गुप्तेश्वरमा सञ्चालित निःशुल्क आयुर्वेदिक स्वास्थ्य शिविरबाट १५० जना स्थानीय नागरिकले स्वास्थ्य जाँच तथा औषधि सेवा लिनुभएको छ।
एकीकृत घुम्ती शिविरअन्तर्गत आयोजना गरिएको उक्त स्वास्थ्य शिविरमा स्थानीय सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो। गाउँघरमै निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि सेवा उपलब्ध भएपछि स्थानीय बासिन्दा लाभान्वित हुनुभएको हो ।
चिकित्सालयका निमित्त प्रमुख दीपक कार्कीको नेतृत्वमा गएको टोलीले सेवा दिएको हो । टोलीमा डाक्टर उत्तम गैरे, डाक्टर अरुण टेर्रा लगायतका स्वास्थ्यकर्मीले सेवा दिनुभएको थियाे ।
शिविरमा नागरिकता तथा अन्य प्रशासनिक सेवासमेत उपलब्ध गराइएको थियो। शिविरमा १५ महिला र १० पुरुष गरी २५ जनाले नयाँ नेपाली नागरिकताकाे प्रमाणपत्र प्राप्त गर्नुभएको छ भने १८ महिला र १३ पुरुष गरी ३१ जनाले नागरिकताको प्रतिलिपि लिनुभएको छ।
यसैगरी २२ महिला र २४ पुरुष गरी ४६ जनाको राष्ट्रिय परिचयपत्रकाे लागि विवरण सङ्कलन गरिएको छ। यसअघि तयार भइसकेका राष्ट्रिय परिचयपत्रका ९ वटा कार्डसमेत वितरण गरिएको छ, जसमा ३ महिला र ६ पुरुष रहेका छन् ।
शिविरका क्रममा स्थानीय आर्थिक तथा विकास गतिविधिसँग सम्बन्धित १६ वटा योजनाको सम्झौता सम्पन्न गरिएको छ। यस्तै, २ वटा व्यवसाय दर्ता तथा ७ वटा व्यवसाय नवीकरण गरिएको छ।
उक्त प्रशासनिक सेवाबाट कुल ४३ हजार ३ सय रुपैयाँ राजस्व सङ्कलन भएको जनाइएको छ।
गाउँघरमै स्वास्थ्य उपचारसँगै नागरिकता, राष्ट्रिय परिचयपत्र, व्यवसाय दर्ता तथा योजना सम्झौताजस्ता प्रशासनिक सेवा एकै स्थानबाट प्राप्त भएपछि स्थानीय खुसी भएका छन् ।












प्रतिक्रिया दिनुहोस्