जनता टाइम्स

२० आश्विन २०८३, मंगलवार २१:२४

भदौ २३ गते आन्दोलन गर्ने शक्ति सत्तामा छैन, बेग्लै शक्ति स्थापित भयो : मुकुल ढकाल


काठमाडौं, असोज २० । राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वमहामन्त्री डा. मुकुल ढकालले वर्तमान सरकारमा राजनीतिक तथा प्रशासनिक अनुभवको कमी रहेको टिप्पणी गर्नुभएको छ।

ललितपुरको पुल्चोकमा सोमबार आयोजित ‘नागरिक आवाज अभियान’ घोषणा कार्यक्रममा बोल्दै ढकालले भदौ २३ गतेको जेनजी आन्दोलनबाट स्थापित शक्ति अहिले सत्तामा नरहेको दाबी गर्नुभयो। उहाँले आन्दोलनलाई नियन्त्रणमा लिएर अर्कै शक्तिले पुराना राजनीतिक दल र नेताहरूलाई विस्थापित गरेको बताउनुभयो।

ढकालले जेनजी आन्दोलनले स्थापित राजनीतिक शक्तिलाई झकझकाउने र सुधार गर्ने उद्देश्य राखेको भए पनि त्यसको परिणामस्वरूप अर्कै शक्ति स्थापित भएको बताउनुभयो।

उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध व्यक्तिहरूमा समेत राजनीतिक अनुभवको कमी आफूले देखेको बताउनुभयो। अचानक आएको जिम्मेवारीका कारण वर्तमान सरकारमा अनुभवको कमी देखिएको उहाँको भनाइ छ।

यद्यपि, फागुन २१ गतेको निर्वाचनबाट जनताले ठूलो जनमतसहित सरकारलाई अनुमोदन गरिसकेको उल्लेख गर्दै उहाँले त्यस जनमतको अवमूल्यन गर्न नहुने बताउनुभयो।

‘जेनजी आन्दोलन जुन भदौ २३ मा भयो, त्यसमा जसले आन्दोलन गर्‍यो, त्यो आन्दोलन गरेको शक्ति आज सत्तामा छैन। यो छुट्टै शक्ति आएर स्थापित भएको हो। फागुन २१ को चुनावमा जनताले अब देश बन्छ, अब देश बनाउनुपर्छ भन्ने आधारमा भोट दिएका हुन्,’ उहाँले भन्नुभयो।

निर्वाचनमा जनताले देश निर्माणको अपेक्षासहित मतदान गरेको उल्लेख गर्दै ढकालले सरकारको नेतृत्व गरिरहेको समूहमा देखिएको अनुभवको कमीलाई सुधार गर्दै अघि बढ्नुपर्ने बताउनुभयो।

सरकारले मुलुक र नागरिकको पक्षमा काम गर्ने दिशामा अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो।