काठमाडौं, असोज २० । नेपाली कांग्रेसको सभापति पदमा किशोरसिंह राठौरले उम्मेदवारी दर्ता गराउनुभएको छ।
मंगलबार राष्ट्रियसभा गृहमा सभापति पदका लागि मनोनयन दर्ता गराउँदै राठौरले पार्टीलाई एकताबद्ध बनाउनु आफ्नो प्रमुख एजेन्डा रहेको बताउनुभयो। उहाँले आफू सभापति निर्वाचित भए कांग्रेसलाई मर्यादित, अनुशासित र व्यवस्थित ढंगले अघि बढाउने बताउनुभयो।
राठौरले राजनीतिमा कुनै पनि नेतृत्व निर्विकल्प नहुने बताउनुभयो। उहाँले कांग्रेसका संस्थापक नेता गणेशमान सिंहसमेत निर्वाचनमा पराजित हुनुभएको र पूर्वसभापति कृष्णप्रसाद भट्टराई लामो समय सभापति भए पनि निर्विकल्प नरहनुभएको उदाहरण प्रस्तुत गर्नुभयो।
उहाँले कांग्रेस अहिले पनि ठीक ढंगले अघि बढ्न नसकेको टिप्पणी गर्नुभयो। नेतृत्व परिवर्तन मात्रले पार्टी सुधार नहुने भन्दै उहाँले नेतृत्वको कार्यशैलीमा सुधार आवश्यक रहेको बताउनुभयो।
‘राजनीतिमा नेतृत्व निर्विकल्प हुँदैन। गणेशमान निर्विकल्प हुनुभएन, त्यत्रो समय सभापति भए पनि किसुनजी निर्विकल्प हुनुहुन्थेन। म विशेष महाधिवेशन पक्षधर होइन। त्यसकारण मैले भनिसकेँ– सभापति भएपछि पार्टीलाई मर्यादित बनाउँछु,’ राठौरले भन्नुभयो।
उहाँले पार्टीको वर्तमान नेतृत्वले आफ्नो गृहजिल्लामा महाधिवेशन हुन नदिएको आरोपसमेत लगाउनुभयो। पार्टीलाई एकताबद्ध बनाउँदै अनुशासन र मर्यादाका साथ अघि बढाउने आफ्नो प्राथमिकता रहेको उहाँले बताउनुभयो।












प्रतिक्रिया दिनुहोस्